Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

देखासिकी र संगतले बिग्रिदै युवापुस्ता

सुर्खेत ।
पछिल्लो समयमा कुलतका कारण संस्कारमा समेत बाधा पर्न गएको छ । कुलतमा फसेकाहरुले आफ्नो संस्कार समेत बिर्सिने गरेका कारण उनीहरु अनुशासनहिन छन् । कुनै पनि हालतमा आफ्नो स्वार्थ पूरा गर्नुपर्ने भएकाले पनि उनीहरुले अनुशासनको पाटोलाई बिर्सने गरेको जानकारहरुको भनाई छ । सानालाई गर्नु पर्ने माया र ठूलालाई गर्नु पर्ने आदर नै भुलेपछि समाज संस्कारिक बन्न सक्दैन ।

Image result for कुलतमा युवापुस्ता
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत लागु औषधको ट्रान्जिट पोइन्टको रुपमा चिनिने गर्दछ । प्रहरी र प्रशासनले लागु औषध नियन्त्रणमा जतिसुकै सफलता हात पारेको बताएपनि लुकिछिपि लागु औषधको कारोबार गर्नेहरुले युवा पुस्तालाई भित्रभित्रै ध्वस्त बनाइसकेका छन् ।

सुरुमा देखासिकीले कुलतमा फस्नेदेखि साथीहरुको संगतका कारण पनि युवापुस्ता कुलतको शिकार बन्दै गइरहेको छ । धुम्रपान तथा मध्यपान त सामान्य जस्तै भएको कर्णालीको राजधानीमा चरेश, हिरोइन जस्ता पदार्थहरुको समेत विगविगि रहेको छ । विशेष गरि सुर्खेत पस्ने मुख्य दुईवटा नाकाहरु छन् । एउटा हर्रे र अर्को पश्चिमीनाका पञ्चपुरी ।

यी दुई नाकामा प्रहरीले कडाईका साथ चेकजाँच गर्ने हो भने लागु औषध नियन्त्रणमा केही हदसम्म नियन्त्रणको काम हुन सक्थ्यो । यिनै नाकाहरुमा प्रहरीको फितलो चेकजाँच र देखाउनै लागि मात्र काम गर्ने भएका वीरेन्द्रनगर लागु औषध ओसारपसार गर्ने स्थानको रुपमा चिनिन थालियो । लागु औषधको कारोबारलाई नियन्त्रण नगर्ने हो भने युवा पुस्ता नराम्रोसँग यसमा फस्ने सम्भावना त छँदैछ अर्कोतर्फ देशले आशा गर्न लायकको जनशक्ति धरापमा पर्नेछ ।

नेपाल सरकारले निश्चित क्षेत्रलाई सार्वजनिक क्षेत्रको रुपमा परिभाषित गरेको छ । सरकारी कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्य सम्बन्धी संस्था, विमानस्थल, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना कार्यस्थल, चलचित्र घर, नाटकघर, होटल, रिसोर्ट, रेष्टुरेन्ट, बार, भोजनालय, चमेना गृह, छात्राबास, रंगशाला, कर्भड हल, पौडी पोखरी, डिपार्टमेन्टल स्टोर, धर्मशाला तथा टिकट काउन्टर आदिमा धुम्रपान तथा सूर्ती सेवन गर्न पाइदैन । निषेधित यी स्थानमा धुम्रपान गरे तत्काल १०० रुपैयाँसम्म जरिवाना हुन सक्छ । नियमनकारी निकायले सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने सूचना सबैले देखिने ठाउँमा टाँस गर्नुपर्छ । सार्वजनिक स्थलमा लाइटर, सलाईलगायतका सामग्री राख्न समेत पाइँदैन त्यस्तै फुटकर रुपमा चुरोट, बिंडी वा सिगरेटका खिल्ली वितरण गर्न पाइदैन । विक्रेताले अठार वर्ष नपुगेका व्यक्ति, गर्भवती महिलालाई सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाइदैन । कोही बिक्रेताले कुनै क्रेताको उमेरको बारेमा यकिन हुन चाहेमा निजसँग आवश्यक प्रमाण माग गर्न सक्छ । शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द, बृद्ध आश्रम , अनाथालय, र नेपाल सरकारले तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको पसलबाट सूर्तिजन्य पदार्थको विक्री वितरण गर्न पाइदैन ।

निःशुल्क रुपमा धुम्रपान तथा सूर्तीजन्य पदार्थको वितरण वा उपहारका रुपमा दिन पाइदैन । सूर्तिजन्य पदार्थलाई बिक्रि स्थलमा सजावट गर्न तथा त्यस्ता पदार्थको प्रदर्शन गर्न पाइदैन । ऐन विपरीत सूर्तीजन्य पदार्थको बिक्री गरेमा दश हजार १०,००० सम्म जरिवाना हुनेछ । सूर्तिजन्य पदार्थको हानीका बारेमा सूचना टाँस नगरेमा ५,००० रुपैयाँसम्म जरिवाना हुनेछ ।

