Loading... आजः १३ बैशाख २०८१, बिहीबार । Thursday 25th April 2024

कथा – डन्ट टच मी

जेठको महिना टन्टलापुर घाम लागिरहेको छ । बाहिर निस्कियो कि छालै डढाउला झैँ पो गर्दछ त घामले । असार साउनमा पृथ्वी नै बगाउला झँै गरि आउने पानी अलि अलि आजभोली पनि आइदिएको भए शितल त हुने थियो । एक्लै गुनगुनाइरहेकी छन् पवित्रा । हैन के एक्लै फतफताउँदै हिडेकी है काकी, वसन्तको स्वरसँगै झसँग भएकी पवित्रा काकीले भनिन्, के हुनु हेर् न वसन्त यो घामले डढाउला जस्तो गरेको । अनि यस्तो घाममा निस्केपछि डढाउला जस्तो नगरि के इन्द्रेणी वनको झैँ शिलत देला त, वसन्तका शब्दहरुले काकीको मन झस्किन्छ । आफैलाई सम्हालेर हो हुन त काकीले सही थाप्छिन् ।

खगेन्द्र अधिकारी ‘अमृत’

काकी र भतिजा भएपनि वसन्त र पवित्रा निकै मिल्छन् । उमेर पनि त्यति धेरै तलमाथि छैन काकी भतिजाको । वसन्तका कान्छा काका हरिदत्त पनि वसन्त भन्दा ४ वर्षले त जेठा हुन् । हरिदत्तकी श्रीमती पवित्रा त झन् दुई वर्ष मात्र ठूली छन् वसन्त भन्दा । वसन्त आफैमा रमाइलो मान्छे छ । कुरा गरेर हँसाउन त उसलाई हरिवंशले पनि जित्दैनन् होला । अर्काको मन चोर्न र जित्नमा पनि निकै खप्पिस पो छ । हुन त वनारस बसेर श्लोकहरु कण्ठाग्र गरेको छ । कसैसँग हार्नै आँट्यो भने के के श्लोक भन्छ अनि सबैको मन आफूमा एकत्रित पारिहाल्छ हो ।

ए ! काकी साँचि कताको तयारी थियो । मैले त अलमलाए नि हौ । होइन अलिकति घैया धान गोडेर आउँकी भनेको काकीले भनिन् । छोड यस्ता धान सान गोड्ने काम यो घाममा ज्यान जोगाउ काकी ज्यान जोगाउ । मज्जाले हाँस्छ वसन्त । वसन्तसँगै काकीपनि । उता काकाको पढाई पनि सकिनै आँट्यो होला । अबका केही महिनापछि त काका पनि आउँछन् होला घरमा । यता काकी कामको बोझले दुब्लाएर ख्याउँटे भएकी देखेभने काकाको मन कति दुख्ला नि । जहिले पनि यस्तै कुरा गर्छ यसले । होइन हाम्रो विहे भएको पनि ५ वर्ष भइसक्यो । अझैँ गिज्याउन छोड्दैन है । अब त आफूले विहे गर्ने समय पनि भइसक्यो । ठीकै छ काकी । काकाले शास्त्री पास नगरि विहे गरेर अहिले काका र काकी कोही पूर्व कोही पश्चिम हुनु परेको छ । आफू त एकैपटक आचार्य गरेर विहे गर्ने हो । झ्याइँ झ्याइँ बाजा बजाएर ।
हाम्रो विहे पनि बाजा बजाएर नै भएको थियो नि है वसन्त । काकीले आफ्नो विहे सम्झन्छिन् । हो नि काकी हो । म पनि जन्ती गएको थिएँ नि । तिमी दुलही भएको दिन भन्दा पनि आजभोली राम्री छ्यौ त । आएन गएन को को आयो गयो माया मोह भने झैँ अब तेरी काकी भएनि त त्यही भएर राम्री मानेको होलास् ।

