Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

साढे १० लाख नगद चोरेको आरोपमा बालक पक्राउ

सुर्खेत ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले साढे १० लाख नगद चोरेको आरोपमा एक नाबालकलाई नियन्त्रणमा लिएको छ ।
वीरेन्द्रनगर नगरपालिका–६ खोक्रेलाईनमा फागुन २५ गते बार एसोसियसनका अध्यक्ष नन्दराम भण्डारीको घरमा भएको चोरी घटनामा नाबालक पक्राउ परेका
हुन् ।
पक्राउ परेका नाबालकको नाम प्रहरीले गोप्य राखेको छ । घरमा कोही नभएको अवस्थामा घरको पछाडिको ढोकाबाट भित्र पसेर दराजको लक खोली दराजभित्र रहेको नगद १० लाख ५० हजार रुपैयाँ चोरी भएको जाहेरीका आधारमा नाबालकलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले बताए ।

‘हामीले घटना भएको १२ घण्टाभित्रै शंकास्पद नाबालकलाई गिरफ्तार गर्न सफल भएका छौं,’ डीएसपी रावलले भने, ‘नगद १ लाख २० हजार रुपैयाँसहित नाबालकलाई नियन्त्रणमा लिएका हौं । नाबालकले ३ लाख रुपैयाँ आफूले लगेको र अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएका छन् ।’ चोरीमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको डीएसपी रावलले बताए ।

यसैबीच, प्रहरीले ६.८०० ग्राम लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । ‘आइतवार राति साढे १० बजे वीननपा–११ सुब्बाकुना चेकपोस्टमा सवारीसाधन चेकजाँच गर्ने क्रममा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा५ख ५९९४ नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्दा गाडीको अगाडिको सिसाको तल कालो प्लास्टिकमा बेरेर लुकाइछिपाई राखेको २ पोका लागूऔषध जस्तो देखिने धुलो (६.८०० ग्राम) चिजवस्तु फेला पारेका छौं,’ प्रहरी कार्यालयद्वारा प्रेषित विज्ञप्तिले लेखिएको छ, ‘गाडीमा सवार १ जना यात्रु, गाडी चालक, सहचालक र फोर्स गाडी समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेका छौं ।’
गाडी चालक भेरीगंगा नगरपालिका–१ का सन्देश कसेरा, वीननपा–९ लाटिकोईलीका सहचालक विनोद गुरुङ र सोही स्थानका दिनेश खड्का प्रहरीको नियन्त्रणमा रहेका छन् ।