Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

‘ऋतु’ सँग पक्कापक्की

कुनै बेला मैले संसारमा ६ वटा मात्र ऋतुहरु हुन्छन् भनेर पढेको थिएँ । त्यसरी पढ्ने क्रममा मैले ६ वटै ऋतुहरुका नामहरु कण्ठस्थ गरेको थिएँ । ऋतुका नाम भन्दा पनि ‘ऋतु’ शब्द प्रिय थियो मेरा लागि । ती ऋतुहरुको वर्णन समयाक्रम अनुसार हुने गर्दछ । कहिले वनमा पलाएका पालुवासँग दाँजेर कहिले हिमालमा छरपष्ट भएको हिउँसँग दाँजेर । तर त्यसरी दाँज्नै नमिल्ने ऋतु पनि हुन्छ भन्ने मलाई थाहै थिएन । कलंकित नभएको त कुन चीज होला र जस्तो लाग्थ्यो मलाई । चन्द्रमा त दागी छ । चन्द्रमामा दाग नभइदिएको भए अझ कति सुन्दर देखिन्थ्यो होला । प्रकृतिले अनेकौं चीज दिएको छ । तर कुनै न कुनै ठाउँमा खोट लगाइदिएको छ । सुनमा सुगन्ध दिन नसक्ने प्रकृतिले गुलाबलाई हिलोमा फुल्ने नबनाइदिएको भए पनि त हुँदो हो ।

लेखक :
खगेन्द्र अधिकारी अमृत

कुनै पनि मानिसको गुण दोष बराबर हुने त उसको स्वभावले होला तर जो कोहीले जन्मपछि मृत्युवरण गर्नु पर्ने नियम पनि त प्रकृतिकै हो । नेपालको सिमाङ्कन पो मान्छेले गरेका होलान् तर यस सुन्दर भूमिको संरचना त प्रकृतिले नै गरेको हो । त्यसैले त होला कतै हिमाल, कतै पहाड, कतै तराइ । समय र वातावरणलाई मध्यनजर गरेर ऋतुहरुका नामाकरण पो मान्छेले गरेका होलान् तर त्यसको परिवर्तित रुप बदल्न त मान्छेले सक्दै सक्दैनन् ।

संसारिक रुपमा ६ वटा मात्र ऋतुहरुको बारेमा पढ्ने म र म जस्ताहरुलाई अर्को एउटा फरक ऋतुको बारेमा भने न प्रकृतिले भन्यो न मान्छे नै थाह पाएको छ । ती ६ वटा ऋतुहरु भन्दा पनि फरक ऋतुको रुपमा जीवनको अनन्त यात्रामा एउटा ‘ऋतु’ लाई भेट्न पाएकोमा यो पंक्तिकार आफैमा दंग छ । यसको खुसीको सीमा छैन ।

ऊ केवल ‘ऋतु’ मात्र हो । यसको जात छैन, थर छैन । जसरी भगवानहरुको जात हुँदैन । थर हुँदैन । भगवान र ऋतुमा यत्ति फरक छ भगवान सबैका साझा हुन्छन् तर ऋतु एकल रुपमा मेरी मात्र हुन् । जीवनमा जब मैले ऋतुलाई भेटे तब मेरो हरेक चाल चलन, बोली भाषा र व्यवहारमा परिवर्तन आएको छ । आफू कहिल्यै परिवर्तन हुन नजानेकी ऋतुले मलाई भने परिवर्तन गराएकी छन् । हेमन्त पछि आउने वसन्त जस्तै । एउटा ऋतु आउँछ र समयाक्रम अनुसार जान्छ । अनि फेरिन्छ अर्को ऋतु । तर मेरो जीवनमा आएको ‘ऋतु’ भने न घुमेर आएको थियो न फेरिएर जानेछ । ढुक्क छु यसमा । उनी पनि ढुक्कै होलिन् । ऊ मेरो लागि आएको ऋतु केवल मेरो नै भइरहने छ । सदा सदाका लागि । समयसँग परिवर्तन भएर आएको भए पो फेरिनु त । ऊ त जीवनको यात्रामा भेटिएको हो नछुट्टिने गरि ।

