सुर्खेतमा आत्महत्याको अवस्था डरलाग्दो : साढे पाँच महिनामा दुई सय घरेलु हिंसा
सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रकाशित गरेको पछिल्लो तथ्याँकलाई हेर्ने हो भने आत्महत्याको अवस्था डरलाग्दो रहेको छ । चालु आ.व. को साढे पाँच महिनामा आत्महत्या गर्नेको संख्या ४९ रहेको छ । जसमध्ये झुण्डिएर आत्महत्या गर्नेको संख्या ४२ रहेको छ भने विष सेवन गरेर ७ जनाले ज्यान गुमाएका छन् । विभिन्न कारणहरुले आत्महत्या गर्ने गरेको भएपनि आत्महत्या गर्नेहरुलाई मरिसकेपछि पनि समाजले कायरको रुपमा हेर्ने गर्दछ । जीवनमा समस्या आएपनि त्यसको सामना गरेर समाधान खोज्नुको साटो आत्महत्या गर्नेहरु कायर हुन् उनीहरुको जीवन निरर्थक जस्तै हुन्छ । आत्महत्यालाई रोक्नका लागि सरोकारवालाहरुदेखि परिवारका सदस्यहरुले समेत ध्यान दिन जरुरी छ । सानो कुरालाई ठूलो बनाउने र त्यसैबाट आत्महत्यासम्मको प्रयास समेत हुने गरेका छन् । कर्णाली प्रदेशमा सुर्खेत जिल्ला आत्महत्याका घटना हुने अग्रणी जिल्लाको रुपमा रहेको छ ।

ज्यान सम्बन्धिका घटनालाई हेर्ने हो भने कर्तव्य ज्यानमा ५, ज्यान मार्ने उद्योगमा ७, भवितव्य ज्यानमा ११, फुटकर ज्यानमा ११, विष सेवन गरेर ७, झुण्डिएर ४२, करेन्ट लागेर १ हातहतियारबाट १, झुण्डिएर आत्महत्या प्रयासमा ४ र सवारी दुर्घटनामा १४ घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आत्महत्याका कारणमा घरेलु हिंसा पनि प्रमुख कारणको रुपमा रहेको छ ।
यसैगरि जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जिल्लामा चालु आ.व. का साढे पाँच महिनाभित्र १ सय ६ वटा घरेलु हिंसाका घटनाहरु भएको पाइएको छ । देशमा बनेको देवानी र फौजदारी सहिंताका कारण पनि घरेलु हिंसा बाहिर आउने र न्यायका लागि प्रहरी तथा अदालतसम्म पुग्ने गरेका छन् । न्यायका लागि जिल्ला प्रहरी कार्यालयसम्म आएका घटनाहरुको संख्या मात्रै यति ठूलो छ भने समाजमै गुपचुपमा मिलाएका तथा बाहिर नै नआएका घटनाहरुको एकिन नै छैन ।
घरेलु हिंसाको मुख्य कारण मदिरा सेवनदेखि सम्पत्तिको कारणसमेत छन् । मदिरा सेवन गरि शारीरिक यातनाका ६५ घटनाहरु छन् भने ५१ घटनाहरु मिलापत्र भएको जनाइएको छ । जसमध्य ८ वटा घटना अदालती प्रक्रियामा भइसकेको र ६ वटा अनुसन्धान प्रक्रियामा रहेका छन् । मानसिक यातना गालि गलौज आरोप प्रत्योरापका घटना सबै भन्दा बढि १ सय ६ रहेका छन् । जस मध्य ९५ घटना मिलापत्र भएका छन् भने अदालती प्रक्रियामा ६ वटा रहेका छन् भने अनुसन्धानको प्रक्रिया ५ वटा रहेका छन् । सासु, ससुरा र बुहारी जुवाई सम्बन्धि विवाद ८ वटा रहेका छन् भने ६ मिलापत्र भएका छन् र २ वटा अनुसन्धानकै क्रममा रहेका छन् । नागरिकता विवाह दर्ता सम्बन्धि १६ वटा हिंसा भएका छन् भने १४ वटामा मिलापत्र भएको छ भने २ वटा अनुसन्धानकै क्रममा छन् । दाइजो सम्बन्धि हिंसा एउटा मात्र रहेपनि मिलापत्र भइसकेको प्रहरीले जनाएको छ । यसैगरि सम्पत्तिको बाँडफाँड तथा भोग चलन सम्बन्धि ४ वटा घटना भएकोमा १ वटा मात्र मिलापत्र भएको र ३ वटा अदालती प्रक्रियामा भएका छन् । यसरी घरेलु हिंसालाई हेर्दा जम्मा २०० सय घटना भएका छन् भने १ सय ६८ मिलापत्र भएका छन् । अनुसन्धानमा १५ वटा रहेका छन् भने १७ वटा घटना अदालती प्रक्रियामा पुगेका छन् ।
