धत् ! काठमाडौं
धेरैको सपनाको सहर हो काठमाडौं । उहिले उहिले काठमाडौंलाई नेपाल भनिन्थ्यो । नेपाल पुग्नेहरु नेपाल्या पदबाट विभुषित हुन्थे । नेपाल पुग्न सहज थिएन । महिनौ लगाएर नेपाल पुगेकाहरुलाई गाउँघरमा ठूलै सम्मान हुन्थ्यो । अहिले काठमाडौं पुग्न त्यत्ति धेरै संघर्ष गर्नै पर्दैन । अर्थात् भनौं जो सुकैको पहुँचमा आयो काठमाडौं । प्रविधि र भौतिक विकासक्रमसँगै नेपालले फड्को मार्ने क्रममा भएका राजनीतिक परिवर्तनहरुले तत्कालिन नेपाल खाल्डोको रुपमा चिनिएको स्थानलाई काठमाडौंको रुपमा चिनाउन थाल्यो । तर पनि काठमाडांैको महत्व भने घटेन । राजनीतिक केन्द्रिकृतका कारण विकास पनि काठमाडौंमा भयो र हरेक भौतिक संरचनाहरु पनि काठमाडौंमा नै बने । देशको प्रशासनिक केन्द्र भएकाले पनि काठमाडौं काठमाडौं बन्यो ।

काठमाडौंमा शिक्षा आर्जन गर्नेहरुदेखि व्यापार व्यावसाय गरेर अर्थोपार्जन गर्नेहरु सबै बसेका छन् । देशभरका मान्छेहरु काठमाडौंसँग जोडिएका कारण काठमाडौंले आफ्नो दम्भ जमाईराख्यो । अर्को तर्फ राजा बस्ने ठाउँ भएकाले पनि यसको महत्व बढिरह्यो । देशको राजधानी भएकाले पनि यसको महत्वमा कमी आएन । राजाको गाउँमा पुगेको छु भन्दा पनि मान्छेले गर्वका साथ काठमाडौंको नाम उच्चारण गर्ने गरे । देशमा आएको राजनीतिक परिवर्तनका कारण काठमाडौंमा भएको सिंहदरबार गाउँमा पुगेको उद्घोष सरकारले नै ग¥यो । देशको सबैभन्दा ठूलो प्रशासनिक क्षेत्र सिंहदरबार नै गाउँमा आएपछि अब त गाउँ पनि काठमाडौं जत्तिकै महत्वपूर्ण होलान् भन्ने सबैलाई लागेको थियो । तर समयानुसार अझैँ त्यसो हुन सकेको छैन । मानव वस्ती विकासमा ध्यान नदिने हो भने गाउँहरु सहर हुन धेरै समय पर्खनु पर्ने अवस्था छ ।
तीन तहका निर्वाचन पछि बनेका तीनै तहका सरकार संचालकहरु सिंहको रुपमा गाउँमा देखा परे । ती सिंहहरु बस्नका लागि दरबार भने अझैँ पनि गाउँमा खडा हुन सकेका छैनन् । जसका कारण सिंहदरबारको अधिकार गाउँमा भन्ने नाराले पूर्णता र सार्थकता पाउन सकेको छैन । त्यसैले त स्थानीय तहका राजधानीहरु काठमाडौं जस्ता बन्न नसकेका होलान् ।
अहिले पनि गाउँमा बसेकाहरुलाई काठमाडौं साँच्चिकै ठूलै ठाउँ लाग्नु स्वभाविक हो । हरेक मान्छेले एक पटक काठमाडौं पुग्न पाएको भए हुने थियो भन्ने सोच्छन् । गाउँमा जाने हो भने सेतै कपाल फूलेकाहरु अहिले पनि काठमाडौंका बारेमा मज्जाले सुन्ने इच्छा गर्दछन् जो जीवनमा कहिल्यै काठमाडौं पुग्न पाएका छैनन् । कुनै समयमा राजा बस्ने ठाउँ कस्तो होला उनीहरुलाई कौतुहलता लाग्नु