Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

विज्ञान र हिन्दु धर्म

विश्वमा विज्ञानले चमत्कार गरिरहेको छ । विज्ञानको सफलताका कारण आज मान्छे चरा झैँ आकाशमा उड्न सफल भएको छ भने माछा झैँ पानीमा पौडिन । विज्ञानको सफलताले नै हो कि मान्छे पृथ्वीको एउटा ध्रुबमा रहेर अर्को धु्रबमा रहेकाहरुसँग प्रत्यक्ष भेटघाट झैँ देखादेख कुराकानी गर्न सक्छ । फ्याक्सदेखि इमेलको चमत्कार होस् वा रेडियो, टेलिभिजनको आविश्कार होस् । सायद विज्ञान सफल नभईदिएको भए आज मान्छे चन्द्रमा पुग्न सक्ने थिएन होला । भौतिक विकास र संरचनामा विज्ञानले साँच्चिकै मान्छेलाई खुसी र सहज पनि बनाइदिएको छ ।

Image may contain: 1 person, closeup
लक्ष्मी खनाल

वैज्ञानिकहरुले विभिन्न खोज तथा आविश्कारहरु दिन प्रतिदिन गरिरहेका छन् । अनुसन्धान र खोजमा व्यस्त हुने वैज्ञानिकहरुले विभिन्न स्रोतको प्रयोग गर्ने गर्दछन् । त्यस्ता स्रोतहरु भरपर्दा र विश्वसनीय हुन्छन् । जसको कारण उनीहरुले सफलता प्राप्त गर्ने गर्छन् । त्यस्ता स्रोतहरुको खोज कसरी हुने गर्दछ भन्ने कुराले पनि यहाँ महत्वपूर्ण स्थान राख्दछ । त्यही महत्वपूर्ण स्थानको रुपमा रहेको छ, धार्मिक ज्ञान ।

विश्व मानव जातीको उत्पतिसँगै मानव विकासको क्रम बढ्दै गयो । मानव विकासक्रमसँगै मानिसले समाजको निर्माण भयो । त्यसैले मानिस सामाजिक प्राणी भयो । समाज विना मानिस रहन सक्दैन र सम्भव पनि छैन । जहाँ समाज हुन्छ त्यहाँ विभिन्न क्रियाकलापहरु हुने गर्दछन् । ती समाजमा हुने विभिन्न क्रियाकलापहरुलाई सही ढंगबाट सूचारु गर्न वान्छनीय हुने भएकोले मानिसले विभिन्न नियम तथा उपनियमको निर्माण गर्न आवश्यक भयो । जसलाई धर्मको नाम दिइयो । समाजमा बसिसकेपछि गर्न हुने र नहुने कार्यहरुको सूचि निर्माण गरिएको कुरालाई पूर्ण पालना गर्न गराउनका लागि दिइएको धर्मको नामबाट अहिले पनि उत्तिकै प्रेरणा लिन सकिन्छ ।

हिन्दू धर्मको उत्पति १० हजार वर्षअघि भएको हो ।थाहा भएसम्म सबैभन्दा पूरानो धर्म हो जसका कारण यसलाई सनातन धर्म पनि भनिँदै आएको छ । यसका साहित्यिक कृतिहरुलाई इसा पूर्व ७ हजार भन्दा अघि रचिएको मानिन्छ । वास्तवमा सनातन धर्म पछि गएर हिन्दु धर्म भनिन थालियो । यो धर्म मान्नेहरुको संख्या विश्वभरि १४ प्रतिसत रहेको छ । पछिल्लो समयमा अष्ट्रेलिया, अमेरिका, बेलायत लगायतका देशहरुमा पनि अहिले तिब्र मन्दिरहरुको निर्माण अनि प्रवचनहरु बढिरहेको पाइन्छ । शासकहरुले आफ्नो स्वार्थको लागि गलत व्याख्या गरेर धर्मलाई आफ्ना पक्षमा परिभाषित गरेका हुन् । तर हिन्दू धर्ममा महिला र पुरुष दुवैलाई समान मानिन्छ । महिलालाई पनि भगवतीको रुपमा पूजा गर्ने चलन हुन्छ, जुन यस धर्मको मुख्य विशेषता पनि हो । विशेष गरि योगा, प्रणायाम, ज्योतिषशास्त्र, अंकशास्त्र, हस्तरेखा विज्ञान तथा वास्तुशास्त्र जस्ता विज्ञान तथा शास्त्रहरु हिन्दू संस्कृति तथा जीवनपद्धतिबाट उत्पति भएका हुन् ।

