Loading... आजः ९ भाद्र २०८३, मंगलवार । Tuesday 25th August 2026

शिक्षकको मोनिटरिङ्ग विद्यार्थीले गर्ने

सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर ६ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडास्कुलमा शिक्षकको मोनिटरिङ्ग विद्यार्थीले गर्ने भएका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ को सहयोगमा प्रत्येक कक्षाका कक्षा मोनिटरहरुलाई डायरी र कलम हस्तान्तरण गर्दै वडा अध्यक्ष मोतिप्रसाद कंडेलले भने, ‘शैक्षिक गतिविधिमा सुधार ल्याउनका लागि विद्यार्थी अनुशासित हुनु पर्दछ । तर शिक्षक पनि समयमा आउने नआउने र विदामा बस्नु परे विद्यार्थीलाई जानकारी गराउनु पर्ने कार्यहरु गर्नु पर्दछ ।’ विद्यार्थीले कक्षा छोड्ने गरेमा विद्यार्थीलाई पढाईमा नोक्सानी हुने बताउँदै चारैतिर सिसिटिभी क्यामेराको व्यवस्था भएकोले कुन विद्यार्थीले कस्तो कार्य गरिरहेको छ त्यसको अनुगमन गरिने वडा अध्यक्ष कंडेलले बताए । उनले थपे, ‘उत्कृष्ट मोनिटरलाई पुरस्कृत गर्ने व्यवस्था गर्छौ तर विद्यार्थीहरुले आफू र शिक्षक सबैको रेकर्ड राख्नु प¥यो ।’


आजका विद्यार्थी भोलिको देश हाक्ने कर्णधार भएकोले यी सम्पत्तिको जगेर्ना गर्नु र यिनलाई सही मार्गमा हिडाउनु सबैको कर्तव्य भएको वडा अध्यक्ष कंडेलको भनाई थियो । त्यसका लागि विद्यार्थी अनुशासित र लगतशील हुनु पर्ने उनको भनाई थियो ।

विद्यार्थी कक्षा छोडेर भाग्ने समस्याको समाधानका लागि विद्यालयले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक गणेशकुमार न्यौपानेले बताए । विद्यार्थीहरुले बाटो काट्दा हुने समस्या र ट्राफिक नियमहरुको बारेमा जानकारी दिँदै सामाजिक अभियान्ता अनिल ढकालले भने, ‘हामीले ट्राफिक नियमको पालना नगर्ने हो भने ज्यान समेत खतरामा पर्छ ।’

यसैगरि कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधिले सडक सुरक्षाका नियमहरुको बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । आफूले सिकेका कुरा अरुलाई सिकाउनु पर्ने र सडक छेउमा हिड्दा जहिले पनि दायाँ तिर हिड्नु पर्ने बताइएको थियो । कार्यक्रममा ६ नं. वडाका वडा सदस्य उपेन्द्र खड्का, कमला नेपाली, कर्मचारीहरु रेखा केसीलगायतको उपस्थिति रहेको थियो ।