कर्णप्रिय कि कर्णकटु
कुनै शब्दहरु कर्णप्रिय हुन्छन् भने कुनै शब्दहरु कर्णकटु । कुनै बच्चाको न्वारन भईरहेको, पास्नी भइरहेको बेलामा जीवन धेरै लामो छ भन्ने लाग्छ । कसैको जन्ती गएको बेलामा जीवन निकै रमणीय छ भन्ने लाग्छ । तर कसैको मलामी जानु प¥यो भने जीवन निकै छोटो छ भन्ने लाग्छ । भनिन्छ जन्ती गएको मान्छेले कहिल्यै पनि मर्छु होला भन्ने सोच्नै सक्दैन अनि मलामी गएको मान्छेले धेरै बाँच्छु होला भन्ने सोच्दैन रे ।

मान्छेले यो संसारमा जन्म लिईसकेपछि अनेक खालका कर्महरु गर्दछ । उसले गर्ने कर्महरुले नै उसले प्राप्त गर्ने फलको निर्धारण गरेको हुन्छ । सत्कर्म गर्नेहरुलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ भने दुष्कर्म गर्नेहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक हुन्छ । त्यही सकारात्मक र नकारात्मक भित्र घुमिरहेको हुन्छ जीवनचर्या ।
यहाँ एउटा गजलको शेर प्रस्तुत गर्नु आवश्यक ठाने:
हुन्छ कि हुँदैन उन्नती गजल लेखेर
हुन त कसैको हुँदैन दुर्गती गजल लेखेर
राख्न त नाम राख्नु छ र मलामी कमाउनु छ
बस यत्ति नै हुन्छ प्रगति गजल लेखेर
कसैले मलामी कमाउनकै लागि र नाम राख्नकै लागि कर्म गर्दछन् भने कसैले धन कमाएर मलामी किन्नका लागि कर्म गर्दछन् । नाम राखेर कमाइएका मलामीहरु र किनिएका मलामीहरुमा आकाश पातालको फरक हुन्छ । हाम्रै देशमा राजा वीरेन्द्रको वंश नाश हुँदा उर्लिएको मलामीको भीड नामका कारण उर्लिएको हो । राजनीतिक आस्था विश्वासलाई फरक कित्तामा राखेर हेरेपनि नहेरे पनि राजा वीरेन्द्रको देहावासनमा सारा नेपाल रोएको थियो । उनी राजा भएकोले मात्र देश शोकमा डुबेको होइन लोकप्रिय राजा भएकोले देशवासी समेत शोकमा डुबेका थिए । जीवनमा धेरैको मलामी बनिएको छ । धेरैको जन्ती बनिएको छ ।
मृत्यु दुःखद हुन्छ । चाहे त्यो सत्रुको नै किन नहोस् । त्यही दुःखद मृत्युको चर्चा र परिचर्चा भने फरक तरिकाले गर्ने गर्दछन् मलामीहरु । कसैले लास चितामा जलिरहेको बेला आफ्नो कर्मको फल भोगिरहेको छ भन्दै उसलाई हेरिरहने पनि हुन्छन् । तर कसैको लास चितामा जलिरहेको बेलामा आफै जल्नु परेको अनुभव जस्तै गरिरहेका पनि हुन्छन् ।
देशमा परिवर्तन भईरहने राजनीतिक गतिविधिसँगै देशले ठूल्ठूला घटनाहरुको सामना गर्नु परेको छ । कहिले कोशी बेचियो, कहिले महाकाली बेचियो । कहिले लाउडा काण्ड भयो कहिले वाइडबडी काण्ड भयो, खप्यो देशले । टनकपुर, सुस्ता जस्ता ठाउँमा हाम्रो जमिन मिचियो । पराइले कुल्च्यो नेपाल आमाको छातीमा । रुन सकेन देश । तर दुखेन हाम्रा नेताहरुको मन । जनताको पसिनाको मूल्यलाई अपहेलना गर्ने नेताहरु जसले राष्ट्रको ढुकुटीको दोहन गरेर आफ्नो स्वार्थसिद्धिमा प्रयोग गरे ती पापिष्टहरुको मलामी जान मन छ मलाई ।