यसरी विभिन्न समुदायमा बसोबास गर्नेहरुले निर्माण गरेका धर्महरु मध्य हिन्दु धर्म सबै भन्दा जेठो धर्ममा हो भन्ने कुरामा कसैको दुईमत नहोला । किनकी अरु धर्महरुको सिद्धान्तहरु प्रतिपादन हुनु भन्दा पहिले नै हिन्दु धर्मको स्थापना भइसकेको थियो । कुनै पनि धर्म सानो वा ठूलो भन्ने छैन । सबै धर्म समान छन् । जुन नामले पुकारे पनि ईश्वर एक छन् र सर्वव्यापी छन् । पछिल्लो समयमा धर्म प्रति आस्तिक र नास्तिकको संख्या पनि बढ्दै छ । कसैलाई धर्म प्रति आस्था हुनु वा कसैलाई आस्था नहुनु पनि स्वभाविक हो । कसैले ईश्वर छन् भनेर पूजा गर्दछन् कसैले ईश्वर छैनन् भन्छन् र विज्ञानलाई सर्वश्रेष्ठ मान्छन् । तर यहाँ समानान्तर कुरा के छ भने धर्म आस्तिकहरु पनि विज्ञानलाई मान्दछन् र मान्नै पर्छ । यति भन्दै गर्दा नास्तिकहरुले भनेको कुरा मात्र ठीक हो भन्ने पनि होइन ।

धर्मलाई कसरी व्याख्या गर्ने भन्ने कुरामा भर पर्दछ । हिन्दु धर्मशास्त्र अनुसार सत्ययुग भगवान शिव पार्वती पुत्रहरु कुमार र गणेशले सुमेरु पर्वतको परिक्रमाको दौड भएको थियो । जसमा गणेशको एकातिर ज्यान पनि ठूलो र अर्कोतिर बहान पनि मुसो र कुमारको ज्यान पनि सिलिक्क परेको र बहान पनि मयूर भएका कारण कुमारले सजिलै सुमेरु पर्वतको परिक्रमा गर्न सक्ने र उनले जित हात पार्ने निश्चित थियो । दौड सुरु भइसकेपछि नारदको सल्लाह अनुसार गणेशले मातापिताको प्रदक्षिणा गरेर सुमेरु पर्वत भन्दा मातापिता ठूला हुन भन्ने कुरालाई पुष्टि गरे र उनलाई प्रतियोगीतामा विजयी बनाइयो ।

आमाबाबुले सन्तानलाई जति माया गरेका हुन्छन् सन्तानले पनि आमाबाबुलाई त्यत्ति नै सम्मान दिनु पर्छ भन्ने सत्यलाई सिकाउन खोजिएको छ । जुन हिन्दु धर्मका पुजारीहरुले पुस्तान्तरण गर्दै सबै अनुयायीहरुलाई यही कुरा सिकाउँदै जानु पर्ने थियो । तर त्यसो नभई कुमार र गणेशका आमाबाबुको फोटो राखेर हामीलाई कर्पूरगौरं करुणावतारं भन्न सिकाइयो । जसले गर्दा आफ्ना आमाबाबु प्रति भन्दापनि मूर्तिरुपी भावनात्मक विकास भयो ।

विश्व मानव समुदाय यतिबेला कोरोनाको कारण आक्रान्त बनेको छ । विश्वका शक्तिशाली देशहरु पनि कोरोनासँग जुध्नका लागि अनेकौ उपायहरु अपनाइरहेका छन् । कोरोना एउटा भाइरस हो । सूक्ष्म रुपमा रहेको यो भाइरसले मानव जातीलाई ठूलो चुनौति दिइरहेको छ । यसबाट बच्नका लागि विश्वका विभिन्न मुलुकहरु लकडाउनमा छन् । मानव दुरी टाढा गर्नु बाध्यता भएको छ । यस भाइरसको औषधी पत्ता लाग्न सकेको छैन । यहाँ जोड्न खोजिएको प्रसंग पनि त्यही हो । विश्व मानव समुदायले यस भन्दा अगाडि पनि यस्ता धेरै महामारीहरुको सामना गरिसकेको छ । कुनै समयमा कुष्ठरोगको यस्तै महामारी हुने गर्दथ्यो । जति बेला कुष्ठरोगको औषधी पत्ता लागेको थिएन त्यतिबेला कुष्ठरोगीलाई एक्लै बसालिन्थ्यो । त्यो यतिबेलाको क्वारेन्टिन वा आइसोलेसन जस्तै हो । तर त्यसको व्याख्या गर्नेहरुले धर्मको नाममा जोडिदिएकाले त्यो नराम्रो हुन गएको हो । त्यसरी रोगीलाई एक्लै बसाल्दा रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने रहेछ भन्ने कुराको सत्यतालाई अहिलेको कोरोना महामारीमा विश्व मानव समुदायले अंगिकार गरिरहेको छ ।

