Loading... आजः ११ आश्विन २०७७, आईतवार । Sunday 27th September 2020

सत्तरी लाखको स्वास्थ्य सामग्री प्रदेश अस्पताललाई हस्तान्तरण

सुर्खेत ।
जाजरकोटका पूर्वसांसद एवम् कुमारी ट्रष्टका अध्यक्ष राजीव विक्रम शाहले कर्णाली प्रदेश अस्पताललाई सत्तरी लाखको स्वास्थ्य सामग्री हस्तान्तर गर्नुभएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरि उक्त सामग्री उहाँले प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पताललाई आज (शुक्रबार) हस्तान्तरण गर्नुभएको हो ।


स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अप्ठ्यारोमा गरिएको सहयोग महत्वपूर्ण हुने बताउनु भयो । विश्व अहिले कोरोना भाइरसको महामारीले आक्रान्त भइरहेको बेला कर्णाली प्रदेश अस्पताललाई पूर्व सांसद शाहले गरेको सहयोग उदाहरणीय भएको बताउँदै मुख्यमन्त्री शाहीले अहिले संकटको समय भएकोले कसैलाई आरोप, गाली वा आलोचना गर्नु भन्दा सबै एक भएर कोरोना विरुद्ध लड्न आवश्यक रहेको बताउनु भयो ।

पछिल्लो समयमा कर्णालीमा पनि कोरोना संक्रमित देखिएको प्रसंग उठाउँदै मुख्यमन्त्री शाहीले थप संक्रमित हुन नदिनका लागि सबैले सावधानी अपनाउन आवश्यक रहेको बताउनु भयो ।

यसैगरि सामग्री हस्तान्तरण कार्यक्रममा प्रदेश अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा. डम्बर खड्काले प्रदेश अस्पताल तीन सय शैय्याको नजिक पुगेको बताउँदै सबैको साथ र सहयोगले अस्पताल अहिले अवस्थासम्म आइपुगेको बताउनु भयो ।

 

कुमारी ट्रष्टका अध्यक्ष समेत रहनु भएका पूवंसांसद राजीव विक्रम शाहले कर्णालीमा ७५ देखि १०० वटासम्म आइसियू बेड निर्माणको आवश्यकता रहेको बताउनु भएको छ । रोगले कसैलाई ठूलो र कसैलाई सानो नभन्ने भएका कारण सबैले सावधानी अपनाउन जरुरी रहेको बताउँदै शाहले भन्नुभयो, ‘कसैको सानो सहयोगले पनि ठूलो काम गर्न सक्छ भने हामी सहयोग गर्न किन पछि पर्ने ।’ शाहका अनुसार कर्णालीका जुम्ला बाहेकका अन्य जिल्लामा पनि तीन ÷ तीन लाखका दरले स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने योजना रहेको छ । सामान अहिले कर्णाली प्रदेश अस्पतालमा रहेको छ । उहाँले प्रहरी, पत्रकार तथा स्वास्थ्यकर्मीहरुका लागि मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु समेत हस्तान्तरण गर्नुभएको छ । जुम्लाका लागि निकट भविष्यमा एम्बुलेन्स प्रदान गर्ने योजना रहेको शाहले बताउनु भयो ।

 

यस्ता सामग्री पाए अस्पतालहरुले

‘जिल्लाका अस्पतालका डाक्टरहरुसँग सल्लाह गरेर स्वास्थ्य सामग्रीहरु प्रदान गरिएका सामग्रीहरु कसरी संचालन गर्ने भन्ने बारेमा कुमारी ट्रष्टको तर्फबाट तालिमको समेत व्यवस्थापन गरिने शाहले बताउनु भएको छ ।

‘जिल्ला अस्पतालको आवश्यकताअनुसार प्रत्येक जिल्लाहरुमा फरक–फरक सामानहरु छन् । केही जिल्ला अस्पतालहरुले सुत्केरीको लागि बेडहरु रहेका छन् भने केहीमा अक्सिजनसँग सम्बन्धित सामग्रीहरु रहेका छन् । यी सामाग्रीहरु कोरोनाविरुद्ध लड्नका लागि मात्र नभइ दीर्घकालमा समेत उपयोगी हुने सामाग्री हुन् ।

ती सामग्रीहरुमा सुर्खेतस्थित प्रदेश अस्पतालको लागि एउटा भेन्टिलेटरसहित ५ वटा आइसियू बेड, इसिजी मेसिन, प्यासेन्ट मनिटरलगायतका अन्य अत्यावश्यक सामग्रीहरु रहेका छन् भने अन्य ८ वटा जिल्लाहरुका लागि ३० लाख बराबरका सामग्रीहरु रहेका छन् । हुम्लामा प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी बेड म्यानुयल, मुगुमा प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डोल्पामा प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, कालिकोटमा प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटरर प्यासेन्ट बेड, दैलेखमा डेलिभरी बेड, डेलभरी भ्याकुम सेट, जाजरकोटमा प्यासेन्ट बेड वीथ म्याटे«स, प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, इसिजि मेसिन, प्यासेन्ट ट्रली, नेपुलाइजर, डेलिभरी बेड, सल्यानमा प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, र रुकुम पश्चिममा प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर रहेका छन् ।

 

शाहका अनुसार ट्रस्टले अहिले एउटा भेन्टिलेटरसहित ५ वटा आईसीयु बेड सुर्खेतस्थित प्रदेश अस्पतालमा तयार पार्दै छ । त्यहाँका सामग्रीहरु स्वर्गीय प्रभाकर शमशेर राणाकी छोरी मायाले आफ्नो बुवाको वर्ष दिनको पुण्य तिथिको अवसर पारेर कुमारी ट्रस्टसँग सहकार्य गरी यी सामग्रीहरुको खरिद तथा हस्तान्तरण गरिएको अध्यक्ष शाहले जानकारी दिनुभयो ।

पूर्वसांसद शाह समाजसेवामा सक्रिय हुनुहुन्छ । उहाँकै पहलमा जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ५ बडावनमा सुविधा सम्पन्न सामुदायिक अस्पताल भवन निर्माण गरिएको छ । ६ करोड लगानीमा निर्मित सो अस्पताल २५ शय्याको छ । सो सामुदायिक अस्पताल निर्माणका लागि छेडागाड नगरपालिका वडा नं. ५ बासिन्दाले ५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । जाजरकोटमा झाडापखालाको प्रकोप फैलिएको बेला होस् वा बस दुर्घटनामा परेको बेला होस् उहाँले व्यक्तिगत पहलमा हेलिकोप्टरमार्फत् धेरैलाई उद्धार समेत गर्नुभएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललगायतको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम अस्पताल विकास समितिका सदस्य हरिमाया शर्माको अध्यक्षतामा भएको थियो ।