Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

‘प्रधानमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न उठ्यो’

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अब नेकपाभित्रको संकट टरेको अनुमान गरिएको छ । तर, दोस्रो तहका नेताहरुले भने अब यो विषय यत्तिमै टुंगिँदैन भन्दै प्रधानमन्त्री ओलीको नैतिकतामाथि नै प्रश्न उठाएका छन् ।

Janardan Sharma - प्रत्येक परिवारलाई ...
जनार्दन शर्मा

सरकारले पार्टी फुटाउने अध्यादेश जारी गरेलगत्तै स्थायी कमिटीको बैठक बोलाउन २० जना स्थायी कमिटीका सदस्यले अध्यक्षद्वयलाई हस्ताक्षर बुझाएका थिए । उनीहरुले तत्काल बैठक बोलाउनुपर्ने माग यथावतै रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषदको बैठक राखेर दुबै अध्यादेश फिर्ता लिने निर्णय गरिसकेका छन् । राष्ट्रपतिबाट दुवै अध्यादेश खारेज भइसकेका छन् । तर, प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिएर मात्रै नपुग्ने भन्दै नेकपाका नेताहरुले उनको नैतिकतामाथि प्रश्न उठाएका छन् । स्थायी कमिटीको बैठकको माग गर्दै हस्ताक्षर बुझाउने २० मध्येका एक सदस्य जनार्दन शर्माले अनलाइनखबरसँग भने, ‘अब प्रधामन्त्रीका अगाडि एउटा नैतिक प्रश्न खडा भएको छ । उहाँले नेपाली जनतालाई कसरी जवाफ दिनुहुन्छ ? गम्भीर नैतिक प्रश्न खडा भएको छ ।’ अब तत्काल नेकपाको स्थायी कमिटीको बैठक बोलाउनुपर्ने शर्माले बताए । तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता गराउन अहम भूमिका खेलेका पूर्वमन्त्री शर्माले प्रधानमन्त्रीमाथि मात्रै नभई नेकपामाथि नै प्रश्न उठेको बताए ।

प्रधानमन्त्रीले विवादास्पद अध्यादेश फिर्ता लिइसकेपछि अब यो काण्डको ‘च्याप्टर क्लोज’ भयो कि बाँकी छ ?

पार्टीका नेताहरु, नागरिक समाज र प्रतिपक्ष सबैले यो असान्दर्भिक विषय र असान्दर्भिक समयमा आएको अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्रीले आफ्नो ईच्छा विपरीत हुँदाहुँदै पनि फिर्ता लिनुभो । त्यसका लागि उहाँले बुद्धि पुयाउनुभएकोमा धन्यवाद भन्नुपर्छ ।

अहिले कोरोनाको संकट देशमा आइरहेका बेलामा यसलाई व्यवस्थापन गर्ने विषयबाट ध्यान राजनीतिक क्षेत्रमा मोडियो र ठूलो सरगर्मीको अवस्था सिर्जना भयो । पार्टी फुट्ने फुटाउने लगायतका तमाम क्रियाकलाप र अभ्यासहरु पनि यो बीचमा भए । सांसदहरुलाई केन्द्रित गर्ने, फुटाउने, होटलमा राख्ने लगायतका धेरै समाचारहरु पनि आएका छन् । यसमा विभिन्न व्यक्तिहरु पनि सहभागी भएको प्रधानमन्त्रीको निर्देशनमा भन्ने कुराहरु पनि आएका छन् ।

यो सबै परिस्थितिले के देखाउँछ भने अब प्रधामन्त्रीका अगाडि एउटा नैतिक प्रश्न खडा भएको छ । उहाँले नेपाली जनतालाई कसरी जवाफ दिनुहुन्छ ? गम्भीर नैतिक प्रश्न खडा भएको छ ।

कम्युनिस्ट पार्टीको सरकार हुनुको नाताले पार्टीसँग सरसल्लाह नै नगरी निर्णयहरु गर्ने कुरा आन्तरिकरुपमा पनि पार्टीको मूल्य मान्यताभन्दा बाहिरबाट भएको छ भने बाह्यरुपमा जनताको बीचमा एउटा नैतिक प्रश्न खडा भएको छ । यसको उचित जवाफ सम्मानीय प्रधानमन्त्रीजीले दिनुपर्छ ।

अध्यादेशमा त उहाँले एउटा भुल सुधार त गर्नु भो, यसमा उहाँलाई धन्यावाद छ । तर, यो वीचमा भएका विविध गतिविधि र यो अध्यादेशसमेतका बारेमा एउटा नैतिक प्रश्न खडा भएकाले यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ ।

नेकपाका सांसदहरु र पूर्वआइजीपीसमेत अर्काको पार्टीका सांसदहरु बोक्न हिँडेको घटनाचाहिँ कस्तो हो ? नेकपाका ती सांसदबारे तपाई के भन्नुहुन्छ ?