कुनै पनि मान्छे मर्दा हिन्दु धर्म अनुसार उसको मृत्यूकर्म गरिन्छ । मृतकका छोराहरु १३ औं दिनसम्म आशौच बारेर क्रिया गर्ने गर्दछन् । आमा वा बाबु विरामी भएको समयमा सेवा गर्ने र उनीहरुसँग लसपस गर्ने छोरा बुहारी नै हुन्छन् । मृतकलाई कुन रोग लागेको हो सर्ने वा नसर्ने । त्यसले सबै भन्दा पहिलो प्रभाव मृतकका छोरा बुहारीमा पर्न सक्छ । त्यसैले उनीहरुलाई छुट्टै स्थानमा बसालिदिने, कसैले पनि नछुने, घर भन्दा टाढा नजाने गर्नु स्वारेन्टिमा बस्नु हो । भलै शब्दमा फरक होला तर अर्थ र व्यवहार त उस्तै रहेछ । जसले गर्दा १३ दिनसम्म उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी हुने र यदि उनीहरुमा कुनै समस्या भएमा त्यो अरुहरुलाई सर्न नपाउने भन्ने नै रहेछ । त्यसैले हिन्दु धर्म विज्ञानमा आधारित धर्म हो ।

विज्ञान र हिन्दु धर्मका बीचमा धेरै समानताहरु छन् । अहिलेको समयमा हिन्दु धर्मका अनुयायीहरुले यसका विशेषताहरुलाई ग्रहण गर्न नसक्नु नै प्रमुख समस्या हो । चिसो गोडामा विस्तरा नजानु ओभानो हात भान्सामा नजानु त्यसै भनिएको होईन । हिन्दु धर्म अनुसार भान्सामा खाना खान जाँदा हात ओभानो हुनु हुँदैन भनेको हात धुनु पर्दछ भनिएको हो । आज कोरोनाले हैरान पारेको समयमा यसको फैलावटलाई रोक्ने सबै भन्दा उत्तम उपाय भनेको नै हात धुनु रहेको स्पष्ट भइसकेको छ । विभिन्न काम गर्दा हामीले लगाएको कपडामा विभिन्न किटाणुहरु बसेका हुन सक्छन् । खाना खाँदा ती किटाणु खानाको माध्यमाबाट हाम्रो हातमुख हुँदै शरिरमा प्रवेश गर्न सक्छन् । जसले गर्दा हामी रोगी बन्न सक्छौ । यस्तै कुरालाई मध्य नजर गरेर खाना खाने समयमा सफा कपडा (धोती फेरेर) लगाएर खाना खाने नियम बनाइएको हुनुपर्छ ।

यसरी हिन्दु धर्म र विज्ञानका बीचमा भएका पारस्परिक सम्बन्धलाई अनुशरण गर्न सक्ने हो भने पनि स्वास्थ्य सुरक्षामा धेरै हदसम्म सफलता प्राप्त गर्न सकिन्छ । तर धर्मको नाममा केवल धर्म र पाप अनि जातीयताको वर्गीकरण गरेर शासकहरुले छुवाछुतको अवधारणा ल्याई साना, गरिब तथा कमजोरहरुलाई हेप्ने तथा छुत र अछुतको नाममा जुन भेदभावको सुरुवात गरे त्यसले समाजमा राम्रो गरेन र गर्न सकेन । धर्मग्रन्थहरुमा कतै पनि छुत र अछुतको भेदभाव भएको पाइँदैन । तर हाम्रो समाजमा त्यो किन र कसरी भयो ? त्यसलाई हामीले जरैदेखि फाल्न किन सकिरहेका छैनौं ? कुनै समयमा अशिक्षाको कारण कुरितीले जरा गाडेको थियो । अब त शिक्षाको ज्योतिले पनि प्रकाश छरिसकेको छ । त्यसैले शिक्षित समाजमा अन्धविश्वास र कुरिती पनि हड्दो क्रममा छ भने हामीले यसलाई हटाउँदै र घटाउँदै शुन्यमा पु¥याउन कुनै कसर बाँकी राख्नु हुँदैन । विज्ञान सम्मत् देखिएका धार्मिक कुरालाई अनुशरण गर्दै विकसित, सभ्य र उदाहरणीय समाजको निर्माण गर्न सबैको एकमत हुन जरुरी छ ।