हत्त पत्त कसैको मन माग्न नसकिँदो रहेछ । आफू कसैको मनमा बसेको थाह नहुँदो रहेछ । तर एउटा सजिलो भने आफ्नो मनमा कति सजिलै बसाल्न सकिँदो रहेछ अरुलाई । सायद यो पनि प्रकृतिले निर्धारण गरिदिएको होला । प्रकृतिको लिला अनोठौं छ । जसले गर्दा आँधि हुरी आउँछन् र जान्छन् । तिनै आँधिबेहरीहरुमा आफूलाई जोगाउन सकियो भने न प्राप्ति गर्न सकिने हो ।

समय र वातावरणले निर्धारण गरेका भन्दा फरक ऋतु आइन मेरो जीवनको एउटा चक्र भित्र । मलाई आफ्नो मनमा बसाल्ने योजना थियो थिएन, उनको मलाई थाह छैन । मेरा आँखामा बस्ने मन थियो थिएन, उनीसँग मलाई अत्तोपत्तो थिएन । तर उनीसँगको पहिलो भेटमै जब मैले उनलाई आफ्नो आँखामा बसाल्ने हिम्मत देखाएँ त्यो मेरो सफलताको पाटो बनेको छ आज ।

कुनैपनि कुरामा जबजस्ती गर्ने बानी छैन मेरो तर कर भने अवश्य गर्न सक्छु । यही फरमुलालाई प्रयोग गरेर मेरो आँखामा बसिदिन कर गरे । कतिपय अवस्थामा चाहेर पनि रुन सकिदैन, कतिपय अवस्थामा चाहेर पनि हाँस्न सकिदैन । सायद त्यसै भयो होला उनलाई । चाहेर पनि रुन र हाँस्न नसक्ने परिस्थितिको सिर्जना भएपछि ‘कर’ लाग्यो मेरो प्रस्ताव स्वीकार गर्न । त्यसपछि न हो उनले र मैले एक आपसमा माया गर्न थालेको ।

मलाई लाग्छ हाम्रो माया फरक छ । आजका फेसबुके जस्तो पनि छैन हाम्रो माया । अनि हिजोका ढुङ्गेयुगको जस्तो पनि छैन हाम्रो माया । कतिपय अवस्थाहरुमा अव्यक्त माया पनि गर्छौ हामी । अरुहरुले गरेको देखावटी व्यक्त माया भन्दा हामीले गरेको अव्यक्त माया बलियो छ । त्यही अव्यक्तता भित्र एक अर्काका दुःखसुखहरु साटासाट गर्नुको मज्जा हामीलाई मात्र थाह छ ।

मैले पोखेका दुःखका शिलाहरु मनको पटुकीमा उठाएर निफन्ने काम ऋतुको हो । त्यो उनैलाई जिम्मा लगाइदिएको छु । अनि उनले पोखेका दर्दहरुलाई मस्तिष्कको टपरीमा उठाउँदै केलाउने र छिन्कने कामको जिम्मा मैले लिएको छु । मनको पटुकी र मस्तिष्कको टपरीमा निफन्दै र केलाउँदै गरेका हाम्रा दुःख र दर्दहरु क्षणभरमै छानिन्छन् । एकातिर बेकामे दुःखहरुको रास लाग्छ अर्कोतिर संघर्षको । त्यो संघर्षको थुप्रोलाई चुनौतिको सिलौटामा मज्जाले पिस्ने गर्छौ ऋतु र म । अनि समुन्द्र मन्थनबाट निस्केको अमृत समान निस्किन्छ खुसी र बाँड्छौ हामी दुबै आधा–आधा ।