यो सिरियस घटना हो । विभिन्न मिडियामार्फत विषयहरु आइराखेका छन् । हामीले यो सबैको अध्ययन गरिराखेको अवस्था पनि छ । निर्देशन गर्ने व्यक्तिले निर्देशन गरेपछि सिपाहीले त चल्ने कुरा भयो नै । तैपनि आफ्नो विवेकले सोच्न सक्नुपथ्र्यो, उहाँहरुले सोच्न सक्नुभएन । खुरुखुरु आदेशको पालना गर्नुभो । र, आदेशै किन दिइयो त्यस्तो ? र, यो परिस्थिति किन ल्याइयो भन्ने प्रश्न नै मुख्य हो । समग्रमा आम जनमानसमा उठेका नैतिकतासम्बन्धी प्रश्नहरुको जवाफ चाहिन्छ । यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्‍यो ।

र, पार्टीले पनि दिनुपर्‍यो । नेकपाले पनि यसको जवाफ दिनुपर्छ अब । प्रधानमन्त्रीमाथि उठेको प्रश्न भनेको नेकपाप्रति पनि उठेको हो । दुईजना सांसदहरु माथि उठेको प्रश्न पनि नेकपामाथि उठेको प्रश्न हो । त्यसकारण यसको जवाफ पार्टीले पनि दिनुपर्छ र प्रधानमन्त्रीले पनि दिनुपर्छ ।

प्रधानमन्त्रीले दिने नैतिक जवाफ कस्तो हुनुपर्ने ? अध्यादेश फिर्ता लिइसक्नुभयो, अब विज्ञप्ति निकालेर जवाफ दिँदा पुग्छ कि राजीनामै दिनुपर्ने हो ?

हामीले पार्टीको बैठकको माग गरेका छौं । बैठकमा यी विषयमा समग्रमा छलफल हुन्छ । बैठक अब छिटो भन्दा छिटो बस्नुपर्छ । विधि, प्रक्रिया र प्राविधिक कुराहरु मिलाएर बस्नुपर्छ । बस्ने ठाउँ छैन भने भिडियो कलबाट पनि मिटिङ हुन्छ । अनेक विधिहरु छन्, तर मिटिङ चाहिँ हुनुपर्छ । समग्र कुराको जवाफ पार्टीको निर्णयमार्फत दिनुपर्ने र गल्ती गरेका व्यक्तिहरुले पनि जवाफ दिनका लागि र पार्टीले त्यही अनुसारको निर्णय गर्नुपर्ने भएको हुनाले पार्टीको बैठक आवश्यक छ ।

उसोभए, अध्यादेश फिर्ता लिएर मात्रै पुग्दैन ?

यो परिस्थिति पैदा हुनुका पछाडिको कारण प्रधानमन्त्रीको कार्यशैली हो । निरन्तरको घटनाक्रममा के देखिएको छ भने उहाँले कसैको कुरा नसुन्ने, आफैंले एकलौटी निर्णयहरु गर्ने, निर्णयहरु गलत गर्ने र समयमै दिइएका सुझावहरुलाई पूर्वाग्रहका रुपमा हेर्ने । सुझाव दिने व्यक्तिहरुमाथि पूर्वाग्रही व्यवहार गर्ने । अन्ततोगत्वा सबै बिग्रिसकेपछि, भत्किइसकेपछि सच्याउने ।

जस्तो–मजदुरहरुको केसमा पनि हामीले सुरुमै सुझावहरु दिएका थियौं, उहाँले सुन्नुभएन । अन्ततोगत्वा अहिले त मानिसहरु पठाउनुपर्‍यो ।

यसरी हरेक घटनामा उहाँ बिगार्नुहुन्छ र पछि सच्याएको जस्तो गर्नुहुन्छ । त्यतिबेला समय बितिसकेको हुन्छ । देश र पार्टी बदनाम हुने, जनताले दुःख पाउने । यस्तै भइराखेको छ ।

अनलाइन खबरबाट