स्वास्थ्य राज्यमन्त्री रावतद्धारा अछामका विभिन्न स्वास्थ्य संस्थाको अनुगमन ।।
अछाम ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । अछामको प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार र जिल्ला अस्पतालको अनुगमन गर्दै स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले यसको कार्यान्वयनका लागि सरकारले काम गरिरहेका बताउनु भयो ।
ग्रामिण क्षेत्रका जनतालाई स्वास्थ्य पहुँचमा पु¥याउन आवश्यक रहेको भन्दै यसका लागि दरबन्दी अनुसार डाक्टर, भौतिक अवस्था सुधार तथा आवश्यक उपकरणको व्यवस्थाका लागि आफुले पहल गर्ने मन्त्री रावतको भनाई छ ।
अनुगमनको क्रममा जिल्लाका सरोकारवालालाहरुले जिल्लामा स्वाथ्यकर्मीको अभाव रहेको, भौतिक सुविधा नभएको तथा आवश्यक उपकरणको समेत अभाव रहेको औल्याएका थिए । यो समस्या समाधानका लागि लागि आफु काठमाण्डौँ फर्केपछि आवश्यक पहल गर्ने मन्त्री रावतले प्रतिबद्धता जनाउनु भयो । जिल्ला अस्पताल अछामको अनुगमन पश्चात आयोजित कार्यक्रममा बोल्दै मन्त्री रावतले आफुले अनुगमन गरेका स्वास्थ्य संस्थाको सुधार, आवश्यक चिकित्सकको दरबन्दी तथा आवश्यक उपकणको व्यवस्थाका लागि तत्काल पहल गर्ने बताउनु भयो ।
अस्पताल विकास समितिका अध्यक्ष प्रभुनाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अस्पतालका निमित्त सुपरिटेन्डेन्ट मनोज बिष्टले जिल्लाको स्वास्थ्य अवस्था तथा जिल्ला अस्पतालको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । अछाममा मेडिकल सुपरिटेन्डेन्ट सहित ३५ स्वास्थ्यकर्मीको अभाव रहेको जानकारी गराउनु भएको थियो । अनुगमन टोलीका सदस्य प्रतिनिधि सभा सदस्य यज्ञ बोगटीले दुर्गम क्षेत्रका नागरिक आधारभूत स्वास्थ्य सेवाबाट समेत बञ्चित हुने अवस्था रहेकाले त्यसको व्यवस्थानका लागि मन्त्री रावतलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य भरत साउँद, जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवर, मंगलसैन नगरपालिकाका प्रमुख पदम बोहरा, उपपप्रमुख सरिता उपाध्याय, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, प्रहरी प्रमुख डीएसपी दीपक भारती जिल्ला रेडक्रस सोसाईटीका सभापति रत्न प्रसाद ढुंगाना लगायतको सहभागिता रहेको थियो ।