स्वभाविक हो । आराध्यदेव भगवान पशुपतिनाथको स्थान काठमाडौं साँच्चिकै सुन्दर, रमणीय, शान्त होला भन्ने उनीहरुलाई लाग्नु स्वभाविक पनि हो । ठूलो सहर भित्रको आमित्यताको बारेमा उनीहरु अलि अलि कल्पना मात्र गर्न सक्छन् । हुन त जमाना कहाँदेखि कहाँ पुगिसक्यो । प्रविधिले घरै बसेर विश्वमान चित्रलाई अवलोकन गर्न सक्ने बनाई सक्यो । चन्द्रमा टाढा नलाग्नेहरुका लागि काठमाडांै त घर आगन जस्तै होला । तर अहिलेसम्म काठमाडौं नदेख्नेहरुका लागि भने काठमाडौं साँच्चिकै कस्तो होला ? अहिलेसम्म काठमाडौं नपुग्ने को होला ? भन्ने प्रश्न पनि उठ्न सक्ला । तर नेपालका यस्ता दुरदराजका गाउँहरु छन् जहाँको अधिकांश बुढापाकाहरुले काठमाडौंका बारेमा सुनेका होलान् तर प्रत्यक्ष देखेका छैनन् ।
काठमाडौं सोचे जस्तो छैन । धेरै पटक काठमाडौसँग साक्षात्कार गरेको यो पंक्तिकार जति पटक काठमाडौंमा पुगेपनि काठमाडौंले आत्मियता प्रकट गर्न सकेन । पहिलो पटक काठमाडौं पुग्दा हराउँछु कि भन्ने डर लागेको थियो । काठमाडौंलाई विस्तारै चिन्दै र उसँग साक्षात्कार गर्दै जाने क्रममा आजभोली काठमाडौंले मलाई नै हराउँछ कि भन्ने डर लाग्छ । काठमाडौंमा चल्ने अत्याधिक सवारी साधनहरुलाई नियाल्ने क्रममा मनमा एउटा तर्कना उठ्यो । यी गाडिले प्रयोग गर्ने इन्धनको मूल्य महिनामा कति हुन्छ होला ? दैनिक कति पैसा हामीले विदेश पठाइरहेका छौ । महिनाको एकदिन मात्र गाडि चल्न बन्द गर्न सकेको भए कति पैसा स्वदेशमै जोगिने थियो होला ।
रत्नपार्कमा मान्छेको भीड । कोही रत्नपार्क हेर्नकै लागि त्यहाँ पुगेका । कोही व्यापार गर्न त्यहाँ पुगेका । कुनै समयमा निकै स्वर्णिम बनेको रत्नपार्क कुनै समयमा निक्कै दुर्गन्धित बनेको थियो । जे होस् नयाँ व्यवस्थापनले फेरिएछ रत्नपार्क । नयाँ बानेश्वरमा मान्छेको भीड । त्यो भीडमा भएका प्रत्येक मान्छेहरु काम परेरै ओहोरदोहोर गरिरहेका थिए वा म जस्तै काठमाडौं हेर्नका लागि मात्र हतार हतार दौडिरहेका थिए । महिनाको एक दिन मात्र उनीहरुलाई श्रमदानमा लगाउन सकेको भए कत्ति धेरै मात्रामा ज्यालामा जाने पैसा जोगिन सक्ने थियो । माइतीघर मण्डलामा नारा जुलुस गर्नेहरु ध्यान मग्न भएर पढ्न बसेको भए उनीहरुको परीक्षाको नतिजा राम्रै आउँदो हो । ती ब्यानर र प्ले कार्ड प्रिन्ट गर्नका लागि खर्चेको पैसा जोगाउन सकेको भए अनाथहरुको लागि शिक्षा आर्जन गर्ने कार्यमा कति सहयोग पुग्दो हो । तीनकुनेको बाटो हुँदै गौचरण पुग्ने क्रममा गाडिमा भएको भीडभाडमा अर्काको खल्तीमा हात हाल्नेहरुलाई सधैँको निम्ति काठमाडौंबाट हटाउन सकेको भए काठमाडौं सच्चा काठमाडौं हुने थियो होला ।
