Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

सुर्खेतका विद्यार्थीलाई जापानी झोला उपहार

सुर्खेत ।
रुपान्तरण नेपालले सुर्खेतका ११७ जना विद्यार्थीहरुलाई जापानी झोला उपहारस्वरूप वितरण गरेको छ । रूपान्तरण नेपालले जापानी झोला वितरण गरेको हो । सुर्खेतमा रहेको सिद्ध बहिरा विद्यालयमा आयोजना गरिएको कार्यक्रममा जनसेवा मावि घुस्रा, श्री कृष्ण संस्कृत तथा साधारण मावि इत्राम र सिद्ध बहिरा विद्यालयमा रहेका सिद्ध बहिरा तथा अपाङ्ग विद्यार्थीहरुलाई जापानी झोला वितरण गरिएको छ ।


युमी नेपाल, जापानको सहयोग र रुपान्तरण नेपालको आयोजनामा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला उपहार स्वरूप वितरण गरिएको हो ।

‘जापानी झोला सहयोग कार्यक्रम’ अन्तर्गत रूपान्तरण नेपालले सार्वजनिक विद्यालयमा पढ्ने १५ हजार विद्यार्थीहरुलाई पढाइप्रति थप उत्प्रेरित बन्न मद्दत पुगोस् भन्ने ध्येयले झोला वितरण गरेको हो । उपहार स्वरूप वितरण गरिएका सुविधायुक्त जापानी झोलाहरु पानीजहाजमा २ महिना लगाई समुद्री मार्गबाट नेपाल ल्याइएको रूपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले बताए ।

उनले कर्णाली प्रदेश प्राकृतिक रूपमा स्रोत साधनले सम्पन्न भए तापनि दक्ष जनशक्ति विकासमा निकै पछाडि रहेकाले गुणस्तरीय शिक्षामा संस्थाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सुर्खेत क्याम्पस शिक्षाका सहायक क्याम्पस प्रमुख राजन कंडेलले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई सात समुद्र पारीबाट झोला पठाइएको सन्दर्भमा खुशी व्यक्त गर्दै कर्णाली समृद्धिका लागि शिक्षामा विशेष जोड दिनुपर्ने बताए । ‘जबसम्म शिक्षालाई गुणस्तरीय बनाउदैनौँ तबसम्म विकासले तीव्र गति लिदैन ।’ उनले भने, ‘विकासलाई तीव्र गतिमा अघि बढाउन शिक्षालाई नै प्रथामिकतामा राख्नुपर्छ । सार्वजनिक शिक्षामा सुधार ल्याउन समुदाय स्तरमा नै ठूलो जागरण अभियानको जरुरी भएको बताउदै कंडेलले जापान शिक्षाकै कारणले विकसित भएको उदाहरण समेत दिए ।

शारीरिक रुपमा अपाङ्गता भएकाहरुले केही गर्न सक्दैनन् भन्ने मानसिकबाट माथि उठ्न सक्नु पर्ने उनले बताए । राज्य एक्लै जिम्मेवार भएर शिक्षामा गुणस्तर कायम गर्न सम्भव नहुने बताउँदै कार्यक्रममा अतिथि मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डीन बिष्णुकुमार खड्काले शिक्षालाई गुणस्तरीय बनाउन अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समिति जिम्मेवार हुनुपर्ने बताए । परोपकारी संस्थाहरुले विद्यालयमा शिक्षाको गुणस्तर उकास्नका लागि सहयोग गर्ने बताउँदै त्यसबाट सकारात्मकता तर्फ पाठ सिक्न सक्नुपर्ने उनको भनाई थियो ।

सार्वजनिक शिक्षालाई सुधार गर्न पाठ्यक्रमदेखि पाठ्यपुस्तक समेतमा समय सापेक्ष परिमार्जन गर्नु पर्ने खड्काले बताए । उनले भने, ‘जापानी झोला सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि अमूल्य उपहार हो ।’

विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने हेतुले जापानबाट बालबालिकाका लागि झोला उपलब्ध गराएकोमा रूपान्तरण नेपाल र युमी नेपाल, जापानप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ । यो सहयोगले झोला नभएर बालबालिकाहरू विद्यालय जानबाट वञ्चित हुनु नपर्ने विश्वास व्यक्त वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष थम्म प्रसाद गौतमले व्यक्त गरे ।

युमी नेपाल, जापानको टोकियो विश्वविद्यालयमा विद्यावारिधि गरिरहनु भएका नेपाली युवा शरद राईको अध्यक्षतामा नेपाली र जापानी युवा प्रतिभाहरूद्वारा स्थापित विशेषतः नेपालमा शिक्षा क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो ।

जापानी झोला कालिकोट, दैलेख, सुर्खेत र जाजरकोट जिल्लाका ४ वटा स्थानीय तहमा रहेका बालबालिकाहरुलाई वितरण गरिने रुपान्तरण नेपालले जनाएको छ ।