सशस्त्र युद्धको समयमा जसले मलामी नै पाउन सकेनन् । गाडिए लासहरु जंगलमा र फालिए अलपत्र अवस्थामा तिनीहरुको मलामी जान म छ मलाई । हजारौ बालबच्चाको अभिभावकत्व खोसेर जो रमाइरहेका छन् तिनीहरुको मलामी जान मन छ मलाई । हजारौ आमाका काखहरु रित्ता बनाएर जसले आफ्नो परिवारलाई सुन्दर बगैचाको रुपमा निर्माण गरे तिनीहरुको मलामी जान मन छ मलाई । हजारौं युवाहरुलाई अपाङ्ग बनाएर जो आज करोडौका गाडिहरुमा मस्ती गरिरहेका छन् तिनीहरुको मलामी जान मन छ मलाई । जसले आटा, खारा र दोरम्बा जस्ता घटनाहरु घटाएर निर्दोषहरुको हुर्मत लिए तिनीहरुको मलामी जान मन छ मलाई । जो जिउँदै जलाइए । जो मुढामा पेलिए । जसलाई खसी काटे झैँ काटियो । ती निर्दोषहरुको मलामी जान मन छ मलाई । आफ्नो स्वार्थको लागि निर्दोषहरुलाई जिउँदै जलाउने, मुढामा पेल्ने, खसी काटे झँै काट्नेहरुको मलामी जान मन छ मलाई ।
मेरो मन एक तमासको भएको छ आज । छोराको हत्यारालाई कारवाहीको माग गर्दै अनसनमा बसेर जीवन त्याग गर्ने महान पिता गंगाप्रसाद अधिकारी वर्षौदेखि वीर अस्पतालको फ्रिज भित्र सडिरहेका छन् । अनसनमा बसेर जीवन त्याग गर्न सक्ने एउटा पिताको शबलाई दाहसस्कार गर्न नसक्ने सरकारदेखि उनलाई त्यो अवस्थामा पु¥याउने सबै सबैको मलामी जान मन छ मलाई ।
इतिहास जित्नेहरुकै लेखिन्छ । यसमा दुईमत नहोला । आज जितेकाहरुले हिजो जितेकाहरुको इतिहासलाई मेटाउने कार्य देश र जनताकै लागि हानीकारक छ । हिजोको इतिहासलाई बिर्सनु भनेको आफ्नो धरातललाई बिर्सनु हो । धरातललाई बिर्सनु भनेको आफैलाई बिर्सनु हो । ती आफैलाई बिर्सनेहरुको मलामी जान मन छ मलाई ।
पृथ्वीनारायण शाहले सूरुवात गरेको नेपाल एकिकरणको अभियानले बनेको सिंगो नेपालमा हालिमुहाली गर्न पाइएको छ । पराइहरुको अधिनमा बस्नु परेन नेपालीलाई । वीर बलभद्र, भक्ति थापा, भीमसेन थापा, कालु पाँडे जस्ता महान सपुतहरुले जोगाइ दिएको नेपाल अहिले दाजुभाइको अंशबण्डामा अमिनले जमिन चिरे झँै कित्ता कित्तामा बाँड्नेहरुको मलामी जान मन छ मलाई । जसले इतिहास मेटाउने नाममा पृथ्वीनारायणदेखि राजा वीरेन्द्रसम्मका सालिकहरु ढाल्यो उनीहरुको मलामी जान मन छ मलाई ।