अँ काकी एउटा कुरा भन न । के कुरा ? काकीले प्रश्न गर्छिन । हाम्रा काकासँग कसरी भेट भएको नि ? भन्दिन । ए काकी कि भतिजो होइन भन नत्र भन । हामीले पनि सिक्नु परेन मायापिरम गर्न । अँ खुब कति न मायापिरममा नपरेको जस्तो गर्छ हेर न । साँच्चि काकी तिमीलाई किन ढाँट्नु । अहिलेसम्म मायापिरम थाहै छैन हो । सुनाउ न तिम्रो पिरमको कहानी सिकुला म पनि धेरै थोरै । हेर वसन्त अब मैले यो सबै कहानी नसुनाएपनि हुन्थ्यो । तेरा काका अहिलेपनि पढाईमै व्यस्त हुनुहुन्छ । त्यतिबेला पनि पढाइमै व्यस्त हुनुहुन्थ्यो । सायद यही मायापिरममा परेर कि उहाँले आचार्य गर्नुभन्दा पहिले नै विवाह बन्धनमा बाँधिनु परेको । पछि मैलाई यी कुरा भन्दै जिस्काउँदै गरुँला भनेर होला । भो भन्दिन । काकी भन न भन । जिस्काउदिन क्या । मैले आफूले सिक्नलाई पो ।

पितिक्क हग्छ पिपलको रुखमा बसेको चराले । छ्या धन्न टाउकोमै हगेन काकी अलि पर सर्छिन । पारीको इन्द्रेणी वन पूरै आँखा अगाडि आउँछ पवित्राको । त्यही वनमा पवित्रा र हरिदत्तको भेट भएको थियो ।

वसन्त ऋतुले आफ्नो प्रभुत्व जमाइरहेको थियो । अलि अग्लो भेकमा पालुवा पलाउने तरखर भएको हो कि भन्ने जस्तै देखिन्छ । ऋतुराज वसन्तमा नरमाउने को होला र । हाम्रो घरको ढोकाको कापैबाटै हेर्दा पनि सुन्दर देखिने वनको नाम हो इन्दे्रणी । साँच्चिकै गजबको छ इन्द्रेणी वन । हैन र वसन्त ? हो काकी हो । सही थाप्दै जान्छ वसन्त । काकी अगाडि भन्दै जान्छिन् । वसन्त ऋतुको आगमनसँगै पलाउँछन् पालुवा र खेल्छन् लुकामारी विभिन्न चराचुरुङ्गीहरुले । पाक्न थाल्छन् काफल र ऐसेलु । काफल पाक्यो भन्ने को हो भन्दै काफल पाक्यो चरिलाई कोइलीले जिस्क्याएको दृष्य कुनै समयको राणाको दरबारमा जगबहादुरले मालतीलाई जिस्क्याएको झैँ देखिन्छ ।
इन्दे्रणी वनसँग काफल मागेर खानेहरु कति छन् कति । यसको पोल्टामा भएका ऐसेलु टिपेर खानेहरुको संख्या एकिन नै गर्न सकिदैन । वनको बीच भागमा भएको खोल्सोमा ढुङ्गेधारा पनि छ । मज्जाले आफ्नो प्यास मेट्छन् यस वनसँग पिरती लगाउन आउनेहरु । शहरियाहरुले फिल्टरबाट छानेर फ्रिजमा राखेको भन्दा स्वच्छ र पवित्र पानी बग्छ त्यो ढुङ्गेधारामा । कुनैबेला भगवान इन्द्र पनि त्यो पानीको स्वाद लिन पृथ्वीलोकमा आउथे रे । त्यसैले त्यस वनको नाम इन्द्रेणी रहन गएको हो रे । मलाई हाम्री बुआ (हजुरआमा) ले भनेकी हुन् ।

