सुर्खेतमा सवारी साधनमा जोर- विजोर प्रणाली लागु
सुर्खेत
विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणले भयावह स्थिती निम्त्याउन सक्ने तर्फ सचेत रहेको तर्क सहित जिल्ला प्रशासन कार्यालय सुर्खेतले सवारी साधनमा जोर विजोर प्रणाली लागु गरेको छ ।
भोली (मंगलबार) देखि लागु हुने गरी यस्तो प्रणाली लागु गरिएको कार्यालयका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए । यसबारेमा जिल्ला प्रशासन कार्यालयले आज विज्ञप्ति समेत जारी गरी आम जनतालाई जानकारी गराएको सूचना अधिकारी लामिछानेले बताए ।
विज्ञप्तिमा मंगलबार विजोर नम्बरका सवारी साधन सञ्चालन हुने जनाइएको छ। मोटरसाइकल लगाएत सबै सवारी साधनमा यो नियम लागू हुने कार्यालयको विज्ञप्तिमा उल्लेख छ । यो नियम अर्को सूचना जारी नहुन्जेल सम्म लागु हुनेछ । भीडभाड कम होस र रोग लाग्नबाट जनता बचुन भन्ने अभिप्रायले सूचना जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
साथै, राती १० बजेदेखि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, सुरक्षाकर्मीका सवारी साधन बाहेक अन्य कुनै पनि सवारी साधनहरुको आवागमन बन्द गरिने जनाइएको छ ।







