Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

दैलेखमा गाउँपालिका अध्यक्षको अपहरण, श्रीमतीलाई सकुसल छोडियो

दैलेख ।

दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमा परेका छन् । शनिबार राति १२ बजेको समयमा घरमा आएको १५र१६ जनाको टोलीले शाहीलाई श्रीमतीसहित अपहरण गरेको शाहीका भाइ हस्तबहादुर शाहीले बताए ।

ठाटिकाँध गाउँपालिका वडा नं–२ शेरीपाटामा रहेको आफ्नै घरबाट उनीहरुलाई अपहरण गरिएको हो। अपहरण नेत्रविक्रम चन्द समूहले गरेको अनुमान गरिएको छ।

भाइ हस्तबहादुर शाहीसमेत केही दिनअघि अपहरणबाट मुक्त भएका थिए। दाइ भाउजु खोज्नु आफू बिहानै गुईच्याखर्क जंगलमा पुगेको र भाउजु इलालाई भेट्टाएको उनले बताएका छन्। ‘दाइलाई गुईच्याखर्क जंगलमा राखिएको छ। राजनीतिक मुद्दा भएकाले अपहरण गरिएको र २ र ३ दिनभित्र दाइलाई छाड्ने आश्वासन दिएर भाउजुलाई मुक्त गरे,’ उनले बताए।

अध्यक्ष शाहीलाई विप्लवका हतियारधारी कार्यकर्ताले जंगलमा राखेको उनले बताए। ‘उनीहरुले हामी विप्लवका कार्यकर्ता हौं, उहाँसँग सोधपुछ गर्नुछ भनेर छोड्न मानेनन्,’ शाहीले भने।

दैलेख जिल्ला प्रहरीका प्रमुख डिएसपी हरिबहादुर ओलीले अध्यक्ष शाही र उनको श्रीमतीको अपहरणको सूचना पाउनेबित्तिकै प्रहरी परिचालन गरिएको बताए। प्रदेश प्रहरी कार्यालय र जिल्लाबाट समेत खोजी तीव्र बनाइएको उनको भनाइ छ।