Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

दुरविनको विमोचनसँगै काव्य गोष्ठी सम्पन्न

सुर्खेत ।
कर्णाली वाङ्मय प्रतिष्ठानले आफ्नो साहित्यिक पत्रिका दुरविनको दोस्रो अंकको विमोचन गरेको छ । सुर्खेत क्याम्पस शिक्षाको हलमा आयोजित एक औपचारिक कार्यक्रममा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले विमोचन गर्नुभएको हो ।


विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री केसीले साहित्य सबैले लेख्न र बुझ्न नसक्ने भएपनि साहित्य समाजको लागि लेखिन जरुरी भएको बताउनु भयो । समाजमा भएका विकृतिलाई उजागर गरेर चेतनाको विकास गर्न सक्ने रचना नै साहित्य भएको उहाँको भनाई थियो । साहित्यकारले सरकारले गरेका कमीकमजोरीहरु समेत औल्याएर राष्ट्र निर्माणमा योगदान दिनु पर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘साहित्यले सभ्यताको संस्कार बसाउन सक्नु पर्छ ।’


साहित्य अप्ठ्यारोबाट जन्मिने भएकोले यसले समाजलाई सजिलोतिर लैजाने कार्य गरेको बताउँदै सरकारले पनि साहित्यको पूवद्र्धनका लागि विशेष भूमिका खेल्न सक्नुपर्ने मन्त्री केसीले बताउनु भयो । कर्णालीको गरिबी अन्त्य र दिगो विकासका लागि साहित्यको विकास गराउन जरुरी भएको मन्त्री केसीको कथन थियो ।

कार्यक्रममा दुरविन पत्रिकाको समालोचना गर्दै बलभद्र भारतीले दुरविनले साँच्चिकै दुरविनको काम गरेको बताउनु भयो । दुरविन भित्र भएका रचनाहरुको समेत विश्लेषण गर्दै भारतीले भने, ‘सिंगो कर्णालीको विषयवस्तुलाई साहित्यका माध्यमबाट उजागर गर्ने र सिंगो साहित्य जगतका लागि पनि दुरविन एउटा दस्तावेजको रुपमा प्रकाशन भएको छ ।’

कार्यक्रममा शुभकामना दिँदै मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन साहित्यकार खोपिराम लम्सालले संस्थाको निरन्तरता र प्रकाशनको निरन्तरता ठूलो भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सुर्खेतमा रहेर साहित्यकर्ममा लागिरहेका साहित्यकारहरुलाई प्रशिक्षणको व्यवस्थापन गर्न सकेको खण्डमा अग्रज र अनुज बीचमा सेतुको कार्य स्थापित गर्न सकिने थियो ।’ भावनाले थिचिएका साहित्यकारलाई सैद्धान्तिक पाटोको ज्ञान दिने गरि काम गर्ने संस्थाको खाँचो भएको लम्सालले बताउनु भयो । साहित्यमा लाग्नेहरुले भाषा, तत्वको घटकको बारेमा अध्ययन गर्न जरुरी भएको उहाँको भनाई थियो ।

यसैगरि कार्यक्रममा बोल्दै साहित्यकार डा. दीपक गौतमले साहित्यको जीवन भनेको भाव भएकोले त्यस तर्फ ध्यान दिन आवश्यक रहेको बताउनु भयो । साहित्यकारको स्तर उसको रचनाले निर्धारण गर्ने भएकोले कुन स्तरको रचना छ र कुन स्तरको साहित्यकार हो भन्ने स्पष्ट हुने उहाँको भनाई थियो ।

प्रतिष्ठानका अध्यक्ष सीता यरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सल्लाहकार विष्णु महताराले गर्नुभएको थियो भने कार्यक्रममा दुई दर्जन स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो ।