लामखुट्टेका लार्भा नष्ट गर्ने अभियानमा ६ नं. वडा
सुर्खेत
पछिल्लो समयमा डेंगु रोगको संक्रमण बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ निकै बाक्लो बस्ती भएको वडा भएकोले शहरी क्षेत्रमा उत्पन्न हुनसक्ने समस्यालाई मध्य नजर गर्दै डेंगु रोगको प्रकोप फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानको सुरुवात गरिएको छ । स्वास्थ्य कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका, वडा नं. ६ को कार्यालय, वातावरण सुधार समाज, नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाको आयोजनामा लामखुट्टेको लाभा खोज र नष्ट गर अभियान ६ नं. वडा कार्यालयले सुरु गरेको वडा अध्यक्ष मोतिप्रसाद कंडेलले बताए ।

उक्त अभियानमा साथ दिनका लागि वडावासीहरुलाइ आग्रह गर्दै वडा नं. ६ का वडा अध्यक्ष कंडेलले भने, हाम्रो मानव स्वास्थ्य सबै भन्दा महत्वपूर्ण भएकोले आफ्नो स्वास्थ्यको रक्षा र सुरक्षाका लागि आफैले लामखुट्टेका लार्भाहरु नष्ट गर्नुपर्ने बताए । वडाले अभियान सुरु गरिसक्यो । यस अभियानमा सबै सचेत नागरिक, बुद्धिजिवी, टोल विकास संस्था, शिक्षक, विद्यार्थी, प्रहरी, व्यावसायी, गैसस, कर्मचारी, पत्रकारहरु समेत सरिक भइ डेंगुको प्रकोपलाई नियन्त्रण गर्न सहयोग गरिदिन अनुरोध गर्दछु ।
स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार अहिलेसम्म सुर्खेतमा ६ जनामा डेंगु देखिएको छ । जस मध्ये वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का २ जना, वडा नं. ४ का १ जना वडा नं. १६ का १ जना, भेरीगंगा नगरपालिका वडा नं. ४ का १ जना र बराहताल गाउँपालिका वडा नं. १ मा १ जनामा डेंगुका संक्रमण देखिएको छ ।

सन् २००४ मा नेपालमा देखा परेको यो रोग लामखुट्टेका कारण मात्र सर्ने रोग हो भने यसको कुनै खोप छैन । यसबाट बच्ने उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो भने यसको रोकथाम गर्नु भनेको लामखुट्टेको लार्भालाई नै नष्ट गर्नु भएको बताउछन् स्वास्थ्य प्रमुख वाग्ले । डेंगु रोग हेर्दा सामान्य जस्त भएपनि यसको अपहेलना गरेको खण्डमा ज्यानै समेत जान सक्ने खतरा पनि हुने भएकोले सबैले बेलैमा सचेत हुनु जरुरी भएको वाग्लेको भनाई थियो । डेंगु रोग फैलाउने लामखुट्टेले छिटो छिटो धेरै मान्छेलाई टोक्न सक्ने भएकोले यसको संक्रमण छिटो फैलिनसक्ने खतरा हुन्छ । जसका कारण यसको प्रकोप बढ्ने सम्भावना हुने भएकोले सबैसँगको सहकार्यमा यसको नियन्त्रणको उपाय खोजिएको उनको भनाई थियो ।
यो रोग फैलाउने लामखुट्टेले ५ सय दखि १ हजारसम्म फूलहरु पार्ने र एक पटकमा २ सय देखि २ सय ५० सम्म फूलहरु पार्ने भएकोले यसले संख्यात्मक रुपमा धेरै लामखुट्टे जन्मिनसक्ने भएकोले पनि यसको जीवनचक्रलाई नै रोक्न सक्ने हो यसको रोकथाम गर्न सकिने प्रमुख वाग्लेको भनाई थियो ।

एसिड जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग भएपनि विरामीले सास फेर्दा वा हाछ्यू गर्दा भने यो रोग नसर्ने वाग्लेले बताए । डेंगु भाइरस संक्रमणित लामखुट्टेको टोकाईले यो रोग सर्ने उनको भनाई थियो । उनले भने, यो लामखुट्टेले विशेष गरि दिउँसो मात्र टोक्ने गर्दछ र वर्षातको मौसम सूरु भएपछि यो रोगको प्रकोप बढ्न थाल्छ ।
बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरिरमा डाबरहरु आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशीहरु बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबढी हुनु डेंगुका लक्षणहरु हुन् । यसका साथै विरामीको शरिरमा खटिरारु आउनु, नाक तथा गिजाबाट रक्तश्राव हुनुपनि यसका लक्षणहरु हुन । यस्ता लक्षणहरु देखिएमा स्वास्थ्य संस्थामा गएर उपचार गर्नु पर्दछ । अर्कोतिर यसबाट बच्नका लागि पूरा शरिर ढाकिने कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्नका लागि मल्हम जस्ता सामग्रीको प्रयोग गर्नु, राती वा दिउँसो पनि सुत्ने बेलामा झुलको प्रयोग गर्नु, घर वरपर तथा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान दिनु, झ्याल र ढोकामा जालीको प्रयोग गर्नु पर्दछ ।

पानी राख्ने भाँडाहरु जस्तै पानी ट्याँकी, गाग्री, बाल्टी, ड्रम आदि छोपेर राख्ने, लामखुट्टेको नियन्त्रणको लागि घर वरपर पानी जम्न नदिने, आगन पुरै सफा राख्ने, एउटै ठाउँमा पानी जम्मा गरेर नराख्ने, पुराना टायर पानी जम्न सक्ने भाँडाकुँडा, पुराना बट्टाहरु खाल्डाखनी पुर्ने वा नष्ट गर्ने, गमला फूलदानी, एअर कुलर जस्ता पानी जम्ने सामग्रीको पानीमा हप्तामा दुई पटक नियमित रुपमा सुख्खा हुने गरि सफा गर्ने, कुनै स्थानमा पानीको पाइप तथा ढल चुहिने भएमा तुरुन्त मर्मत गरेमा लामखुट्टेले फूल पार्ने ठाउँहरु नभेटाउने हुनाले यसको नियन्त्रणको लागि सहजता पुग्ने बताइएको छ ।
डेंगु भएको शंका लागेमा एन्टिबायोटिक औषधीहरुको सेवन गर्न नहुने बताउँदै प्रमुख वाग्लेले भने, ज्वरो घटाउन प्रशस्त मात्रामा सिटामोलको प्रयोग गर्ने र झोलिलो पदार्थ पिउने गर्नुपर्दछ । डेंगुका लक्षणहरु कुनै पनि व्यक्तिमा देखा पर्ने बित्तिकै यसबाट उत्पन्न हुने जटिलताबाट बच्नका लागि तुरुन्त स्वास्थ्य संस्थामा गई उपचार गराउनु पर्दछ ।

जनप्रतिनिधिहरु, प्रहरी, शिक्षक, ६ नं. वडाका कर्मचारी, टोल विकासका प्रमुख एवम् पदाधिकारीहरु लगायतको उपस्थिति रहेको उक्त कार्यक्रम वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रमको सहजीकरण वडा नं. ६ का कम्प्यूटर सहायक रेखा केसीले गरेकी थिइन ।






