Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

बाउन्न जिल्लामा कोभिडको नमूना परीक्षण

काठमाण्डौ

सरकारले ५२ जिल्लामा कोभिड–१९ को परीक्षण शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र ऱ्यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिए ।

अहिले पिसिआरबाट देशभरिमा ११ वटा ठाउँमा परीक्षण भइरहेको छ भने बाँकी २५ जिल्लामा चाँडै नै परीक्षण गरिने डा. देवकोटाको भनाई छ ।

उनका अनुसार अहिले ती दुवै विधिबाट १० हजार ९८२ जनाको परीक्षण गरिएको छ । यसमध्ये पिसिआरबाट पाँच हजार ६९१ र ऱ्याापिड डाइग्नोष्टिक टेष्टबाट पाँच हजार २९१ जनाको परीक्षण गरिएको छ । पिसिआरबाट गरिएको परीक्षणमा काठमाडाँैस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चार हजार ४३१ र उपत्यकाबाहिर एक हजार २५९ गरिएको छ । सोमबार मात्र काठमाडौँमा ४११ तथा र बाहिर १०८ जनाको परीक्षण गरिएको छ ।

यसैगरी पर्सामा आइतबार कोभिड–१९ सङ्क्रमित आफन्त, नातेदार र नजीकका मानिसको निगरानी (कन्ट्याक ट्रेसिङ) गर्न थालिएको प्रवक्ता देवकोटाले जानकारी दिए । पर्साको विभिन्न मस्जिदमा रहेका २८ जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ ।

पर्साको छपकैया टोलमा रहेका ५९ जनाको ऱ्यापिड किटबाट परीक्षण गरिएको र सबैमा सङ्क्रमण नभएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा १४ दिनभन्दा बढी क्वारेन्टाइनमा रहेका मानिसको ऱ्यापिड किटबाट परीक्षण शुरु भएको उनले जानकारी दिए ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कैलालीको लम्की नगरपालिकामा ६५ वर्षीया महिला र रौतहतमा १९ वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । दुवै सङ्क्रमितको अनुसन्धान र कन्ट्याक ट्रेसिङ गर्ने कार्य शुरु भइसकेको जानकारी दिइएको छ ।

डा. देवकोटाका अनुसार महिलालाई सुदूर पश्चिम प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ भने रौतहटका पुरुषलाई पनि अस्पताल लैजाने प्रक्रिया रहेको छ ।

यसैगरी अहिलेसम्म सात हजार १७७ क्वारेन्टाइनमा बसेका छन् । वेबसाइट र मोबाइल एपमा आफैं परीक्षण गराएका १३ जना ‘रेड जोन’मा परेका छन् । अहिलेसम्म २१९ जना रेड जोनमा परेका छन् भने १०३ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौंमा नौ जना र बाँकी ९४ जना बाहिर रहेका छन् । अहिलेसम्म कैलालीमा ६, बागलुङ्मा दुई, काठमाडौँमा दुई, पर्सामा तीन र रौतहटमा एकजना सङ्क्रमित फेला परेका छन् ।

घटना र विचार