सडक जोडिएपछि ठिङ्नीवासी खुशी
सुर्खेत ।
गुर्भाकोट नगरपालिका–११ सुर्खेतका ठिङ्नी गाउँवासी यतिबेला खुशी भएका छन् । कृषि सडक निर्माण भई बजारका साथै भेरी करिडरसँग जोडिएपछि उनीहरुको मुहारमा खुशी छाएको हो । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालयअन्तर्गत उक्त सडक बनेको हो ।
निर्माण कार्य सम्पन्न भएको ठिङ्नी गाउँ कृषि सडक आयोजनाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य विष्टले बत्तीमुनिको अँध्यारोजस्तो भएर रहेको गाउँका लागि न्याय भएको बताएका हुन् ।
‘कैयन वर्षदेखि ठिङ्नीले न बजारको वस्तु सहजै गाउँमा ल्याउन सक्यो नत आफ्नो उत्पादन बजारलाई दिन पायो’, उनले भेन ,‘अब भने त्यो समस्याबाट यो गाउँ पूर्णरुपले मुक्त भएको छ ।’ कृषि सडक भेरी करिडोरसँग जोडिएकाले यहाँको तरकारी बाली र अन्य अन्नपात जिल्लाका मुख्य बजार पु¥याउन र किसानलाई त्यसबाट लाभ लिन सजिलो हुने भन्दै उनले तोकिएको समयभन्दा अगावै निर्माण कार्य सम्पन्न गर्ने ठिङ्नी गाउँवासीलाई धन्यवाद दिए ।
कृषि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले विकासप्रति नागरिकको जागरुकता बढेको बताए । ठिङ्नी गाउँलाई कृषि पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने बताउदै निर्देशक रोकायले सो क्षेत्रको थप विकास लागि अतिरिक्त बजेट दिलाउनतर्फ सहयोग गर्ने विश्वास दिलाए ।
आयोजना निर्माण समितिका अध्यक्ष धनराज चुनाराले सरकारले दिएका हरेक योजनालाई नागरिकका बीचबाट गठित उपभोक्ता समितिले साझा विकास र चिन्तनका साथ काम गर्नुपर्नेमा जोड दिए । अध्यक्ष चुनाराले भने, ‘निर्देशनालयद्वारा चालु आवमा विनियोजित रु २५ लाख बजेटमा एक हजार २०० मिटर सडक निर्माण गरेका छौँ ।
पुस १० गते शुरु गरेको काम हामीले दुई महिनामै सम्पन्न गरेका छौँ ।’आयोजना निर्माण समितिका कोषाध्यक्ष जयन्ती चुनाराले सरकारले गाउँमै आएर हाम्रो दुःख, पीडालाई सम्बोधन गर्ने काम गरेको बताइन् ।
‘पोहोर परारका वर्षतिर हाम्रा गाउँमा सांसद त परै जाओस, कर्मचारी पनि राम्रोसँग पाईला टैक्दैनथे,’ उनले भनिन, ‘अहिले त हामीले चुनेर पठाएर सांसद, मन्त्रीहरु गाउँमा आउने गरेका छन् । आखिर केही नगरेपनि घर दैलोमा पुग्दा पनि निकै खुशी लाग्दो रहेछ ।’उक्त सडकबाट १५० घरधुरीका २२५ महिला र २०० गरी ४२५ जनसङ्ख्या लाभान्वित भएका छन् ।







