Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

यसरी ठगिन्छ राजश्व

सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानीको रुपमा विकसित भएको छ । राजधानीको रुपमा विकसित भइसकेपछि यहाँको जनधनत्व तथा व्यापारिक चापमा बृद्धि हुनु स्वभाविकै हो । व्यापारिक चापमा बृद्धि भएसँगै संकलन हुने राजश्वमा समेत बृद्धि हुनु पर्ने हो तर पनि खासै कर्णालीमा त्यसो हुन नसकेको छैन । सरकारलाई राजश्व छल्नेहरुले अनेक उपायहरु अपनाईरहेका छन् । त्यसको सजिलो उपायको रुपमा ठूला व्यापारीहरुले विल मिलान गर्ने र राजश्व ठगी गर्ने गरेका छन् भने साना व्यापारीहरुले व्यावसाय नै दर्ता गर्दैनन् ।

तस्विर : गुगल बाट लिइएको हो |

व्यावसायलाई स्थायी लेखा नम्बर वा भ्याटमै दर्ता गरेका पसलहरुले पनि सरकारी कार्यालयहरुमा बाध्यात्मक परिस्थितिका कारण बाहेक अन्य सर्वसाधारणहरुलाई विल दिँदैनन् । उनीहरु विल बनाउने तर च्यातेर फालिने गर्दछन् । जसका कारण खरिद विल र विक्री विल के कति हो यथार्थ बाहिर नआउने भएकाले यथार्थमा राजश्व छलि हुने गर्दछ । ग्राहकहरुलाई तोकिएको भन्दा बढि मूल्य लिने तर विल नै नदिने भएकाले पनि के कति कारोबार भएको हो स्वयम् सरोकारवालाहरु नै गुमराहमा पर्ने गरेका छन् ।

होटेलहरुले समेत विल मिलान गर्ने गरेको पाइएको छ । ग्राहकहरु के कति आए र के कतिको कारोबार भयो भन्ने यथार्थ रेकर्ड नराख्ने गरेका कारण होटेलहरुले पनि राजश्व छलि गर्ने गरेका छन् । एकाध केही ठूला होटेलहरु बाहेक अरुहरुले विल विजक जारी गर्दैनन् ।

सुर्खेतको वीरेन्द्रनगरमा यत्ति नै संख्यामा व्यापार व्यावसायहरु संचालन भइरहेका छन् भन्ने एकिन तथ्याङ्क नै छैन । किनकी दर्ता भएका र दर्ता नभएका व्यापार व्यावसायहरुको संख्या एकिन गर्न सम्भव पनि छैन । तर औसतमा हेर्ने हो भने दर्ता भएका ठूला व्यापारको दाँजोमा दर्ता नै नभएर संचालनमा आएका साना व्यावसायहरुको संख्या अधिक रहेको छ । चाहे वीरेन्द्रनगरको केन्द्रमा रहेको बसपार्क होस् चाहे मंगलगढी चोकमा रहेका साना व्यावसायहरु हुन् वा छरपष्ट रुपमा छरिएर रहेका अन्य घुम्टी तथा ठेला व्यापारहरु नै किन नहुन् । यस्ता व्यापारीहरुले मनग्य आम्दानी गर्ने भएपनि कुनै पनि निकायमा दर्ता नभएका कारण वार्षिक रुपमा व्यापारीले तिर्नु पर्ने कर तिर्दैनन् जसले गर्दा सरकारलाई नै घाटा लाग्ने गरेको छ । ठेला तथा खाटमा व्यापार गर्नेहरुले समेत व्यावसाय दर्ता गर्नु पर्ने हो तर त्यसो भएको छैन ।

नियमन गर्ने निकाय आन्तरिक राजश्व कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय सुर्खेतलगायतले पनि दर्ता नगरि संचालनमा रहेका साना व्यापारहरुको बारेमा त्यति चासो देखाएको पाइँदैन ।

बजार अनुगमन गर्ने क्रममा एउटा दुईटा पसलहरुमा मात्र अनुगमन गर्ने चलन भने पूरानै जस्तै हो । केवल खाद्य र खुद्रा पसलहरुमा अनुगमन गर्ने अनि चेतावनी दिएको भरमा उनीहरुलाई कारवाही नगर्ने संस्कार जस्तै भइसकेको छ ।
त्यो पनि अहिलेसम्म फेन्सी तथा रेडिमेट कपडाहरुको पसलहरु भने अनुगमन नै भएका छैनन् । कति मूल्यमा खरिद गरिएको हो र कति मूल्यमा विक्री गरिएको हो भन्ने बारेमा अनुगमन नै नहुँदा त्यस्ता व्यापारीहरुको मनोमानी बढिरहेको छ ।