नयाँ बसपार्क । कुनै समयमा रत्नपार्क भन्ने वित्तिकै फरक नजरले बुझिन्थ्यो । अझ सोझो अर्थमा भन्ने हो भने रत्नपार्क भनेको रेडलाइट एरिया जस्तै हो भन्ने थियो सबैको मनमा । संचार माध्यममा पनि यसका बारेमा खुबै पढिएको थियो । यस पटकको काठमाडौं बसाईमा रत्नपार्कले अलिकति आफ्नो परिचय फेरेको पाइयो । क्या खुसी लाग्यो ।
मलेशियाको क्वालालाम्पुर जस्तो रहेन अब काठमाडौं भन्ने लाग्यो । हरेक घरका कोलियामा बसेर इशाराले बोलाउनेहरु मलेशियामा छन् । ठाडठाडै इज्जतको मोलमोलाई गर्नेहरु मलेशियामा छन् । थाइल्याण्डमा पनि छन् रे । अरु कुन कुन देशमा होलान् । तर रत्नपार्कमा भने छैनन् । जे होस् नेपालीहरु स्वाभिमानी हुन्छन् । कुनै समयमा जान अन्जान गलत कार्य गर्नेहरुले सम्झेछन् स्वाभिमान, लागेछन् दुःख गर्न र थालेछन् सुख पाउन । देशमा आएको गणतन्त्रले यिनीहरुलाई पनि दिएछ अलिकति मन अलिकति बुद्धि र अलिकति अपनत्व । धन्य छ गणतन्त्र ।
मनमा यस्तै प्रश्न यस्तै उत्तरहरु साटासाट गर्दै गौशाला, महाराजगञ्ज, सामाखुसी हुँदै गोंगबु बसपार्कमा पुग्नु थियो । दौडिरहेको थियो गाडि र गाडिसँगै यो पंक्तिकार पनि । फर्किनु थियो आफ्नै स्थानीय राजधानीमा । जति सक्यो छिटो छोड्न मन लागेको थियो काठमाडौंलाई । काठमाडौं पैसा हुनेहरुका लागि निर्माण भएको सहर जस्तै लाग्छ । सकिई सकिएको थियो व्यक्तिगत काम । अनि जोहो गर्नु थियो बस टिकटको । गोंगबुको बसपार्क छिर्नै लाग्दा एउटा आकाशे पुल । त्यो पुल माथि निक्कै संख्यामा मान्छेहरुको भीड । पहिले टिकट अनि अन्य ।
टिकटको जोहो गरे पश्चातको समय एकदमै फुर्सदिलो बन्यो मेरा लागि । कहाँ जाने, कता जाने केही टुंगो भएन । त्यति धेरै मान्छेहरुको भीडमा मलाई चिन्ने र मैले चिन्ने मान्छे कोही भेट्टाउन सकिएन । सवारी साधन र मान्छेले खचाखच भरिएको चक्रपथमा पुगेर काठमाडौंलाई फेरि नियाल्ने योजनाका साथ पंक्तिकार पनि पुग्यो त्यही आकाशे पुलमा जहाँ निक्कै संख्यामा मान्छेहरु थिए ।
त्यो आकाशे पुलमा धेरै मान्छेहरु ओहोर दोहोर गरिरहन्छन् भने करिब अढाई सयको संख्यामा भने स्थिर अवस्थामा रहन्छन् र नियाल्छन् काठमाडौंलाई । म जस्तै । म पनि त्यसरी नै स्थिर बनेर नियालिरहेको थिएँ काठमाडौंलाई । सडकमा सवारी साधनहरुको तछाडमछाडले बाटो काट्नै मुस्किल । पैदल यात्रीहरुको सहजताको लागि निर्माण गरिएको आकाशे पुल । गणतन्त्र आइसकेपछि यो पुलले पैदल यात्रीहरुलाई बाटो काट्न मात्र