Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

कविता – गुरुपूर्णिमा

प्यारा मेरा गुरुजन सबै सम्झिएकोछु आज

कोमल भट्ट
मेरा सारा सजधज तिमी माथका उच्च ताज
श्रद्धा मेरो अटल छ सधैँ हौ तिमी दिव्य धाम
पूजा गर्दै चरणतलमा गर्छु चोखो प्रणाम
पाएँ माया अनवरतले बाबु आमा समान
लागेँ चाँडै प्रगतिपथमा धन्य तिम्रो छ काम
रुन्थेँ कैले धुरुधुरु गरी आँसु पुछ्थ्यौ तुरुन्त
भाग्थेँ कैले दमन नगरी स्नेह गर्थ्यौ दुरुस्त
बत्ती जस्तै झलमल थियौ प्रेरणा श्रोत मेरा
आँखा बन्दै झटपट हर्‍यौ जिन्दगीका अँधेरा
बिर्स्यौ सारा असहज तथा खिन्नता वा थकान
बग्थ्यौ आहा ! कलकल तिमी स्नेहका हौ मुहान
कैले खाने समय नहुँदा भोकभोकै पढायौ
गर्मी जाडो मतलब नभै कर्म आफ्नो निभायौ
विद्यादाता गुरुवर तिमी देवका हौ स्वरूप
साह्रै मीठा प्रखर प्रतिभा ज्ञान भण्डार खूब
तिम्रो चर्को ऋण गहकिलो तिर्न सामर्थ्य छैन
तिम्रो माया अझ गहकिलो के भनौँ साध्य छैन
ज्योत्स्ना छर्छौ झलमल गरी हर्दमै आँगनीमा
दिन्छौ शिक्षा पलपल अझै प्रेमले जिन्दगीमा
तिम्रो माया अविरल रहोस् जिन्दगीमा अनन्त
मर्यादामा रहन म सकौँ जे सिकायौ प्रशस्त
सुम्पी सारा तनमन सधैँ बन्दना गर्छु रोज
मेरा सारा स्मृतिपटलमा मात्र तिम्रो छ ओज
(मन्दाक्रान्ता छन्द)
च.न.पा.१३,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
कोमल भट्टको फेसबुकबाट