कानूनलाई अगाडि राखेर काम गर्छुः प्रजिअ न्यौपाने
सुर्खेत ।
भरखरै सुर्खेतको प्रमुख जिल्ला अधिकारीको रुपमा सुर्खेत आइपुग्नु भएका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कानूनलाई अगाडि राखेर काम गर्ने बताउनु भएको छ । पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा प्रजिअ न्यौपानेले यस्तो बताउनु भएको हो ।
भेटघाट कार्यक्रममा प्रजिअ न्यौपानेले भन्नुभयो, ‘शान्ति सुरक्षा, सु व्यवस्था कायम गर्ने जिम्मेवारी लिएर आएको छु पूरा गर्छु ।’ संस्थागत रुपमा भइरहेका राम्रा कामहरुलाई निरन्तरता दिने बताउँदै उहाँले आफ्नो सुर्खेत बसाईमा थप राम्रा कामको सुरुवात गर्ने बताउनु भयो । सुशासन सामाजिक हित र न्यायका लागि काम गर्नु पर्ने कुरालाई विशेष जोड दिँदै प्रणालीको विकास गर्न सके काममा सफलता मिल्ने बताउनु भयो ।
कर्णाली प्रदेश सम्पदा, इतिहास, संस्कृतिमा समेत उन्नत भएकोले यसलाई सदुपयोग गरेर अगाडि बढ्न सके कर्णाली समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभयो । सुर्खेत कर्णाली प्रदेशको राजधानी समेत भएकोले कानून कार्यान्वयनमा कुनै कमीकमजोरी हुन नदिने बताउनु भयो ।
कानून भन्दा कोही पनि माथि नहुने कुरालाई अंकित गर्दै प्रजिअ न्यौपानेले पारदर्शी भएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
यस भन्दा अगाडिका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले अतिक्रमित सरकारी जग्गा फिर्ता, नदीजन्य पदार्थको उत्खनन्मा रोक, बजार अनुगमनमा तिब्रताका कार्य गरेका थिए । ती कार्यहरुले निरन्तरता पाउलान् कि नपाउलान् सुर्खेती जनताले चासोका साथ हेरिरहेका छन् ।