सहज बनाएको रहेनछ । यसले त आधा रत्नपार्क यतै सारेको रहेछ । पुलको एक छेउमा दुई जना दृष्टिविहिनहरु दुःखका गीत गाइरहेका थिए । मनमा दया भएकाहरुले माया गरेर उनीहरुलाई पाँच दश रुपैयाँ दान गर्दथे । मज्जाले नियालें मैले उनीहरुलाई । जन्मेपछि मर्नै पर्छ । तर सकेसम्म बाँच्न मन लाग्छ मान्छेलाई । बाँच्नकै लागि उनीहरुले आफ्ना पीडा पोखिरहेका थिए । गीतको माध्यमबाट पोखिएका पीडामा मल्हम लगाउन चाहनेहरुले दिएको दानबाट उनीहरुले छाक टार्ने गरेका छन् ।
पुलको मुनि हजारौं सवारी साधन गुडिरहेका । ती सवारी साधनलाई गन्तव्य तर्फ जान आदेश गर्दै सिठी फुक्दै प्रहरी । माथि फुलमा भने जब भीड बढ्छ अनि अरुहरुका खल्तीमा आँखा लगाउनेहरु चनाखो हुँदा रहेछन् । पाकेटमारहरुले कार्यस्थल बनाएका रहेछन्, उक्त स्थान । लाजको मर्नु ।
झट्ट हेर्दा १६ देखि २२ वर्षको उमेर । काठमाडौंको पुसे जाडोमा पनि कोही वान पिसमा कोही टु पिसमा । धुवाँ र धुलोबाट बच्न भन्दा पनि पहिचान लुकाउन प्रयोग गरिएका माक्स । चिन्नु न जान्नु घचेडी माग्नु भने झँै नचिनेका मान्छेलाई धकेल पकेल । हिड्दा नि ठोक्किनै पर्ने कस्तो व्यवहार । नचिनेका मान्छेसँग खुला रुपमै कुराकानी । अझ अर्को लाज मर्दो कुरा त त्यो आकाशे पुल खुलमखुला इज्जतको मोलमोलाई गर्ने स्थान पो रहेछ । त्यो पुलमा उभिएका सबै नकारात्मक सोच लिएका मान्छे थिएनन् । कोही ग्राहकको खोजीमा पुग्दारहेछन् त्यहाँ भने कोही प्यास मेटाउने जोहो गर्नका लागि पनि पुग्दारहेछन् । एकले अर्कालाई हेर्ने नजर नै गलत जस्तो । एउटा केटा र एउटा केटीले गरिरहेको कुरा सुन्नका लागि त्यतैतिर ध्यान दिनेहरुको पनि कमी थिएन । शरीर बेचेर पेट पाल्नेहरुले कर्मथलोको रुपमा चिनाएका रहेछन् त्यो पुललाई । सबैका लागि खुला रुपमा मोलतोल गर्ने अनि मोल मिले गन्तव्यमा जाने स्थानको रुपमा चिनिएको रहेछ त्यो पुल । हुन् त आफ्नो गन्तव्यमा पुग्न हतारिनेहरु पनि नभएका होइन त्यो पुल माथि । तर उनीहरु रोकिँदैन थे । विहान कलेज गएर शिक्षा आर्जन गर्ने १६ देखि २२ वर्ष उमेरका मात्र होइन झट्ट हेर्दा ५० पुगेका जस्तै देखिनेहरु पनि ग्राहकको पखाईमा बस्ने ठाउँ रहेछ त्यो । ती दृष्टि विहिनहरुको झैँ कला र गलाको माध्यमबाट मान्छेहरुलाई प्रभावित बनाएर मागेको भए सुहाउँथ्यो होला बरु । त्यति ठूलो सहरमा केही न केही काम गरेर खाएको भए बच्थ्यो होला इज्जत । तर शरीरको मोलमोलाई गर्नेहरुले खुला वेश्यालय जस्तो बनाएका रहेछन् काडमाठौंलाई । हग्नेलाई भन्दा देख्नेलाई लाज । धत् काठमाडौं ।






