कर्णालीका स्वास्थ्यकर्मीले जिते कोरोना
सुर्खेत ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत दुई चिकित्सक र अन्य ७ जना स्वास्थ्यकर्मीले कोरोना जितेका छन् । प्रदेश अस्पताल सुर्खेतका अस्पताल निर्देशक प्रा.डा. डम्बर खड्काले प्रेस विज्ञप्ती मार्फत जानकारी दिए अनुसार उनीहरु कोरोना जितेर डिस्चार्ज भएको छन् ।
कोरोना विशेष अस्पतालको ‘फोकल पर्सन’समेत रहेका वरिष्ठ चिकित्सकसहित अर्का एक चिकित्सकमा असार ११ गते कोरोना पुष्टि भएको थियो भने अन्य ७ जना स्वास्थ्यकर्मीहरुमा असार ८ जते कोरोना पुष्टि भएको थियो ।
चिकित्सकसहितको टोलीलाई अस्पतालको निवासक्षेत्रमा रहेको आइसोलेसनमा राखिएको थियो । पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि आइसोलेनबाट बाहिर निस्किएको ती चिकित्सकले बताए । ‘हामी दुवै जना पूर्ण रूपमा स्वस्थ भएका छौं, कोरोनाको कुनै लक्षण पनि छैन,’ एक डाक्टरले भन्नुभयो, ‘अब करिब एक हप्तामा ड्युटीमा फर्किन्छौं होला ।’
यसैगरि कर्णाली प्रदेशमा आइतबार थप ९ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या एक हजार चार सय ९८ पुगेको छ । आइतबार दैखेखका ५ जना, सुर्खेत, सल्यान, चितवन र नवलपरासीका एक एक जनामा कोरोना पुष्टि भएको छ । आइतबारसम्म एक हजार चार सय ९८ संक्रमित मध्ये एक हजार दुई सय ३१ जना कोरोना मुक्त भई घर फर्किएका छन् । बाँकी दुई सय ६१ जना संक्रमितहरु प्रदेशका विभिन्न अस्पताल, तथा स्थानीय तहले तयार गरेका आइसोलेसनमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताउनु भयो । कर्णालीमा कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ ।