मनमा कत्ति पनि छलकपट नभएकोले होला त्यो युगका देउता र दानव जस्तो अमृतपानमा हाम्रो छलकपट रहँदैन । सायद त्यही होला विश्वास भनेको । त्यही विश्वासको जगमा उभिएको हाम्रो पवित्र माया देखेर डाहा गर्नेहरुको लर्को छ बजारमा । तर पनि डगमगाएका छैनौ हामी भू–कम्पमा पृथ्वी डगमगाए जस्तो ।

आफ्नो खुसीको लागि पिंजडामा सुगालाई थुनेर हाँस्ने रहर हामीसँग छैन । आफू रमाउनका लागि कसैका खुसीका थुङ्गाहरु निमोठ्ने मन हामीसँग छैन । माया प्राप्तिका लागि हिटलर बन्न सक्ने सामथ्र्य छैन हामीसँग । तर एक अर्काको भोक मेटाउन कृष्णका सामु सुदामाले टक्र्याए झैँ बाँडि खानका लागि अलिकति मनको कनिका अवश्य छ । पराईको महल देखेर डाहा गर्ने मन नभएपनि निला नदीहरु बगाउँदै हातमा उठेका ठेलाहरुबाट प्राप्त ओत लाग्ने झुपडी भित्रै रमाउने हिम्मत हामीसँग छ ।

हातमा पूजाको थाली लिएर मन्दिरको गेटमा पुगेकी ऋतुलाई मैले सोधे, ‘के माग्ने योजना छ ?’ मन्द मुस्कान छर्दै पिपलपाते ओठ खोल्दा देखिएका श्वेतदन्तले अव्यक्त भाषामा इशारा गरे, ‘जिन्दगी भर कर्तव्यको पालना ।’ जवाफमा ‘पुग्छ मलाई त्यति भए ।’ कति छिटै जवाफ फर्काए मेरो आँखाले । आत्मसन्तुष्टिका लागि देवीको पूजाआराधना सकेर फर्किएका थियौ हामी सँगसँगै ।

देउराली डाँडाको मनोरम दृष्य । त्यही डाँडाको एक छेउमा एउटा परेवा जोडी । एक आपसको हेराहेरबाटै माया साटासाट भएको प्रकृतिलाई पनि पत्तो छैन । म र ऋतु यसरी कुरा गरिरहेका थियौ कि हाम्रा स्वरहरु ती वृक्ष, लता र लतिकाहरुले समेत स्पष्ट सुन्न सक्दैनथे । कैद गर्न सकेको थिएन हावारुपी क्यामेराले हाम्रा तस्बीरहरु ।

हो, भेटिएको लामो समय पछि मेरा जीवनका सारा उतार–चढाव, दुःखसुख, उकाली–ओराली, सजिला–अप्ठ्यारा, राम्रा–नराम्रा, गतिला–अगतिला, कमीकमजोरी, सवल–दुर्बल सबै पक्षहरुको यथार्थ भेद एउटा ब्राह्मणत्व प्राप्त पण्डितले बेद पाठ गरे झैँ खोलिदिएको छु ऋतुका सामु । अनि उनले पनि । एक अर्कामा भएका कमी कमजोरीहरुलाई भत्काउँदै सवल पक्षका बलिया खम्बाहरु गाड्ने अठोटका साथ देउरालीको पूजा सकेर फर्किएका हौ हामी । यिनै एक आपसका भेदहरु खोलिसकेपछि म उनको र उनी मेरी हुने पक्कापक्की भएको हो । जुन कुरा अहिलेसम्म पनि पक्कापक्कीमै अडेको छ । ऋतुले त्यो पक्कापक्कीलाई भत्किन दिने छैनन् र मैले गल्न दिने छैन ।

‘एक अर्काको मनको कुरा बुझ्न र एकले अर्कोलाई माया गर्न जीवन साथी नै हुनुपर्छ भन्ने छैन’ कुनै दिन पढेका यी शब्दहरु आज आफ्नो जीवनमा यथार्थ भएर आएका छन् । यिनै शब्दहरुलाई सांक्षी राखेर म र ऋतु पनि पक्कापक्की असल साथी बनेका छौ ।