निबन्ध प्रतियोगीहरुलाई पुरस्कार वितरण
सुर्खेत ।
यही फागुन १२ गते आयोजना भएको कर्णाली प्रदेश स्तरीय निबन्ध प्रतियोगीताका निबन्ध प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा ‘अर्गानिक कृषिको महत्व, आवश्यक, सम्भाव्यता र चुनौतिकहरु’ विषयक निबन्ध प्रतियोगीता सम्पन्न भएको थियो ।

निबन्ध प्रतियोगीतामा प्रथम स्थान हासिल गर्न सफल जनज्योति नमुना माध्यमिक विद्यालय बराहताल ५ का खुमन शर्मालाई नगद २० हजार, द्वितीय स्थान हासिल गर्न सफल हिमालय माध्यमिक विद्यालय चौरजहारी ११ रुकुम पश्चिमका हिमाल वलीलाई नगद रु १५ हजार, तृतीय स्थान हासिल गर्न सफल श्री कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर ७ सुर्खेतका लक्ष्मी ढकाललाई नगद रु १० हजार र सान्त्वना स्थान हासिल गर्न सफल जनज्योति नमुना माध्यमिक विद्यालय बराहताल ५ सुर्खेतका नविना कुमारी भण्डारी र शिव जन माध्यमिक विद्यालय श्रीनगर सल्यानका सिर्जना देवकोटालाई जनही नगद रु ७ हजार ५ सयका दरले पुरस्कार तथा प्रमाण वितरण गरिएको थियो ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले पुरस्कार वितरण गर्दै निबन्ध प्रतियोगीतामा सहभागी हुने सबैलाई धन्यवाद दिँदै स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री केसीले भन्नुभयो, ‘कर्णालीलाई कसरी अर्गानिक बनाउन सकिन्छ भन्ने बहसको सुरुवात भइसकेको छ । अर्गानिक कृषि उत्पादनको महत्वलाई बुझाउनका लागि पनि यस्ता कार्यक्रमहरु आवश्यक रहेका छन् । कर्णालीलाई समृद्ध बनाउनका लागि अर्गानिक कृषि उत्पादन महत्वपूर्ण छ ।’ कर्णालीको गरिबी हटाउन, उत्पादनलाई प्रवद्र्धन गर्न र भविष्यमा डलर आम्दानी गर्न समेत कृषिले विशेष भूमिका खेल्ने उहाँको भनाई थियो ।
पढेको कुरालाई व्यवहारमा उतार्नका लागि विद्यार्थीहरुलाई अनुरोध गर्दै जीवन र व्यवहारमा लागु हुने गरि कृषि मन्त्रालयले कार्यक्रमहरु ल्याएको मन्त्री केसीले बताउनु भयो ।

लेखनको माध्यमबाट कर्णालीको अर्गानिक विषयमा आफूहरुले भाग लिन पाएको खुसी व्यक्त गर्दै पुरस्कृत विद्यार्थीहरुले आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रम कृषि मन्त्रालयका कृष्णदेव गिरीको अध्यक्षतामा भएको थियो भने बखत बहादुर खड्काले संचालन गर्नुभएको थियो ।








