Loading... आजः १० श्रावण २०७८, आईतवार । Sunday 25th July 2021

चिनौं कर्णाली : मन्त्री भण्डारी

सुर्खेत ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णाली चिन्नु पर्ने बताउनु भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आजबाट सुरु भएको कर्णाली उत्सवको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो ।


मन्त्री भण्डारीले भन्नुभयो, ‘अविकास र अभावको गर्भबाट अनुकुलता र अव्बलताको खोजि गरिरहेको भूगोल, मडारिरहेको कालो बादलमा देखिएको चाँदकिो घेरा अर्थात कर्णाली प्रदेश ।’

कर्णाली प्रदेशको पृष्ठभूमिदेखि ऐतिहासि अवस्था, भौगोलिक अवस्था, भू–उपयोग, जनसंख्या, सामाजिक अवस्था, शैक्षिक अवस्था, स्वास्थ्य सेवाको अवस्था, खानेपानी, खाद्यय सुरक्षा, पोषण र सरसफाइ, गरिबीको अवस्था, श्रम तथा रोजगार, भाषा, धर्म तथा संस्कृति, आर्थिक अवस्था, कृषि, उद्योग, सेवा र सम्भावनाका बारेमा विस्तृतमा व्याख्या गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कृषि, उद्योग र सेवा आर्थिक विकासका प्रमुख पक्ष हुन् । भौगोलिक तथा जैविक विविधताले भरपुर, ऐतिहासिक कालिन इतिहास र संस्कृति रहेको कर्णाली प्रदेश पर्या–पर्यटनको ठूलो सम्भावना रहेको प्रदेश हो ।’ समगमा प्रदेशको सामाजिक तथा आर्थिक परिसूचकहरु सन्तोषप्रद नभएको बताउँदै योजनावद्ध विकासका माध्यमबाट कर्णालीका प्रचुर सम्भावनाहरुको उपयोग गर्दै छोटो समयमै समृद्धि हासिल गर्नुपर्ने चुनौतिक प्रदेशका सामु विद्यमान भएको उहाँको भनाई थियो ।

रोग, भोक र अभावको पर्यायका रुपमा चित्रित तर प्रचुर सम्भावनायुक्त प्रदेश भएको बताउँदै उहाँले भन्नुभयो, ‘कर्णालीका जङ्गलमा हरियो डलर कुहिरहेको छ । कर्णाली, भेरी, राप्ती र तिला जस्ता नदीका पानीसँग डलर बगिरहेको छ । रारा र फोक्सुण्डो जस्ता प्रकृतिका अतुल्य उपहारको पिवँधमा डलर थेग्रिएको छ । यसमा राज्यले ध्यान दिन सकेको छैन ।’

पहाडले विकास रोक्ने भए स्विस जस्ता मुलुक विपन्नतम मुलुकको कोटीमा पर्थे होलान् भन्दै मन्त्री भण्डारीले भन्नुभयो, ‘कोही मानिस तर्क गर्छन कर्णालीको जटिल भूगोल नै विकासको बाधक हो । यदि यो तर्क यथार्थ भए तराईका जिल्लाले काठमाडौंलाई विकासका दृष्टिले चुनौति दिइ सक्थे ।’

कर्णालीको गर्भमा रहेका असीमित सम्भावनालाई पूर्ण उपयोग गर्ने हो भने कर्णाली नेपालको स्विजरल्याण्डमा अनुवाद हुने निश्चित भएको बताउँदै मन्त्री भण्डारीले समृद्धिको अर्को नाम कर्णाली बनाउने महान राष्ट्रिय सङ्कल्प नेपाली माटोको आवश्यकता भएको बताउनु भयो । उहाँले थप्नुभयो, विकासका प्रतिफलहरुको न्योचित वितरण हुने समाजवादी विकास मोडेल चाहिएको छ । हरेकलाई प्रतिभा विकासको समान अवसर दिने राज्य व्यवस्था हाम्रो आवश्यकता हो ।’

मानविय असीमित प्रतिभाको भरपुर उपयोग गर्न सके माटोमा सुन फलाउन सकिने बताउँदै मन्त्री भण्डारीले भन्नुभयो, ‘मैले भोगेको÷देखेको संसार चाँदीको घेरा हो । चाँदीको घेरा प्रतिकूलताभित्रको अनुकूलताको खोजि हो । नेपाल र कर्णाली पनि चाँदीको घेरा हो जो नेपाली आकाशमा मडारिरहेको कालो बादलमा दृष्टिगोचर भइरहेछ । कालो बादल हटेर आकाश खुल्नेछ । चाँदीको घेरा फैलिने छ । कर्णाली नेपालको गौरव बन्ने छ । समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको प्रादेशिक सङ्कल्प सार्थक हुनेछ ।’

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका संघीय सरकारका वन मन्त्री शक्तिबहादुर बस्नेतले एकात्मक शासन व्यवस्थाका कारण विकासमा पछि परेको भन्दै कर्णाली प्रदेशको किवासका लागि जनप्रतिनिधिहरुले सरकारसँग विशेष भूमिका खेल्नु पर्ने बताउनु भयो । कर्णालीमा रहेका सम्भावनालाई उपभोग गर्नका लागि संघीय सरकारले पनि विशेष योजना बनाएर कर्णालीलाई समृद्धि तर्फ लैजानु पर्ने उहाँले बताउनु भयो ।

कर्णाली उत्सव यही फागुन २१ गतेसम्म संचालन हुनेछ भने उत्सवमा विभिन्न क्षेत्र, तह र तप्कामा रहेकाहरुसँग कर्णालीलाई कसरी बनाउन सकिन्छ भन्ने बारेमा बहस हुने आयोजकको भनाई छ ।