सरकारले सबै सार्वजनिक स्थान र सवारी साधनमा धुमपान र मद्यपान सेवनलाई पूर्ण रुपमा रोक लगाइसकेको भएपनि व्यवहारमा भने त्यसलाई लागु गरिएको छैन । सूर्तीजन्य पदार्थको नियमन र नियन्त्रणका लागि सरकारले छुट्टै ऐन, नियमावली र निर्देशिका समेत बनाएको छ । तर, यी नियमहरु भने अझैसम्म कार्यान्वयनमा आउन सकेको छैन । उक्त कुराहरु कार्यान्वयनमा आउन नसकेका कारणले नै होला सुर्खेतको बसपार्कमा बुङबुङ चुरोटको धुवाँ उडाउनेहरु सानका हिडिरहेका हुन्छन् ।

गुट्काजन्य पदार्थमा किन हुँदैन कडाई

सुर्खेतका अधिकांश युवा पुस्ताका मुख कुनै न कुनै सूर्तिजन्य पदार्थले भरिएको हुन्छ । सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुसँग कुरा गर्दा समेत समस्या हुन थालेको छ । सूर्तिजन्य पदार्थको सेवन कम गराउनका लागि सचेतनामूलक कार्यक्रमसँगै कानूनी रुपमा समेत कडा व्यवस्था हुनुपर्दछ । कतिपय युवाहरु देखासिकीका कारण कूलतमा फसेका छन् भने कतिपय विभिन्न कारणले अभिभावक विहिन बनेका युवाहरु । अझ सुर्खेतमा हेर्ने हो भने सडक बालबालिकाहरुमा यो समस्या झनै डरलाग्दो अवस्थामा छ । पहिल्लो समय सहयोगापेक्षी मानवरहित सडकको घोषणा गरिएको भएपनि रातीको समयमा सडकमा बसेर चुरोटको धुवाँ उडाउने र नशालु पदार्थको सेवन गर्नेहरुको भने कमी छैन ।

सुर्खेतमा भारतमा बनेका अवैध सूर्तिजन्य पदार्थहरुको छ्यापछ्याप्ती छ । प्रहरी प्रशासन नै त्यसको कडाईका लागि पहलकदमी चाल्दैन । भारतबाट आयातित सूर्तिजन्य पदार्थहरु अधिकांश भन्सार छलेर लुकीछिपी चोर बाटोबाट ल्याइएका हुन्छन् । जसको खुलेआम विक्री वितरण भइरहेको छ । त्यसलाई रोक्नका लागि न त राजश्व कार्यालयले कुनै पहलकदमी चालेको छैन । सरकारले तोकेका सार्वजनिक स्थलहरुको नजिकमा समेत गुट्काजन्य पदार्थको विक्रीवितरण भइरहेको छ । साना घुम्टीदेखि ठूला खुद्रा पसलहरुमा होस् वा रेष्टुरेण्ट तथा कटेजहरुमा होस् खुला रुपमा यसको व्यापार भइरहेको छ । वीरेन्द्रनगर पस्ने सुब्बाकुनाको नाका र बाङ्गेसिमलाको नाकामा मात्र प्रहरीले कडा रुपमा चेकजाँच गरिदिने हो भने यस्ता पदार्थको आयातमा समेत कमी आउने थियो भने अर्कोतर्फ राजश्व छलि गर्नेहरु पनि कानूनी दायरामा आउने थिए । जसले गर्दा मासिक भारत तर्फ जाने अर्बौ रकम समेत जोगिने थियो ।

यस्ता छन् धुम्रपानका असरहरु

जुनसुकै उमेर समूहको मानिसले धुम्रपान गरेपनि त्यसले असर गर्छ नै । अझैँ युवाहरुले सेवन गरेको धुम्रपानले त्यो कलिलो स्वास्थ्यमा गम्भीर असर गर्ने नै भयो । धुम्रपानको सेवनले मानव स्वास्थ्यमा पार्ने गम्भीरहरुमा १–२ वटा सिग्रेटले पनि हर्ट अट्याक हुन सक्ने, सूर्ती सेवन गर्ने महिलालाई बाँझोपनको खतरा, क्यान्सर, हृदयघातलगायत मुटुको समस्या अत्यधिक देखिने, चुरोट पिउने व्यक्तिको छालामा समस्या हुने, चाउरी पर्ने, सुख्खा हुने, निकोटिनले शरीरमा कोलेस्टेरोलको मात्रा बढाउने, गर्भवती महिलाले चुरोट सेवन गर्दा बच्चाको पेटमा नै मृत्यु हुने खतरा । यदि जन्मिए पनि सुस्त मनस्थिति, कम तौल हुने जोखिम, जिब्रोको स्वाद लिने क्षमता र नाकको सुँघ्ने क्षमता कम हुने, शुक्रकिटको क्षमता घटाउने, चुरोटमा पाइने निकोटिन अल्कोहल र हेरोइन भन्दा बढी लत लाग्ने खालको हुन्छ । यसैगरि हड्डी कमजोर हुने, दाँत बिग्रिने, मुख गन्हाउने जस्ता समस्याहरु देखा पर्दछन् ।

तस्विर : गुगल बाट लिइएका  हुन् ।