विद्यालयमा खाना महोत्सव
सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ मा रहेको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले खाना महोत्सवको आयोजना गरेका छन् ।

जङ्कफुट न्यूनिकरणमा हाम्रो अभियान, आफ्नो घरको खाना स्वास्थ्यको पहिचान भन्ने मूल नाराका साथ विद्यालयको सहयोगमा विद्यार्थीहरुले खाना महोत्सवको आयोजना गरेको विद्यालयका शिक्षक मिनराज पन्तले जानकारी दिए ।

कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले पाक शिक्षाको समेत आयोजना गरेर खिर, पकौडा, चिकेन विरियानी, चप, जेरी जस्ता परिकारहरु बनाई विक्री समेत गरेका छन् । उनीहरुले कृषि खेती अन्तर्गत उत्पादन गरेका तरकारी जन्य वस्तुहरुको प्रदर्शनीका साथै आफूहरुले निर्माण गरेका हस्तकला र चित्रकलाको समेत प्रदर्शनी गरेका छन् ।
साथै विद्यार्थीहरुले साहित्यिक रचनाहरु वाचनका गरेका छन् भने अबदेखि जङ्कफु्ट नखाने पनि बताएका छन् ।








