Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

बसुन्धरा माविको ६९ औँ अभिभावक भेला

अछाम ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका पूर्व प्रदेश कमिटि सदस्य बम बहादुर विसीले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने बताउनु भएको छ । तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ भैरबस्थानमा रहेको  बसुन्धरा मावि थाल्पाटाको ६९ औँ अभिभावक भेलामा प्रमुख अतिथिको आशनबाट बोल्दै बिसीले विद्यालयको बृहत्तर हितका लागि सबै सरोकारवालाका साथ आवश्यक पर्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर बिसीको अध्यक्षतामा भएको भेलामा नेता बिसीले बसुन्धरा मावि तथा जिल्लाका अन्य विद्यालयको विकासका लागि सांसद विकास कोष, प्रदेश सरकार लगायतबाट सहयोग भैरहेको भन्दै योजनालाई प्रभावकारी बनाउन अभिभावकले सहयोग गर्नुपर्ने बताउनु भयो ।

भेलाले पुनः डम्बर विसीको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति समेत गठन गरेको छ ।

सर्वसम्मत रुपमा चयन भएको समितिका सदस्यमा प्रसादसिंह बुढा, पुनादेवि बुढा, दुर्गा टमट्टा, पदम बहादुर साउँद, अमृता बुढा, पदम बहादुर विसी, र सदस्य सचिवमा प्रधानाध्यापक बम बहादुर विष्ट रहनु भएको छ । यस्तै भेलाले लिलाराज भण्डारीको अध्यक्षतामा शिक्षक अभिभावक संग पनि गठन गरेको छ । जसको सदस्यमा बिसे तिरुवा, हर्क तिरुवा, देबसरा बुढा, मैसरादेवि बुढा, पदम बुढा, जयबहादुर बुढा, देवसरा टमट्टा निर्वाचित भएका छन् ।

निर्वाचित व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्षले आफ्नो कार्यकालमा विद्यालयलाई थप व्यवस्थित, सुदृढ र नमुनायोग्य बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । त्यसअघि भएको अभिभावक भेलामा वडा अध्यष पदम बहादुर विसी, नेकपा जिल्ला कमिटि सदस्य शिबबहादुर विसी, प्रेम बहादुर बुढा, पूर्व शिक्षक अर्जुनसिंह बुढा, शिक्षक तिलक शर्मा, वडा सचिव बिन्दुदेवि बुढा लगायतले मन्तब्य राख्नुभएको शिक्षक राजबहादुर विसीले जानकारी दिनुभयो ।