अँ ! अनि काकी ?
सुन्दै जान्छ वसन्त । एकोहोरो वर्णन गर्दैछन् पवित्राले । साँच्चिकै इन्द्रेणी वनमा इन्द्रेणी झँै रंगहरु छन् । हेर्न जान्नु पर्छ । हेर्नै नजान्ने हो भने त राम्रो पनि नराम्रो पो लाग्छ त । राम्रो देख्न त आफ्नो मनपनि राम्रो हुनुपर्छ । कि सुकेका पात पतिङ्गर कि हरिया स्याउला मात्र देख्नेहरुले इन्द्रणी वनलाई कसरी बुझ्न सकुन् । इन्द्रेणीलाई बुझ्न त उसभित्र भएका रंगहरुलाई बुझ्न सक्नुपर्छ चिन्न सक्नुपर्छ । मनले हो सबै कुरा विचार्ने । बाहिरै व्यक्त गर्नुपर्छ भन्ने छ र ? जसरी इन्द्रेणीमा देखिने रंगहरुलाई न हातले छुन मिल्छ न पिटेर राख्न नै । तर हेर्न सकिन्छ । उसको सुन्दरता भित्र पौडिन सकिन्छ । अनि आफ्नो मनमा कैद गरेर राख्न पनि त सकिन्छ । साँच्चिकै त्यही सप्तरंगी इन्द्रेणी झैँ छ त्यो वनपनि ।

वसन्त ऋतुमा मात्र होइन अन्य ऋतुहरुमा पनि कोही खुला रुपमै त कोही लुकीलुकी बस्नेहरु पनि हुन्छन् त्यो वनमा । धेरैका माया विसाउने ठाउँ बनेको छ त्यो वन । दिउँसोमा मानवहरुको भारी विसाउने चौतारी बनेको इन्द्रेणी वन रातीमा जंगली पशुपक्षीहरुको रात विताउने बासस्थान बनेको छ । धेरैलाई शितल दिएको छ धेरैलाई छहारी दिएको छ धेरैलाई बास दिएको छ अनि ऋतु अनुसारको फल दिएको छ धन्य छ इन्द्रणी वन । हेर वसन्त त्यही इन्द्रेणी वनमा पहिलो पटक देखादेख भएको थियो तेरो काका र मेरो ।

वा ! काकी वा ! क्या गजब है । इन्द्रेणी वनमा भेट भयो । अनि पहिला को बोल्यो त काकी ? हेर बोल्न त मलाई पनि मन थियो । तर हाम्रो समाजले पोथी बासेको भनेर महिलालाई बोल्नै दिँदैन । इज्जत, मान र प्रतिष्ठाको विषय बनाई हामीलाई अहिलेपनि त्यही धरातलमा राखेको छ यो समाजले जहाँ हाम्री बुआहरुले आफ्नो जिन्दगीका स्वर्णीम युगहरुलाई व्यतित गरेकी थिइन् । त्यसैले पनि म बोल्न सकिन । तेरो काकाले नै पहिला बोलेपछि मैले पनि हो मा हो मिलाउने अवसर प्राप्त गरेकी हुँ ।

तर वसन्त, धेरै कुरा थाह थियो मलाई तेरो काकाको । सायद तेरो काकालाई पनि धेरै कुरा थाहा थियो होला मेरो । किनकी इष्टमित्रका छोराछोरी एक अर्कामा चासोको विषयले हेरिरहेका हुन्छन् क्या । त्यो पनि हामी नजिकैका प¥यौ ।

अनि, अनि काकाले के भने ? चुप लाग् । भोलि मेरो बिल्ला गर्नलाई । होइन काकी होइन । साँच्चिकै आनन्द आइरहेछ क्या सुन्नलाई भन न । ‘तिमी साँच्चिकै राम्री छ्यौ यार’ तेरो काकाले मसँग भनेको पहिलो शब्द यही हो । सुरुमै यार लगाएकोमा मलाई कत्ति चित्त बुझेन । किनकी यार भन्ने शब्द त्यत्ति राम्रो मानिदैन । मलाई राम्री देखेकोमा मनमनै खुसीका अंकुरहरु पलाएको भएपनि ‘राम्री भए नि नभए नि के मतलब’ मैले फर्काएको जवाफले तेरो काकाको अनुहार आकाश जत्तिकै निलो भएको थियो बुझिस् । अँ ! अनि के भयो काकी ? गाँइगुइँ घरतिर पनि कुरा चलेको अनि भेटपनि भएको त्यसैले धेरै नखरा पारिहाल्न पनि नहुने । अलि अलि महिलाको जात त देखाउनै प¥यो । ‘हैन । पीरै प¥यो कि क्या हो’ मैले नै सोधे । ‘ठीकै छ मतलब नै गर्न नपर्ने भए नगरौला’ । तेरो काका साँच्चि रिसाएको सम्झेर मेरो सात्तै गयो नि । खासमा उहाँ मलाई राम्रोसँग हेर्न भनेर त्यहाँ आउनु भएको थियो । मेरो बोलि व्यवहारको बारेमा बुझ्न आउनु भएको थिया होला । किनकी, राशी वर्ग र ग्रह मिलेमा हामी दुईको विवाह हुनेवाला थियो ।

