नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।
थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।
विश्वमा महामारीको रुपमा देखा परेको कोरोनाबाट बच्नका लागि सरकारले देश लकडाउन गरेको ५० दिन पुग्नै लाग्दा कोरोना संक्रमितको संख्या झन झन बढिरहेको छ । यसबाट बच्नका लागि एक अर्काको सम्पर्कमा नजानु बाहेक अरु उपाय केही छैन । अहिलेसम्म कोरोना विरुद्धको खोप तयार हुन सकेको छैन ।







