शहिदको जन्मजयन्तीमा खाद्य सामग्री वितरण
- 1.9Kshares
- Viber
- Facebook Messenger
सुर्खेत ।
अखण्ड मध्यपश्चिमको आन्दोलनमा शदादत प्राप्त गर्ने शहिद याम बहादुर बि.सी. को ३२ औं जन्म जयन्तीको अवसरमा खाद्य सामग्री वितरण गरिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ नेवारेमा रहेको मानव सेवा आश्रममा शहिद याम बिसी स्मृति प्रतिष्ठानले खाद्य सामग्री वितरण गरेको हो ।
खाद्य सामग्री वितरण कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष लोक प्रसाद चालिसेले भगवान पूज्नका लागि मन्दिर भन्दा मानव आश्रममा आउनु पर्ने बताए । शहिदको जन्मदिनको अवसर पारेर याम विसी स्मृति प्रतिष्ठानले मानव आश्रममा गरेको सेवा अतुलनीय भएको बताउँदै उनले भने, ‘प्रदेश स्थापनाका लागि बलिदानी दिएका शहिदको सम्मान गर्नका लागि सबैले आ–आफ्नो तर्फबाट योगदान गर्न सक्नु पर्छ ।’
मानव सेवा आश्रममा रहेका ५० जनालाई खाद्य सामग्री वितरण गरिएको प्रतिष्ठानका सचिव भगवती विसीले बताइन् । कार्यक्रममा शहिद पिता शेर बहादुर बुढाले आफ्नो परिवारको सदस्य गुमाउँदाको पीडाबाट छुटकारा पाउन त नसकिने तर पनि शहिदको सम्मान गर्न सकेको खण्डमा आत्मसन्तुष्टि प्राप्त गर्न सकिने बताए । शहिदले देखेका सपना पूरा गर्न गराउन प्रदेश सरकार र स्थानीय सरकारले विशेष भूमिका खेल्नु पर्ने बताउँदै शहिदको रगतबाट सिंचित भूमि कर्णाली प्रदेश समृद्ध बन्न सक्यो भने मात्र शहिदको आत्माले शान्ति पाउने बुढाको भनाई थियो ।
सबैको साथ र सहयोगबाट मानव सेवा आश्रम संचालन भएको बताउँदै मानव सेवा आश्रमका संयोजक सृजना वलीले शहिद परिवारले आश्रम प्रति देखाएको माया र सद्भावका लागि धन्यवाद ज्ञापन गरेकी थिइन् ।
देशमा संघीय संरचनाको सिमाङ्नको भएको बेला साविक मध्यपश्चिमलाई सुदुरपश्चिममा गाभेको भन्दै भएको आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, टिकाराम गौतम, गोपालसिं रजवार र जुम्लाका हरिबहादुर कँुवरले शहादत प्राप्त गरेका थिए । कार्यक्रम या बिसी स्मृति प्रतिष्ठानका अध्यक्ष शेरबहादुर बुढाको अध्यक्षतामा भएको थियो ।
कस्तो अवस्थामा छ मानव सेवा आश्रम
मानव सेवा आश्रमले सात वटै प्रदेशमा आफ्ना शाखाहरु विस्तार गरेर संचालन भइरहेको छ । प्रादेशिक रुपमै कर्णाली प्रदेशको शाखाको रुपमा सुर्खेतमा रहेको यस आश्रममा ४४ जना मानव आश्रित रहनु भएको मानव सेवा आश्रम कर्णाली प्रदेश संयोजक सृजना वलीले बताउनु भयो । विशेष गरि मानसिक रुपमा समस्या भएका मानवहरु रहेको उक्त आश्रममा काम गर्न निकै अप्ठ्यारो भएपनि विरामीहरुमा विस्तारै आउने परिवर्तनका कारण आफूहरु निकै खुसी रहेको संयोजक वलीको भनाई थियो ।
विभिन्न दातृ निकाय, परोपकारी मनहरुले विवाह वर्ष गाँठ, पितृहरुको सम्झनामा, जन्मदिन तथा विशेष अवसरहरु गरिने सहयोगले आश्रमको खर्च जुटाइरहेको वलीले बताउनु भयो । घरभाडा भने वीरेन्द्रनगर नगरपालिकाले सहयोग गरेको छ ।
प्रदेश अस्पतालले आवश्यक परेको समयमा चिकित्सक उपलब्ध गराएको छ । औषधी भने सामाजिक विकास मन्त्रालयको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत उपलब्ध हुने गरेको छ । साथै विभिन्न समयमा नेपाली सेनाले स्वास्थ्य शिविर संचालन गर्ने गरेकोले पनि विरामीहरुको उपचारमा सहयोग पुग्ने गरेको छ । सुर्खेत लगायत कर्णाली प्रदेशका अन्य जिल्लाका मानवहरु पनि आश्रित रहेको यस आश्रमले सडक मानव रहित प्रदेश निर्माणका लागि अभियान नै संचालन गर्ने योजना रहेको संयोजक वलीका भनाई छ ।
- Total: 1.9K
- Viber
- Facebook Messenger