Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

राष्ट्रिय प्रजातन्त्र पार्टी  (संयुक्त) काे रथ यात्रा सुरु

जनकपुर

राष्ट्रिय प्रजातन्त्र पार्टी  (संयुक्त) ले जनकपुरबाट रथ यात्रा सुरु गरेको छ ।
नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्यसहित राप्रपा (संयुक्त) ले बिहीबारबाट धार्मिक यात्रा सुरु गरेको हो । सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र नेपाल घोषण हुनुपर्ने बताउँदै मंसिर ४ गतेसम्म अभियान चलाउने राप्राले जनाएको छ ।

अध्यक्षद्धय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले संयुक्त रूपमा जनकपुरबाट रथ यात्रा आरम्भ गरेका हुन् । कार्यक्रममा अभिनेत्री रेखा थापा समेत सहभागी भएकी थिइन् ।

संसारमै एक मात्र सिङ्गो हिन्दु राष्ट्र नेपाल रहेकाले पुनः हिन्दु राष्ट्र स्थापनाका निम्ति जनकपुरदेखि लुम्बिनीसम्म पहिलो चरणको यात्रा आरम्भ गरेको अध्यक्ष लोहनीले बताए । हिन्दु राष्ट्रकोलागि चरणबद्ध यात्रा सहितको संघर्षको घोषणा गरेको उनको भनाइ थियो ।
सनातन सर्वधर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर मुल नारासहित जानकी बुद्ध रथ यात्रा गर्न लागेको अध्यक्ष जबराले उल्लेख गरे। नेपालको धर्म र संस्कृतिमाथि प्रहार गरी धर्म निरपेक्षता घोषणा गरेकाले चरणबद्ध यात्राको आरम्भ गर्न लागेको उनको भनाई छ ।

संसारमै हिन्दु राष्ट्रको पहिचान गुमाएकाले एकल र सिंगो नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु बाहेकको विकल्प नरहेको उनको भनाइ थियो । उनले नेपाल हिन्दु राष्ट्र भएमा हिन्दुस्तान र चीन समेतले स्वागत गर्ने दाबी गरे । कांग्रेस र नेकपालगायतका शक्तिहरूको षडयन्त्रले हिन्दु राष्ट्र गुमाउनु परेको उनले बताए ।