कविता “त” भन्लास “त” – बिष्णुकुमार खड्का
“त” भन्लास “त”
क्रान्तिप्रतिको गद्दारी हुनेछ,
समाजवाद बिरोधी कदम हुनेछ,
आचारसंहिता बिपरित हुनेछ,
संविधान मै समाजवाद
त्यसै लेखिएको होइन ,
राम्रोसँग संविधान पढेस !
दस्तावेज पढेस !
सर्कुलर पढेस !
समाजवादको यात्रा ,
आफैंबाट सुरु हुन्छ,
आफ्नै घरबाटै ल्याउने हो ,
समादबाद !
बोली भाषा बिगार्लास,
ख्याल गरेस है बाबू !
कम्युनिस्ट कुल घरानमा
सभ्य बन्नुपर्छ ,
सभ्यता सिकाउनु पर्छ ,
कसैलाई होच्याउनु हुदैन ,
कसैलाई हेप्नु हुदैन ,
हेपेको चुपचाप सहनुपर्छ,
शब्द शब्द केलाएर बोल्नुपर्छ ,
लडाइँ झगडा , बादबिबाद नगर्नु !
द्वन्द्ववाद बिपरित हुन्छ ।
सबैसङ्ग नमो नम गर्नु !
आफुभन्दा माथिका लाई
धनुष्टङ्कार चढाउनु !
तलकालाई टाङ्गमुनि छिराउनु !
धर्म संस्कृतिको रक्षा गर्नुपर्छ,
रुद्री, पुजा पाठ लगाउनुपर्छ ,
अन्यथा , हेर बाबू !
भौतिकवाद बिरोधी हुनेछ ।
अग्रज कम्रेडहरुको फोटो टास्नु !
सर्लक्क परेको मुर्ती बनाउनु !
प्रसन्न हुने स्तुतीगान रच्नु !
भजन-किर्तन जपिरहनु !
धुप अगरबत्ती घुमाइरहनु !
फुल नैबद्ध्य चढाइरहनु !
सभ्य र सुसस्कृत बनेस !
ख्याल गरेस है बाबू !
“त” भन्लास “त” ।
।।१।।
“म” भनेस “म”
पार्टी र सत्ताका पद आउलान,
कमिसन र ठेक्कापट्टा मिल्लान,
सुरा सुन्दरी भेटिएलान,
देश बिदेश घुम्ने अवसर आउलान ,
सन्धी सम्झौतामा हस्ताक्षर गर्नु पर्ला ,
चनाखो बनेस है बाबू ,
नचुकेर,
नझुकेर,
नलुकेर,
“म” भनेस “म” !
सुखी बन्नु छ,
समृद्द बन्नु छ,
सुखी नेपाली बनाउनुछ,
समृद्ध नेपाल बनाउनुछ,
सुरु आफैंबाट गर्नुछ,
आफ्नै घरपरिवारबाट गर्नुछ !
एक घर, एक रोजगार ।
गाउँ गाउँमा सहकारी,
घर घरमा भकारी ।
कम्युन बनाउने हो ,
समाजबादको अभ्यास गर्नुछ ,
सुरु आफैबाट गर्नुछ ,
त्यसैले,
पद, पैसा र प्रतिष्ठा देख्नासाथ ,
“म” भनेस “म” ।
उद्ध्योगधन्दा खोल्लास,
उत्पादनसङ्ग जोडिएलास ,
उद्ध्यमी बन्लास ,
अरुलाई उद्ध्यमि बनाउलास ,
काम गर्लास, काम !
कुरा गरेस बाबू कुरा ।
गाउँ गाउँमा छिरेस ,
बस्ती बस्तीमा पसेस,
कार्यकर्ता जम्मा गरेस,
भाषण दन्काएस, घन्टौसम्म !
ताली खाएस !
गाली गरेस !
अरुको होस उडाएस भाषणमै !
देश बनाउनुछ ,
सुरु आफैंबाट गर्नुछ !
काम होइन कुरा गर्नुछ ।
त्यसैले ,
“त” होइन “म” भनेस !
“त” भन्लास “त” !
“म” भनेस “म”।