अखाद्य वस्तुहरुको विगविगी

ठूलो थोक विक्रेता भन्दा साना पसलहरुमा उपयोग गर्न नमिल्ने डेट एक्सपाएर अखाद्य वस्तुहरुको विगविगी छ । अनुगमन गर्ने निकायहरुले पनि ठूला पसलहरुमा मात्र अनुगमन गर्ने भएकोले साना पसलहरुमा अखाद्य वस्तुहरुको विगविगी हुने गरेको हो । साना पसलेहरु खाद्य पदार्थको डेट एक्सपाएर भएको छ छैन भन्ने बारेमा समेत चासो राख्दैनन् । कहिले काँही डिलरहरुले नै डेट एक्सपाएर भएका वस्तुहरु पठाउने गरेको एक साना व्यापारीले बताए ।

अखाध्य  पदार्थ को छविको परिणाम
तस्विर : गुगल बाट लिइएको हो |

विद्यालय तथा स्वास्थ्य क्षेत्र वरिपरि र नेपाल सरकारले सार्वजनिक स्थलको रुपमा घोषणा गरेका क्षेत्रहरुमा धुम्रपान तथा सूर्तिजन्य पदार्थहरुको विक्री वितरण गर्न नपाइने, गर्भवती महिला तथा अठार वर्ष मुनिका बालबालिकाहरुलाई पनि त्यस्ता पदार्थहरु बेच्न नपाइने नियम बनाएको छ । तर यस नियमको पालना भने अहिलेसम्म कोही कसैबाट हुन सकेको छैन । वीरेन्द्रनगरको बसपार्कमा खुलमखुला रुपमा यस्ता पदार्थको विक्री वितरण भइरहेको हुन्छ भने त्यहाँ ड्यूटीमा रहेका प्रहरी मुकदर्शक बन्ने गरेका छन् । त्यस्तो कार्य गर्ने गराउनेलाई कारवाही गर्नुको साटो उल्टै प्रहरीहरु नै त्यो पनि बर्दीमै त्यस्ता पदार्थहरु किन्ने गर्दछन् ।

ठेलाहरुमा पाइने चार्ट तथा पानीपुरी स्वास्थ्यको लागि हानीकारक छन् । तर युवा पुस्ताको रोजाईमा परेको उक्त खानामा विभिन्न अखाद्य वस्तुहरु तथा रंगहरु समेत प्रयोग हुने गरेको छ । जसको कारण मानव स्वास्थ्यमा नराम्रो असर पर्दछ । अखाद्य वस्तुको मिसावटले दीर्घरोग लाग्ने र नसर्ने रोगहरु लाग्ने सम्भावना ज्यादै हुने गरेको चिकित्सकहरुले बताउँदै आइरहेका छन् ।

सूर्तिजन्य पदार्थको अवैध कारोबार

कर्णाली प्रदेशको राजधानीमा बाहिरबाट आउने मुख्य दुईवटा नाकाहरु रहेका छन् । एउटा पश्चिमको बाङ्गेसिमल र अर्को पूर्वको सुब्बाकुना । यी दुईवटा नाकाहरुमा प्रशासनले कडाईका साथ चेकजाँच नगर्दा सुर्खेतमा भित्रिने अवैध पदार्थहरु खुलमखुला भित्रिरहेका छन् । प्रदेश नं. ५ को बाँकेसँग जोडिएको प्रदेश भएकाले रुपैडिहाबाट भन्सार छलि गरेर ल्याइएका वस्तुहरु पनि सुर्खेत पुग्ने गरेका छन् ।

सुर्तीजन्य पदार्थ को छविको परिणाम
तस्विर : गुगल बाट लिइएको हो |

जसको कारण अवैध धन्दा गर्नेहरुको मनोबल बढिरहेको छ । यस कार्यमा नेपाल प्रहरी लगायत सरोकारवाला निकायहरुले समयमै ध्यान दिन जरुरी छ । भारतीय उत्पादनहरु सूर्तिजन्य पदार्थहरु खुलमखुला सुर्खेत भित्रिनु भनेको सरासर नेपाल सरकारलाई राजश्वमा छलि हुनु हो । विभिन्न सूर्तिहरु र गुट्खाहरु सुर्खेत भित्रिने र खुला रुपमा विक्री हुने गरेका छन् । एकातिर भन्सारमै यसको कडाई हुनु पर्नेमा त्यसो हुन सकेको छैन भने अर्कोतर्फ नेपालगञ्ज शहरबाट अन्य शहरहरुमा वितरण हुँदा समेत यसमा कडाई गर्न आवश्यक छ । यदि त्यसो गर्न सकेको खण्डमा एकातिर अवैध सामानको ओसार पसार रोकिने र अर्कोतर्फ राजश्व संकलनमा समेत बृद्धि हुनेछ ।