कौशी खेती गर्नेलाई लकडाउनमा पनि परेन तरकारीको समस्या

सुर्खेत ।
देश यतिबेला लकडाउनमा छ । विश्वमा फैलिरहेको कोरोनाबाट नेपाल पनि अछुतो रहने कुरै भएन । अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको भएपनि कर्णाली प्रदेश र प्रदेशको राजधानी सुर्खेत पनि जोखिममा छ । जसले गर्दा बाहिरबाट आउने नाकामा कर्णाली प्रदेश सरकारले सिल गरेको छ । यतिबेला बेमौसमी तरकारी गर्नेहरु पनि उत्पादन भएको तरकारी बजारसम्म बेच्नका लागि समस्यामा परेका छन् भने बजारमा बसेर दैनिक तरकारी किनेर खानेहरु झन समस्यामा परेका छन् ।


दैनिक भान्साका लागि आवश्यक पर्ने तरकारीको जोहो गर्नका लागि वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का प्रगतिनगर टोलका स्थानीयहरुलाई भने समस्या भएको छैन । कर्णाली प्रदेशको राजधानीको पनि केन्द्रमा रहेको यस वडाले विगतदेखि नै कौशी खेतीको अवधारणा सुरु गरेका बेला यतिबेला तरकारीका लागि कुनै समस्या नभएको प्रगतिनगर टोल विकासका अध्यक्ष गाेरख रावतले क्वीकखबरसँग बताए ।

वीरेन्द्रनगर नगरपालिकाका १६ वडा वडाहरु मध्येकै सबै बढि जनघनत्व भएको वडा भएकोले एकातिर फोहोर व्यवस्थापनमा सहयोग पुग्ने र अर्कोतिर तरकारीका लागि आत्मनिर्भर बन्ने योजना भएकोले पनि कौशी खेतीका लागि वडाको तर्फबाट समेत सहयोग गरेर अघि बढिएको उक्त वडाका वडा अध्यक्ष मोति प्रसाद कंडेलको भनाई छ । फोहोरलाई मोहोरमा परिणत गर्न सकेमा फोहोर व्यवस्थापन गर्न सजिलो हुने उदाहरणीय कार्य प्रगतिनगर टोलमा भइरहेको कम्प्यूटर सहायक रेखा केसीले बताइन् ।


लकडाउनको समयमा मात्र नभई अरु समयमा पनि कौशीमा गरिएको तरकारी खेतीले तरकारी किन्नु नपरेको बताउँछन् प्रगतिनगर टोल निवासी निवासी समुन्द्रा रावत । उनी भन्छिन्, ‘ हामीले मौसमी तथा बेमौसमी तरकारी आफैले उत्पादन गर्छौ । जसले गर्दा एकातिर घरबाट निस्किने फोहोरको व्यवस्थापन भएको छ भने अर्कोतिर अर्गानिक तरकारी खाना पाइएको छ । रावतको ४ जनाको परिवारलाई तरकारी बाहिरबाट किन्नु पर्दैन । बरु छिमेकीहरुमा समेत अर्गानिक तरकारी खाउँ भन्दै बाँडी खाने गरेको उनको भनाई छ ।

वीरेन्द्रनगर बजार भित्र तरकारी बाँडेर खान्छौ भन्दा अनौठो लाग्ला तर सबैले अर्गानिक नै उत्पादन गर्ने भएकोले एकअर्कामा साटासाट गरेर खाने गरेको उनले बताइन् ।  प्रगतिनगर टोलकै सिको गर्दैछ हुलाक टोल विकास पनि । अहिले हुलाक टोलका १० वटा भन्दा धेरै घरका छतहरु हेर्ने भने तरकारीले हराभरा देखिन्छन् । एकातिर वातावरणीय अवस्थालाई पनि सुन्दर देखाउने र अर्कोतिर तरकारी पनि खान पाइने भएकाले कौशी खेती सबैले गर्न आवश्यक रहेको बताउछन् हुलाक टोल निवासी लिला थापा ।


उक्त खेतीका लागि चाहिने आवश्यक मल उनीहरुले आफ्नै घरबाट निस्कने कुहिने फोहोरबाट उत्पादन गर्ने भएकोले फोहोर व्यवस्थापनमा टेवा पुग्ने भएकोले यसको आवश्यक रहेको हुलाक टोल विकासका अध्यक्ष पार्वती गिरीको भनाई छ ।

