सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ सहित)
काठमाडौं ।
अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षको भन्दा ५८ अर्ब कम आय-व्ययको अनुमान राखेर बजेट ल्याएका छन् । आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट आएको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

कोरोना महामारीका बेला लकडाउनलाई छिचोल्दै घोषणा गरिएको नयाँ बजेटबारे सकारात्मक-नकारात्मक दुबैखाले प्रतिक्रिया आएका छन् ।
बजेटको आकार घटाउन मन्त्री खतिवडाले यो वर्ष चालु र पुँजीगत दुबै खर्च घटाइदिएका छन् । उनले आगामी वर्ष ९ खर्ब ४८ अर्ब चालु खर्च कायम गरेका छन्, जुन गत वर्ष ९ खर्ब ५७ अर्ब थियो ।
बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने भनिएको छ ।
यो वर्ष पुँजीगत (विकास) खर्चमा पनि ब्यापक कटौती भएको छ । सरकारले पुँजीगत (विकास) खर्चका लागि ३ खर्ब ५२ अर्ब विनियोजन गरेको छ, जब कि चालु वर्षका लागि ४ खर्ब ८ अर्ब विकास बजेट राखिएको थियो । सरकारले यसपटक बजेटको आकार घटाउन मूल रुपमा विकास बजेट कटौती गरेको छ ।
हुन त सरकारी कार्य क्षमतालाई हेर्दा छुटि्टएको यही विकास बजेट पनि खर्च गरि सक्न सरकारलाई हम्मे पर्ने देखिन्छ । चालु आर्थिक वर्ष सकिन डेढ महिना बाँकी रहँदा सरकारले विनियोजित बजेटको २८ प्रतिशत मात्रै विकास खर्च गर्न सकेको छ । अर्थात् ४ खर्ब ८ अर्ब विकास बजेट छु्ट्याएको सरकारले १ खर्ब १८ अर्ब मात्रै खर्च गर्न सकेको छ ।






