Loading... आजः १३ बैशाख २०८१, बिहीबार । Thursday 25th April 2024

कोरोनाको कहरभित्र वर्षे खेती लगाउने तयारी

सुर्खेत ।
विश्वलाई नै हैरान बनाउने गरिन फैलिएको महामारीका कारण नेपालपनि लकडाउन भएको दुई महिना भन्दा बढि भइसकेको छ । विश्वमा ३ लाख ५० हजार भन्दा बढि मानिसले ज्यान गुमाइसकेका छन् ६० लाखको हाराहारीमा कोरोना संक्रमित भएका छन् । नेपालमा पनि यो समाचार तयार पार्दा समेत १ हजार ४२ जना संक्रमित भएका छन् भने ५ जनाले ज्यान गुमाइसकेका छन् ।


कोरोनाको फैलावट रोक्नका लागि सरकारले लकडाउन गरेपनि नेपालमा अबका केही दिनमा वर्षे खेती गर्ने चटारोको सुरुवात हुँदैछ । यतिबेला कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालिकोटलगायतका जिल्लाहरुमा धानका व्याड हराभरा भइसकेका छन् भने सुर्खेत उपत्यकामा पनि व्याड राख्ने तरखर भइरहेको छ ।

समयमा नै मल बिउको प्रबन्ध हुन नसक्ने हो भने कोरोनाका कारण बाली लगाउन समस्या हुनसक्ने भन्दै किसानहरु चिन्तित बनेका छन् । गतवर्षहरुमा अर्काको भएपनि झण्डै दुई विगाह जग्गामा धान लगाएका किसान दल बहादुर केसी यसवर्ष जग्गा धनी आफैले धान लगाउने भएपछि केवल ५ कट्ठामै सिमित हुनु परेको बताउँछन् । रोजगारीको लागि घर बाहिर भएकाहरु पनि यस वर्ष कोरोनाका कारण घर फर्किएकाले प्रायः सबैले आफ्नो जग्गामा खेती गर्ने योजना बनाएका छन् । अर्को कृषि सामग्रीहरुको सहज उपलब्धताका कारण पनि जग्गाधनीहरु आफै खेती गर्ने कार्यतर्फ उन्नमुख भएका हुन् । पहिलोको जस्तो गोरुले नै हलो जोत्नु पर्ने अवस्था छैन । आधुनिक कृषि औजारबाट पनि खनजोत गर्न सकिने भएकोले पनि अधियाँ तथा बटैया लगाउनेहरुले जग्गा पाउन कठिन भएको छ ।

धानको व्याड राख्नका लागि जग्गा खनजोत गरेर ठिक्क पारेका वीरेन्द्रनगर ११ का किसान दधिराम चौधरी भने यतिबेला निकै चिन्तामा परेका छन् । एकातिर कोरोनाका कारण हैरानी भइरहेको छ भने अर्कोतिर खेतमा व्याड राख्न तयार भइरहेको समयमा फट्याङ्ग्राले हैरानी दिन सुरु गरिसकेको छ । फागुनमा लगाएको बेमौसमी मकैको पात नै खाएर नोक्सानी पु¥याएको फट्याङ्ग्राले खेतमा राखिने बिउ छोड्ला भन्ने लागेकै छैन वीरेन्द्रनगर १० का जयन्त बोहोरालाई पनि । यतिबेला सुर्खेत उपत्यकामा फट्याङ्ग्राले हैरानी दिइरहेको छ ।

बारीमा लगाएका बेमौसमी तरकारीदेखि विभिन्न बालीहरुमा नोक्सानी पु¥याइरहेको छ । यस्तो अवस्थामा कृषि गर्न निकै समस्या भइरहेको छ भन्छन् वीरेन्द्रनगर ११ का जीवराज अधिकारी । एकातिर कोरोनाका कारण घर बाहिर निस्किनु छैन अर्कोतिर घर छेउछाउमा लगाएको बाली समेत फट्याङ्ग्राले नाश पारिदिएको छ । केही वर्ष अघि पनि फट्याङ्ग्राले यसैगरि दुःख दिएको थियो तर बीचका केही वर्षहरुमा हराएको भएपनि फेरि देखिएको छ । यदि यसको बेलैमा नियन्त्रण नगर्ने हो भने यसले भोकमरीको अवस्था नै सिर्जना नगर्ला भन्न सकिदैन ।