Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

दोश्रो कर्णाली एक्सपोमा परम्परा र आधुनिकताको मिश्रण हुने

सुर्खेत ।

आगामी फागुन ६ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरु हुने दोश्रो कर्णाली एक्सपो सार्वजनिक निजी सहकारी साझेदारीको ऐतिहासिक उदाहरण बन्ने विश्वास व्यक्त गरिएको छ । सरकार, निजीक्षेत्र र सहकारी समेतको संयुक्त सहकार्यमा पहिलो पटक आयोजना हुन लागेको अर्गानिक कृषि, उद्योग, पर्यटन, घरेल’, हस्तकला, सांस्कृतिक तथा व्यापार महोत्सव आयोजना हुनु नै पहिलो उपलब्धि भएको भन्दै यस्तो विश्वास व्यक्त गरिएको हो ।

महोत्सवको मुख्य आयोजक सुर्खेत उद्योग वाणिज्य संघले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको साझेदार निकायहरु बीचको संयुक्त बैठक गरेको छ । बैठकमा महोत्सवको आयोजक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले भारतको सिक्किमका कृषिमन्त्री, कृषिविज्ञ र अर्गानिक अभियान्ताहरुलाई आमन्त्रण गर्ने तयारी भइरहेको जानकारी दिए ।

कृषि क्षेत्रमा व्यापक प्रगति गरी घोषित छिमेकी मुलुक भारतको सिक्किम राज्यका कृषिमन्त्रीसंगै अन्य अर्गानिक अभियन्ता र कृषिविज्ञलाई आमन्त्रण गर्न लागिएको उनले बताए । अर्गानिक अभियन्ता र कृषिविज्ञको उपस्थितिमा महोत्सव अवधिमै अर्गानिक कृषि सम्मेलन पनि आयोजना गर्ने कृषि मन्त्रालयको तयारी रहेको छ ।

२०७४ फागुन ६ गते बसेको कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद बैठकले प्रदेशलाई अर्गानिक बनाउने भनी गरेको निर्णयलाई कार्यान्वयन गर्न पनि एक्सपो प्रभावकारी र सफल हुने विश्वासपनि सचिव भारीले व्यक्त गरे । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमृत वीसीले तीन खम्बे अर्थनीतिका प्रमुख साझेदार तीन वटा क्षेत्रले सहकार्य गरेर त्रिपक्षीय एकताको सन्देश दिएको भन्दै यो आफंैमा उपलब्धि भएको दाबी गरे ।

सरकार, निजी क्षेत्र र सहकारीबीच प्रभावकारी समन्वय र सहकार्य भए आर्थिक समृद्धिको गन्तब्य हासिल हुने भन्दै यो तीनै पक्षको जिम्मेवारी भएको उनले उल्लेख गरे । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक धनबहादुर रावतले नयाँ नौला प्रविधि मात्र नभई परम्परागत सीप,कला र अर्गानिक रैथाने वालीहरुपनि समेटिनु उदाहरणीय भएको टिप्पणी गरे । प्रवेश गेटका रुपमा लण्डन ब्रिज र सेल्फी पोइन्टका रुपमा बुर्ज अल अरबसंगै कर्णालीका रैथाने वालीहरुको स्वाद र हलोकोदालो समेत एकै ठाउँ समेटिनु निकै दुर्लभ र ऐतिहासिक हुने उनको भनाई थियो ।

यस्तै कृषक समूह महासंघ कर्णालीका अध्यक्ष सन्तबहादुर केसीले कृषकहरुका उत्पादन एकैचोटी धेरै विक्री भएर स्टल नै रित्तिने वा विक्री नभएर सडेर जाने अवस्था नआउनेतर्फ आयोजकले ध्यानदिनुपर्ने सुझाव दिए । बैंठकमा संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का महासचिव लक्ष्मण कंडेललगायत सरोकारवालाहरुले आ–आफ्नो भनाई राखेका थिए ।