यसैगरि चालु आ.व. को साढे पाँच महिनाको अवस्थामा डाँका चोरी २, नकबजनी चोरी १, साधारण चोरी १८, जुवा ५, ठगी ७, लागु औषध २५, चन्दा संकलन १ र सरकारी छाप तथा दस्तखत किर्ते गर्नेमा १० वटा घटनाहरु भएका छन् । यसरी हेर्ने हो भने सुर्खेतमा लागु औषधका घटनाहरु धेरै रहेको देखिन्छ । साढे पाँच महिनामा २५ वटा लागु औषधका घटनाहरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको सुर्खेत लागु औषध ओसार पसार हुने ट्रान्जिट पोइन्टको रुपमा चिनिँदै आएको छ ।
महिला तथा बालबालिका सम्बन्धिको अपराधलाई हेर्ने हो भने बहुविवाह ९, जबरजस्ती करणी ३०, जबरजस्ती करणी उद्योग १३, अप्राकृतिक मैथुन १ र अपहरण तथा जबरजस्ती करणी १ रहेको जनाइएको छ ।
फैसला कार्यान्वयन तर्फ गरिएका प्रयासहरुमा चालु आ.व. को पौष २० गतेसम्मको विवरण अनुसार देवानी र फौजदारी मुद्दामा १२ जना पक्राउ परेका छन् भने ११ वर्ष ६ महिना २७ दिन कैद असुली भएको बताइएको छ । जसमा ५ लाख ४१ हजार जरिवाना असुली भएको जिल्ला प्रहरी कार्यालयको भनाई छ ।
पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालयले अवैध मदिरा नियन्त्रणलाई समेत तिब्रता दिएको छ । जसमा अवैध लोकल मदिरा १ हजार ८ सय ५९ लिटर, कच्चा पदार्थ ५ हजार ५ सय १० लिटर बरामद गरेको छ । यसैगरि ११ किलो मदिरा बनाउन प्रयोग गर्ने औषधी र ३६ वटा भाँडा समेत बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफू र आफू मातहतका निकायमा लैगिंक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्य संचालन विधि २०७५ बमोजिम पालिका स्तरीय सञ्जाल समिति गठन गरेर समेत कार्य गरिरहेको छ । यसरी सञ्जाल समिति गठन गरिएकामा वीरेन्द्रनगर नगरपालिकामा नगर प्रहरी कार्यालय सुर्खेत अन्तर्गत वीरेन्द्रनगरका १४ वटा वडाहरु, इलाका प्रहरी कार्यालय छिन्चु अन्तर्गत भेरीगंगा नगरपालिकामा १३ वटा वडाहरु, गुर्भाकोट नगरपालिकामा १४ वटा वडाहरु, इलाका व्रहरी कार्यालय लेकबेसी अन्तर्गत लेकबेसी नगरपालिकामा १० वटा वडाहरु, इलाका प्रहरी कार्यालय बाबियाचौर अन्तर्गत पञ्चपुरी नगरपालिकामा १० वटा वडाहरु, चौकु्ने गाउँपालिकाका १० वटा वडाहरु, प्रहरी चौकी बड्डिचौर अन्तर्गत बराहताल गाउँपालिकामा १० वटा वडाहरु, इलाका प्रहरी कार्यालय अवलचिङ अन्तर्गत चिंगाड गाउँपालिकामा ६ वटा वडाहरु र इलाका प्रहरी कार्यालय बादेपिपल अन्तर्गत सिम्ता गाउँपालिकामा ९ वटा वडाहरु गरेर ९७ वठा समिति गठन गरेको जनाइएको छ ।