त्यसपछि काकी ? वसन्तको प्रश्न भूँइमा झर्न नपाउँदै काकीले आफ्नो माया पिरतीको बयान गर्दै अगाडि बढिरहेकी छन् । उनलाई कसैको मतलब छैन यतिबेला पनि । भेरीको पानी जसरी आफ्नो रफ्तारमा बगिरहेको हुन्छ । त्यसरी काकी पनि आफ्नै रफ्तारमा पानी विना नै शब्दहरुमा बगिरहेकी छन् । त्यसपछि तेरो काकाको अनुरोधमा हामी अलि परको चौतारीमा पुग्यौ । जहाँ हत्तपत्त धेरै मान्छेहरु पुग्दैनथे । बस्यौ । एकछिन जीवनका कुरा ग¥यौ । विगत र वर्तमानका आ–आफ्नै कुरा भएभने भविष्यमा गर्ने संघर्षका कुरा पनि भए थोरै । तेरो काकाले त्यही नै औला भाँचेर राशी र वर्ग जुराउनु भएको थियो । म कन्या राशी अनि उहाँ तुला राशी । मिल्छ भन्नुभयो । ए काका कसरी तुला राशी ? उहाँको राशीको नाम राम हो नि त । ए ए ! वसन्तले सही थाप्यो ।

हर्ष र दुःख सँगसँगै आयो मेरो मनमा । आखिर विहे गर्नु नै छ । सबै कुरा ठीक पनि छ । तर माइती छोड्नुको पीडा थाह पाउन छोरी भएरै जन्मनु पर्छ । हेर वसन्त, चौतारीमा बस्दाबस्दै तेरो काकाले मलाई एक टुक्रा सुपारी खान दिनुभयो । मैले पनि खाइदिए । त्यसपछि अब पक्का भयो भनेपछि पो म फेरि झसंग भएकी थिएँ । बाँकी कुरा सबै घरबाटै होस् है मैले उहाँसँग अनुरोध गरे । भइहाल्छ नि । तिम्रा आमा बाबा पनि खुसी छन् क्या मलाई ज्वाइँको रुपमा पाउन लागेकोमा । यति भन्दै गर्दा तेरा काकाका हात मेरो गालातिर आइरहेका थिए । मलाई डर लागिरहेको थियो । उहाँ भन्दै हुनुहुन्थ्यो अलिकति माया गरौं ल ।

नाइँ, नाइँ । अहिले नै त्यसो नगरौं । भविष्यले हामीलाई जीवनभर एक बनाउने कुराको निश्चिततातिर पुग्दै गर्दा यसो गर्नु हुँदैन । दुःख नमान्नुहोस् । नराम्रो नठान्नुहोस् । विवाह पूर्व त्यसो गर्नुहुँदैन, म भन्दै थिएँ । तेरा काकाले मेरा गालामा हात पु¥याई हाल्नुभयो । खासमा म्वाइँ खानका लागि कोसिस गर्नुभएको थियो । मैले अलि रिसाए झैँ गरेर तर विस्तारै भने ‘डन्ट टच मी’ । त्यसपछि भने उहाँ हच्किनु भो । त्यो कुरालाई लिएर अहिले पनि तेरो काका बारम्बार मसँग जिस्किनु हुन्छ र भन्नुहुन्छ ‘डन्ट टच मी’ । काकी अगाडि भन्दै थिइन् । उता वसन्त काका काकीको प्रेम कहानी सुनेर मज्जाले हाँसिरहेको थियो, खित् खित् खित् खित् ।