रोप्नु भन्दा जोगाउनु सफलता : नगरप्रमुख सुवेदी
असार १४ सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वृक्षारोपणमा विरुवा रोप्नु भन्दा पनि रोपेका विरुवालाई जोगाउनु महत्वपूर्ण भएको बताउनु भएको छ । आज एक कार्यक्रमका बीच वीरेन्द्रनगर नगरप्रहरी कार्यालयको परिसरमा वृक्षारोपण गर्दै नगरप्रमुख सुवेदीले यस्तो बताउनु भएको हो ।

वृक्षारोपण कार्यक्रममा नगरप्रमुख सुवेदीले भन्नुभयो, ‘हामीले १०० विरुवा रोप्यौं तर एउटा पनि बचाउन सकेनौ भने त्यसको अर्थ रहँदैन । तर ५० मात्र विरुवा रौप्यौं र प्राविधिक कारण बाहेक ५० वटै विरुवा जोगाउन र हुर्काउन सक्यौ यसले महत्व राख्दछ ।’


नगर प्रहरी कार्यालय वीरेन्द्रनगरको परिसरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख बसन्त रजौरे, नगर प्रहरी प्रमुख निलकण्ठ ढकाल, वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मोति कंडेल, सदस्य उपेन्द्र खड्का, सोही वडाका वडा सचिव उत्तम अधिकारी, कर्मचारी रेखा केसी, क्यान सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दलगायतले वृक्षारोपण गर्नुभएको थियो । वृक्षारोपण गर्नेहरु सबैलाई धन्यवाद दिँदै वडा अध्यक्ष मोति कंडेलले वृक्षारोपण गरेका विरुवाहरुलाई जोगाउने तर्फ ध्यान दिन सबैलाई अनुरोध गर्नुभएको थियो ।

वृक्षारोपण गरिएका विरुवाहरुको बारम्बार अनुगमन गर्ने र विरुवाका लागि आवश्यक मल, जलमा समेत ध्यान दिइने भएकोले वृक्षारोपण गरिएका विरुवाहरु जोगाउनका लागि वडा कार्यालयपनि तल्लिन हुने वडासचिव उत्तम अधिकारीले क्वीकखबर डटकमलाई बताउनु भयो ।







