Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

नेपालकाे भू धरातलीय हिसाबले राजसंस्था नेै आवश्यक– कमल थापा

सुर्खेत ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालका लागि राजसंस्था नै आजको आवश्यता भएको बताएका छन् । सत्तारुढ दलले अहिले संविधान संशोधन गर्न खोजिरहेको सन्दर्भमा आपत्ति जनाएका छन् । उनले नेकपाले संविधानको मर्म विपरित संशोधन गरी आफ्ना नेताहरुलाई अवसर दिन खोजेको आरोप लगाए । ‘संविधान संशोधन नै गर्ने भए ८० प्रतिशत हिन्दु धर्मावलम्वी भएको नेपाललाई हिन्दु राष्ट्र बनाई राजसंस्थाको पुर्नस्थापना गर्नुर्पयो, संविधान निर्माताको परिकल्पना र मर्म निर्वाचन हारेकालाई प्रधानमन्त्री बनाउने होइन’ उनले भने । त्यस्तै प्राविधिक विषयहरुलाई संशोधन गरेर मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसिसी) पारित गर्नुपर्ने उनले बताएका छन् ।
पार्टीको निर्वाचन अभिमुखीकरणका लागि सुर्खेत आएका थापाले सत्तारुढ दलभित्रका आपसी झगडा र विवादका कारण विभिन्न भ्रमपूर्ण अभिव्यक्ति आएको भन्दै एमसिसीको विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

एमसिसी सम्झौताका लागि राप्रपाको पनि भूमिका रहेको बताउँदै अध्यक्ष थापाले अहिलेका सत्तारुढ र प्रतिपक्ष दलका जिम्मेवार व्यक्तिहरु आफूले गरेको सम्झौतामा अडिग हुन नसकेको टिप्पणी गरे ।

पार्टी एकताको सन्दर्भमा उनले आफूहरु एकताको लागि सदैव तयार रहेको बताए । ‘हामीबीच पार्टीको सिद्धान्त, विचार, चुनाव चिन्ह, नेतृत्व, संरचना सबैमा सहमति भइसकेको छ, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीजीले केही समय माग गरेका कारण रोकिएको छ’ उनले भने। थापाले आफूहरु अहिले संगठन निर्माणमा जुटेको बताए ।

संविधानको रक्षा र संसदको नियन्त्रणमा रही जनता केन्द्रित शासन प्रणालीसहितको राजसंस्था ल्याउन आफूहरु लागेको उनको भनाइ छ ।
राजसंस्थालाई नयाँ र लोकतान्त्रिक तरिकाले स्थापित गर्नुपर्नेमा उनले जोड दिए । सार्वभौम सत्तालाई बचाउन बलियो राष्ट्रवादी संस्था आवश्यक रहेको उनको भनाइ छ । ‘संसद र संविधानको रक्षा गर्ने व्यक्तिलाई नै राजा बनाउने व्यवस्थालाई हामीले परिकल्पना गरेका छौं,’ उनले भने, ‘संसद र संविधानले अयोग्य ठहर्याएमा राजा फेर्न सकिनेगरी हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रको पक्षमा आवाज उठाइरहेका छौं ।’