बुटवलमा फेरि सुरु भयो तरकारीको विषादी परीक्षण
२५ असार, बुटवल ।
भारतीय दूतावासको पत्रपछि सरकारले विदेशबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लियो, जसको चौतर्फी आलोचना भयो । पूर्वाधार तयार नभएको भन्दै निर्णयबाट पछि हट्नुपरेको सरकारको भनाइ छ ।

तर, बुटवलमा भने कर्मचारी अभावमा ८ महिनादेखि बन्द विषादी अवशेष द्रूत विश्लेषण इकाइ (प्रयोगशाला)बाट फेरि तरकारी तथा फलफूलको विषादीको नमूना जाँच्न सुरु भएको छ ।
कार्यालय प्रमुख खत्रीले मंगलबारबाट विदेशबाट आयात हुने फलफूल तथा तरकारीको नमुना संकलन गरी परीक्षण सुरु गरिएको जानकारी दिए ।
बुटवलमा सञ्चालनमा आएको विषादी परीक्षण प्रयोगशालाले नियमित रुपमा फलफूल तथा तरकारीको नमूना संकलन गरी त्यसको रिपोर्ट केन्द्र सरकारलाई बुझाउने छ ।
अहिले उक्त इकाइमा खत्री र एकजना कार्यालय सहयोगी मात्रै कर्मचारी छन् । जसले गर्दा काम गर्न कठीन रहेको खत्रीले बताए । ‘एक जना मात्रै कर्मचारीले कसरी काम गर्नु, असाध्यै गाह्रो भएको छ, तैपनि सरकारले खटाएपछि काममा आएको छु,’ खत्रीले भने, ‘सहजरुपमा काम गर्न कम्तीमा पनि तीनजना प्राविधिक सहायक र नायब प्राविधिक सहायक आवश्यक पर्छ ।’
संघीय सरकारले आयातित तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएपनि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले भने बुटवल र नेपालगंजमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार पहिलो चरण्मा बुटवलको प्रयोगशाला पुनः संचालनमा ल्याइएको र नेपालगञ्जको प्रयोगशाला समेत छिटै संचालनमा ल्याउने तयारी गरिएको प्रदेश सरकारकी मन्त्री आरती पौडेलले बताइन् ।
एक वर्षअघि संघीय संरचना अन्तर्गत नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतमा रहेको कार्यालयबाट कर्मचारीहरु समायोजन भइ अन्यत्र गएपछि कर्मचारी अभावमा प्रयोगशाला बन्द भएको थियो । उनी गएपछि उक्त कार्यालय नै बन्द भएको थियो ।
एकजना कार्यालय सहयोगीले कार्यालय खोल्ने, सरसर्फाइ गर्ने काम मात्रै गर्दै आएकी थिइन् । बुटवलको कृषि उपज थोक बजार केन्द्रमा दैनिक ककरिब २ करोड रुपैयाँको तरकारी तथा फलफूल आयात हुने गरेको छ। त्यसमध्ये ८० प्रतिशत भारतबाट आयात हुने लुम्बिनी फफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष केशव कुंवरले बताए ।
विदेशबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणको प्रावधानले नेपालका तरकारी किसानले भने खुशी भएका छन् ।
अन्लाइन खबर बाट






