Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौं ।

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।

उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिए । ६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थिइन् ।

बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् । उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् ।

उनको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति कुँवरले जानकारी दिए ।

संसद बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले बुधबारको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ । संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ ।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने, ‘आजको बैठकमा शोक प्रस्ताव मात्रै प्रस्तुत हुन्छ ।’

यसअघि संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सेवा विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने लगायतका विषय उल्लेख थिए ।

प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी छन्त्यालको बुधबार बिहान काठमाडौंमा निधन भएको हो । छन्त्याल बहालवाला सांसद भएकाले संसद बैठक तोकिएको समयमै सुरु हुने छ र शोक प्रस्ताव पारित गर्दै सकिने छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश गर्दैन ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सांसद छन्त्यालको निधन भएकोबारे संसद बैठक अगाडि नै संसद सचिवालयमा जानकारी दिने बताए । सम्बन्धित पार्टीले निधन भएको जानकारी जुन दिन दिन्छ, सोही दिन शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित गर्ने प्रचलन छ ।