Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कविता – मानवसत्ताको अवसान

स्विकार्दै तिम्रो उन्नत मस्तिष्कलाई
तिम्रा सिर्जनशीलताहरुलाई
नवीनतम अन्वेषण र आविष्कारहरुलाई
ब्रह्माण्डका जलचर थलचर
सारा सन्ततिहरुको तर्फबाट
तिमिलाई अभिभावक मान्यौ,
हाम्रो संरक्षक स्विकार्यौ,
आशाको केन्द्र ठान्यौ,
सङ्कटको सारथी बुझ्यौ ।
किनकी,
तिमिले अदभूत क्षमता आर्ज्यौ,
विकासको चरमचुलीमा पुर्यायौ,
हर प्रतिकुलतासङ्ग जुधेर
अनुकुल परिस्थिति निर्माण गर्यौ ,
समायोजनका अनेक जुक्ती झिक्यौ ,
प्रकृतिमाथी बिजय गर्यौ ,
इशारामा सृष्टि चल्न बाध्य गरायौ ।
तिम्रो अगाडि सृष्टिकर्ताहरु
नतमस्तक भएर लम्पसार परिरहेछन,
तिम्रो दैबी र सैतानी रूपमा फसिरहेछन,
तिम्रो बिराट स्वरुपको भुलभुलैयामा
गुमनाम गन्तव्यतर्फ
पछ्याइरहेछन चुपचाप
तिम्रा अदृश्य पदचापहरु ।
।।१।।
हामी सम्झिरहेछौ
त्यो आदिम पाषण सभ्यता,
जहाँ
हाम्रो साझा आगन थियो ,
हाम्रो साझा आवास थियो,
आफ्नोपनको आभास थियो,
आ आफ्नै जिजिविषा थियो,
सह-अस्तित्व स्वीकारेर
सन्तुलित सहयात्रा जारी थियो ।
हामी सम्झिरहेछौ
त्यतिबेला देखिको तिम्रो हर्कत ,
धारिला हतियार बनाएर
हाम्रो सिकार गर्यौ ।
हामीले तिम्रो आहारा स्विकार्यौ,
हाम्रा सन्ततिलाई अलपत्र पारेर
तिम्रा सन्ततिको पोषणका लागि
तिम्रो गोठमा बाधियौ,
तिम्रो चुलो चौकोको रखवाली गर्यौ,
तिम्रो यात्राको बैशाखी बनेर
सुखदुःखमा साथ दियौं ,
भयानक युद्धका अग्र मोर्चामा उभिएर
तिम्रो बिरताको बलि चढ्यौ,
तिम्रो आलिशन बङ्गलाको बार्दलिमा झुन्डिएर
पिजडाभित्रबाट तिम्रै भाषा बोल्यौ ,
तिम्रो नजरको प्यास मेटाउन
चिडियाखानाका बन्द पर्खालभित्र
हाम्रा बलशाली बदनहरु बन्दकि राख्यौ,
तिम्रा कृतिम एक्वारमहरुमा पौडिरह्यौ ।
हो , हामी सम्झिरहेछ्यौ !
तिम्रा अनेकन आविस्कारका
प्रयोगशालाहरुमा पटकपटक चिरिरह्यौ ,
तिम्रो मुटुको शल्यक्रिया हुनुपुर्व
हाम्रो मुटुको बलि चढेको हो ,
तिम्रो जादुको छडीमा
हाम्रो शरीर नाचेको हो ,
तिम्रो प्रबिधिको साहारामा
हामी अन्तरीक्ष यात्रामा निस्केका हौं ,
हो, तिम्रा हर इच्छा चाहानाका लागि
हाम्रा हर इच्छा चाहनाहरुको
हामीले कुर्वानी गरेका छौं ।
तिमी स्वीकार गर या अस्विकार !
हाम्रो स्वतन्त्र संसार
तिम्रो पिजडाभित्र कैदी बनेर
हामीले तिम्रो सर्वसत्ता स्विकार गरिरहेछौं ।
।।२।।
तर ,
सत्ताको चरम उन्मादमा
मात्तिरह्यौ भने ,
जरुर ख्याल गर्नु !
तिम्रो सर्वसत्ताको श्रीपेच धरापमा छ ,
तिम्रा हर बस्ती बस्तिमा
हामिले धावा बोल्यौ भने ,
तिमिले घमण्ड गरेका
बिज्ञान प्रबिधि र अत्याधुनिक शस्त्रहरु
मिथ्या हुनेछन ,
हाम्रो प्राकृतिक शक्तिको अजय रुप अघि
तिम्रो कृत्रीम आडम्बरी शस्त्र निष्क्रिय हुनेछ,
पिजडाहरुबाट हामी हाम्रो भाषा बोल्नेछौ ,
र फुक्नेछौ स्वतन्त्रता सङ्ग्रामको बिगुल !
चिडियाखाना र निकुञ्जका पर्खालहरु ढल्नेछन,
र हामी देखाउनेछौ हाम्रो असली रूप !
च्यात्नेछौ तिम्रो रखवालीका पुर्ख्यौली तमसुकहरु
र देखाउनेछौ हाम्रा बीभत्स अवतारहरु !
फुटाउनेछौ तिम्रा कृत्रिम एक्वारमहरु
र पौडिनेछौ रङ्गिन संसारमा ।
हाम्रो सहनशीलतालाई कमजोरी ठानियो भने
हामी देखाउनेछौं हाम्रो रौद्र रुप !
सह-अस्तित्व र सन्तुलनलाई चुनौती दियौ भने,
सोच्नु !
तिम्रो मानवसत्ताको अवसान नजिकिदैछ ।
फेरि पनि !
हामी सहकार्य र सह-अस्तित्वको पक्षमा छौं ।
**************
(२०७६ चैत्र १३: कोरना भाइरसको विश्वमहामारी विरुद्धको अभियान : सेल्फ क्वारेन्टाइन : बिरेन्द्रनगर: सुर्खेत )