वडा कार्यालयले कौशीमा खेती गर्नका लागि पाँचवटा गमला अनुदानमा दिने गरेको छ । तर पाँच वटा गमला अनुदानमा लिनका लागि घरधनीले पहिले पाँचवटा गमला आफैले किनेको हुनुपर्दछ । एकातिर अर्गानिक तरकारी पनि खान पाइने अर्कोतिर घरबाट निस्केको कुहिने फोहोरको व्यवस्थापन पनि हुने भएकोले कौशी खेतीले दोहोरो फाइदा भएको बताउँछन् वडा अध्यक्ष कंडेल ।

कंडेलले भने, ‘ताजा र स्वस्थकर तरकारीका लागि कौशी खेती गर्नका लागि सबैलाई जागरुक बनाइयो । जसले गर्दा अहिले रासायनिक तरिका किन्नु पर्दैन । यसले एकातिर स्वास्थ्यलाई फाइदा पुगेको छ भने अर्कोतिर उहाँहरुको तरकारी किन्ने पैसाको समेत बचत भएको छ ।’ उनले थपे, ‘अर्गानिक तरकारीको लागि आफै उत्पादनमा जुट्न आवश्यक छ । व्यावसायिक रुपमा खेती गर्नेहरुले त धेरै थोरै रासायनिक मिसावट गरिहाल्छन् नि ।’


त्यसो त वडा नं. ६ का वडाअध्यक्ष स्वयम्ले पनि आफ्नो घरको कौशीमा तरकारी खेती गरेका छन् । उनले आफ्नै कौशीमा फलाएको टमाटर, खुर्सानी, घिरौला र भान्टा देखाउँदै भने ‘कुनैपनि कुराको अनुशरण गर्न गा¥हो हुन्छ तर राम्रो कामको थालनी एउटाले गर्ने हो भने त्यसको सिको अरुले गरिदिए भने पनि परिवर्तन सम्भव छ ।’

बजार क्षेत्र भएकोले कौशीमा तरकारी खेती गर्न सम्भव छैन भन्नेहरु पनि नभएका होइनन् । सुरुका दिनमा कोसिस त गरौ भनेर उनीहरुलाई कौशीमा तरकारी खेती गर्न प्रोत्साहन गरेको र घरबाट निस्केको कुहिने फोहारबाट मल बनाउने प्रविधिको बारेमा जानकारी दिएको सम्झँदै वडा नं. ६ कि कम्प्यूटर सहायक एवम् सामाजिक परिचालक रेखा केसीले भनिन्, ‘वडा नं. ६ सुख्खा छ हरियो हेर्नका लागि अन्य वडाका स्थानहरुमा आँखा पु¥याउनु पर्छ भन्ने दिनको अन्त्य प्रगति टोलले गरिदिएको छ ।’ आफूलाई चाहिने फूलका लागि घरमा गमला राख्ने चलन भएपनि तरकारी खेती नै गर्नु पर्छ भन्ने आफूले संघीय राजधानीबाट सिकेको र त्यसैलाई व्यवहारमा उतारेको उनको भनाई थियो । ‘वीरेन्द्रनगर नगरपालिकाले हरित नगरको अवधारणा ल्याएको छ । त्यसलाई कार्यान्वयन गर्नका लागि वडा नं. ६ को प्रगतिनगर र हुलाक टोलले सुरुवात गरिसक्यो’ केसीले भनिन् । उनले थपिन, ‘टोलका प्रत्येक नागरिकहरुले यसमा सहयोग गर्नुभएको छ उहाँहरुलाई धन्यवाद दिनै पर्छ ।’

वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ को प्रगतिनगर टोलका १ सय ५० भन्दा धेरै घरले कौशी खेती गरेका छन् भने हुलाक टोलमा १० भन्दा बढि घरले कौशी खेती गरिरहेका छन् । वडाले उक्त कौशी खेती कार्यक्रम वडा भित्रका सबै टोलमा पु¥याउने लक्ष्य राखेको छ भने उक्त वडाबाट अन्य वडाहरुले पनि सिक्न आवश्यक छ । यसका साथै वडा नं. ६ ले एक घर दुई विरुवाको अवधारणालाई पनि साथसाथै लगिरहेको छ ।

वडा नं ६ मा रहेका १५ वटा टोलहरू मध्ये भगवतिटोल, मंगलगढिटोल, रामजानकीटोल, घण्टाघरटोल, विरेन्द्रनगरटोल, वातावरणटोल, दशरथपथटोल, शहिदमार्गटोल, प्रगतिटोलले समेत कौशिखेति गर्न शुरू गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *