मप विश्वविद्यालयको नवौं सिनेट : पदाधिकारीको काठमाडौंमा, विद्यार्थीको सुर्खेतमा
सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नवौं सिनेट (साधारण सभा) आज काठमाडौंमा प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भयो । नवौं सिनेट सुर्खेतमै हुनु पर्ने माग राख्दै आएका विद्यार्थीहरुले भने सुर्खेतमा संकेतिक सिनेट संचालन गरेका छन् । उता काठमाडौंको सिनेटमा प्रधानमन्त्री एवम् कूलपति केपी शर्मा ओलीले अध्यक्षता गरेका थिए भने उता विद्यार्थीहरुले संचालन गरेको सिनेटमा विद्यार्थी नेता प्रेम खड्काले सिनेटको अध्यक्षता गरेका थिए ।

विश्वविद्यालयले सुर्खेतमै सिनेट संचालन गर्नु पर्ने माग राख्दै विभिन्न समयमा पदाधिकारीहरुको ध्यानाकर्षण गरेपनि पदाधिकारीहरुले अटेरी गरेको र कर्णालीका जनताको मनोभावनामा ठेस पु¥याएको भन्दै संकेतिक सिनेट गर्नु परेको विद्यार्थीहरुको भनाई ।
संकेतिक सिनेटमा सदस्य सचिवको भूमिका निर्वाह गर्दै विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यार्थी नेता गगन सिंह ठकुरीले भने, ‘विश्वविद्यालयले आफ्नो स्थापनाका नवौं वर्षहरु पार गर्ने क्रममा विभिन्न आरोह अवरोहहरुको समाना गरेकोे छ ।’ उनले थपे, ‘सेवा आयोग मार्फत हजारौ जनतालाई रोगजारीको सिर्जना गरेको, विज्ञान क्याम्पसको भवन तथा केन्द्रिय प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको र विभिन्न नीजि कलेजहरुलाई सम्बन्धन दिएको र आंगिक क्याम्पस बनाएका छौं ।’

सदस्य सचिवको भूमिका निर्वाह गरेका विद्यार्थी नेता सिंहले भने, ‘२०७६/०७७ मा थप ५ वटा क्यामपसहरुलाई आंगिक क्याम्पस बनाउने नीति ल्याएको छु । साथै काठमाडौंका राजधानी मोडेल कलेज, जेभिएर इन्टरनेशनल कलेज, ग्लोबल म्यानेजमेण्ट कलेजलाई सम्बन्धन दिने निर्णय पेश गरेको छु ।’
संकेतिक सिनेटमा अझ रोचक विषय त सिंह भने, ‘स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन २०७६ भदौं १२ गते गराउने निर्णय पेश गरेको छु ।’ विश्वविद्यालयका सम्पूर्ण कार्यक्रम तथा गतिविधिहरु सुर्खेतमै गर्ने प्रस्तुतसहित ३१ जना उपप्राध्यापक र ४० जना कर्मचारीका लागि थप दरबन्दी सृजना गरिएको छ ।’
विद्यार्थीहरुको संकेतिक सिनेटले आ.व. ०७६/०७७ को लागि कूल ११ अर्ब ७५ करोड ६२ लाख ६ हजार १ सय रुपैयाँ ५९ पैसाको बजेट समेत प्रस्तुत गरेको छ । जस मध्य चालु तर्फ ७ अर्ब ७५ करोड र पूर्वाधार तर्फ ३ अर्ब ६२ लाख १ सय १७ रुपैयाँ प्रस्तुत गरिएको थियो भने समपूरक बजेटको रुपमा १ अर्ब ५९ पैसा विनियोजन गरिएको थियो । जसमध्य विश्वविद्यालय अनुदान आयोगबाट ९ अर्ब ७५ करोड ५९ पैसाको अपेक्षाको बताइएको छ भने २ अर्ब ६२ लाख १ सय १७ रुपैयाँ विश्वविद्यालयको आन्तरिक स्रोतबाट प्राप्त गर्ने आशा गरिएको छ ।
विद्यार्थीहरुको संकेतिक सिनेटको समापन गर्दै कूलपतिको भूमिका निर्वाह गरेका विद्यार्थी नेता प्रेम खड्काले विश्वविद्यालय यो स्थानसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । हजारौंको संख्यामा रोजगारी सिर्जना गरेकामा विश्वविद्यालयका पदाधिकारीहरुलाई धन्यवाद दिँदै आफ्नो तर्फबाट विश्वविद्यालयको उन्नती र प्रगतिको लागि खेल्नु पर्ने भूमिकामा कुनै कमी नहुने उनको भनाई थियो ।
संकेतिक सिनेटको सदस्यमा विष्णु महतारा, मिलन बिसी, पदम खड्का, ललित केसी, भरत शाहीलगायत रहेका थिए ।






