Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

जनताले कष्टकर दैनिकी बिताउनुपरेको छ : कांग्रेस

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशव्यापी रूपमा लकडाउन लागू भएको ५० दिनको अवधिको समीक्षा गरी यो अवधिमा एकातर्फ नेपाली जनताले कष्टकर दैनिकी बिताउनुपरेको र अर्कातर्फ देशको अर्थतन्त्रले ठूलो क्षति व्यहोरिरहेको जनाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मलेन गरी कोरोनाविरुद्धको सङ्घर्षमा यसबीचमा के उपलब्धि भए र के कमजोरी रहे त्यसको वस्तुगत समीक्षा गरेर आगामी दिनको यात्रा तय गर्न जरुरी रहेको बताउनुभयो । काँग्रेसले यस अवधिमा जिम्मेवार प्रतिपक्षका रूपमा ‘सरकारमा सँगै नरहेर पनि सङ्कटमा सँगै लड्न सकिन्छ’ भन्ने नीति तय गरेर कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न हरसम्भव सघाउने कार्य गरेको उहाँले उल्लेख गर्नुभयो । प्रवक्ता शर्माले भन्नुभयो, “अत्यावश्यक स्वास्थ सामग्री पर्याप्त व्यवस्था गर्न, जरुरी सम्पूर्ण क्षेत्रलाई राहतको उचित प्रबन्ध गर्न र विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने प्रक्रिया तत्कालै थालनी गर्न काँग्रेसले यो अवधिमा निरन्तर सरकारलाई सुझाव र दबाब दिइरहेको छ ।” विभिन्न क्षेत्रका विज्ञसँग जरुरी परामर्शका अतिरिक्त कोरोनापछिको नेपालको अर्थतन्त्र बारे दूरगामी दृष्टिकोण निर्माण गर्न काँग्रेसले यस बीचमा ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ समेत गठन गरेर गहिरो अध्ययनसमेत प्रारम्भ गरिसकेको छ ।

गत माघ १० गते मुलुकमा पहिलो कोरोना सङ्क्रमित भेटिएको लगत्तै सरकार दूरदर्शी र गम्भीर भएको भए देश आज लकडाउनमा नभएर खुला अवस्थामा हुने उहाँले दाबी गर्नुभयो । “लकडाउनको ५० दिन पुग्दासम्म हरेक दिन नागरिकका लागि सन्त्रासको दिन रह्यो । तर सरकार भने यस्तो समयमा पनि सत्ताको खेलमा केन्द्रीत रहयो”, प्रवक्ता शर्माले भन्नुभयो । सिमानामा आइपुगेका नागरिकलाई नियन्त्रणका साथ प्रवेश दिएर क्वारेन्टाइनमा कडाइसाथ राखेर परीक्षणपश्चात् मात्रै घर जान दिएको भए लुकिछिपी प्रवेशले गरेको सङ्क्रमणको विस्तारलाई रोक्न सकिने काँग्रेसको भनाइ छ ।