Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

अछाममा जिप दुर्घटना

अछाम

अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबागमा गएराति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबाग भन्ने स्थानमा बुधबार राति करीब साढे ८ बजे भएको दुर्घटनामा अन्य तीन घाइते भएका छन्।

रामारोशन गाउँपालिकाको मुजाबगरबाट जयगढ आउँदै गरेको से१ज ९९५ नंको जिप जयगढ–माझेठाना सडकखण्डअन्तर्गत सुकिबागमा बुधबार राति करीब साढे ८ बजेतिर सडकबाट करीब ५०० मिटर तल खस्दा सो दुर्घटना भएको थियो। दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँ बस्ने काले परियार र बैतडी घर भएका सवारी चालक लाल बोहराको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका जङ्गीर चौधरी र कैलाली धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी घाइते भएका छन्। उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

रातिको समयमा तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए। रासस