कुनै समयमा जंगबहादुर राणाले सत्ता र शक्तिका लागि गरेका बितण्डाहरु अवश्य पनि दर्दनाक छन् । राजा त्रिभुवनले प्रजातन्त्रको लागि गद्दी त्याग गरेको इतिहासलाई स्मरण गर्न नसक्नेहरुको मलामी जान मन छ मलाई । राजा महेन्द्रले पञ्चायतको घोषणा गरेर जनताका अधिकारहरु खोसे । नेपाली जनताले पञ्चायतको अनुशरण गर्ने क्रममा निकै दुःख र सास्ती खेप्नु प¥यो । हजारौले अराष्ट्रियतत्वको मुद्दा खेपेरै मर्नु परेको पीडादायी इतिहास पनि छ नेपालमा । त्यसरी राजनीतिक स्वार्थका लागि पीडा दिने पीडकहरुको मलामी जान मन छ मलाई । जसले दशरथ, धर्मभक्त, गंगालाल र शुक्रराज जस्ता हजारौं सपुतहरुलाई यस धर्तिमा बाँच्ने अधिकारबाट बञ्चित ग¥यो त्यस्ता निरंकुशीहरुको मलामी जान मन छ मलाई । एउटा साहित्यको सिर्जना गरेकै कारण जसले कृष्णलाल अधिकारीको प्राण लियो त्यस्ता पापिष्टहरुको मलामी जान मन छ मलाई ।
जो घुस बिना सरकारी कामै गर्दैनन् । जसले दाइजोका लागि बुहारी र श्रीमतीहरुलाई जीउँदै जलाउँछन् । जसले भ्रुण पहिचान गरि एउटा छोरीको जन्मिन पाउने अधिकारलाई गर्भमै बञ्चित गरेर तुहाइ दिन्छन् । जसले जातीयताका आधारमा, लैङ्गिक आधारमा, भेकिय आधारमा सपाङ्ग र अपाङ्गका आधारमा उँच र निँचको व्यवहार गर्दछन् तिनीहरुको मलामी जान मन छ मलाई ।
आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने र अर्काको धर्म माथि प्रहार गर्नेहरुको मलामी जान मन छ मलाई । जसले गौप्राणी जस्तो सुधो प्राणीको सामुहिक हत्या गरेका छन् तिनीहरुको मलामी जान मन छ मलाई । अझ भनौं भने राजनीतिक रंग र भेदका आधारमा राज्यको ढुकुटीलाई दोहन गर्ने पापिष्टहरुको मलामी जान मन छ मलाई ।
यो मलामी शब्द आफैमा कर्णकटु छ । दुःखदायी छ । दर्दनाक छ । अप्रिय छ । तर के गर्नु । जसले देशलाई देश जस्तो हुन दिएनन् । जनतालाई जनता जस्तो हुन दिएनन् । जो जन्मभूमिको माटो मिचिँदा रुन सकेनन् । सामुहिक गौहत्या हुँदा मन दुखाउन सकेनन् । कुनै समयमा भारतीय विस्तारवाद र अमेरिकी साम्रज्यवादको विरोध गर्नेहरुले पूर्वको टिष्टा र पश्चिमको कंगडालाई फिर्ता गराउने पहलकदमी त कता हो कता सत्ता र स्वार्थको लागि भारतकै शरण परे । दाइजो नपाएकोमा श्रीमती जलाए । छोरो नपाएकोमा श्रीमतीलाई मर्न बाध्य बनाए । छोरीलाई गर्भमै मारे । सम्पत्तिको लागि बाउलाई मारे । श्रीमतीको लहलहैमा लागेर आमाबाबुलाई वृद्धाश्रममा छोडे । जसले नाठोसँगको साँठगाँठमा आफ्नै श्रीमान्को हत्या गरे । पराइसँग जानकै लागि जुन आमाले आफ्नै छोरीलाई काटिदिइ । त्यस्ताहरुले यो संसारमा बाँच्ने अधिकार नराख्नु पर्ने हो । त्यस्ता पापिष्टहरुले आजीद भएको छ देश । त्यसैले कुकर्मीहरु मर्नु पर्छ र तिनीहरुको मलामी जान पाउनु पर्छ सज्जन, सज्जनहरुले ।






