होटेल व्यवसायी महासंघ नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सुर्खेतको विरेन्द्रनगरमा सुरु
होटेल व्यवसायी महासंघ नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सुर्खेतको विरेन्द्रनगरमा सुरु भएको छ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले महाधिवेशन उद्घाटन गरेका हुन् । महाधिवेशन उद्घाटन गर्दै मन्त्री ज्वालाले होटल व्यवसायको सवलीकरण गरी आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताए ।
कर्णालीमा पूर्वाधार बिकासको गती बढाउन सके लगानी भित्र्याउन सकिने बताए । त्यसका लागि प्रदेश राजधानीसम्मको सडक चारलाइन बनाउने गरी प्रक्रिया अघि बढेको उनको भनाई छ ।
कर्णालीमा लागनीमैत्री वातावरण बनाउन, लागनी सुरक्षा गर्न र आवश्यक परे व्यवसायीहरुलाई कर छुटको समेत व्यवस्था गर्ने गरी प्रदेश सरकारले योजना बनाएको उनले बताए । कर्णालीमा पर्यटन प्रबद्र्धनको सम्भावना भएको भन्दै कर्णालीको पर्यटन बिकासका लागि होटल व्यवसायको बिकास र प्रबद्र्धन जरुरी भएको बताए । ‘कर्णालीमा थुप्रै पर्यटकीय सम्भावनाहरु भए पनि स्तरीय होटलको अभावले पर्यटकले सास्ती भोग्नु परेको छ’ उनले भने, ‘एक पटक रारा पुगेको पर्यटकलाई खान र बस्नकै समस्या हुन्छ ।’
कर्णालीमा होटल व्यवसायमा लगानीसंगै संस्कार र स्थानीय परिकारहरुको बजारीकरण गर्न जरुरी भएको उनको भनाइ छ । अधिवेशन शनिबार सम्म चल्ने महाधिवेशनमा देशभरिका ८० हजार होटेल व्यवसायीको प्रतिनिधित्व हुने गरी १५ सयभन्दा बढी प्रतिनिधि वीरेन्द्रनगर आएका छन् ।
होटेल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष अमृत भुजेलका अनुसार होटेल व्यवसायीको हक, हित, अधिकार संरक्षण र संवद्र्धनका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने
छ । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने अध्यक्ष भुजेलले जानकारी दिए ।






