Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

कांगेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्मका लागि पूर्वनिर्धारित पार्टीको १४ औं महाधिवेशनको मिति कायम राखेको छ। क्रियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका भने हेरफेर गरेको छ ।

सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले समायोजन हुन बाँकी पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि आगामी साउन १० तथा नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरण अवधि यही असार २५ गतेदेखि साउन मसान्तसम्म तोक्ने निर्णय गरेको हो ।

यसैगरी क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशन गरी केन्द्रमा पठाउने अवधि आगामी भदौ मसान्तसम्म तोकिएको छ ।

जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजुरी र नवीकरणमाथि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अवधि असोज १५ गतेसम्म तोकिएको छ भने उजुरीमाथि क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि असोजसम्म तोक्ने निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा कात्तिकसम्म उजुरीरपुनरावेदन दिइसक्नुपर्नेछ ।

उजुरीरपुनरावेदनमाथि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि मंसिर १५ गतेसम्म तोकिएको छ ।

नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी छानबिन समितिले केन्द्रीय सभापतिलाई बुझाइसक्नुपर्ने अवधि मंसिर २५ गतेभित्र र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि मंसिर मसान्तभित्र तोकिएको छ ।

त्यसैगरी गाउँनगर वडा अधिवेशन पुस ६ गते, गाउँनगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते गर्नुपर्नछ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन माघ ६ गते गरिनेछ।

केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरिएको छ ।

बैठकले संघीय संसदमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रस्ताव विचाराधीन रहेको तथ्यलाई उपेक्षा गरी संसद्को अधिवेशन अन्त्य गरिएको भनी आपत्ति जनाएको छ ।

सत्तारूढ दल नेकपाको आन्तरिक जीवनमा उत्पन्न द्वन्द्वसँग कांग्रेस निरपेक्ष रहेको स्पष्ट पार्दै बैठकले गत निर्वाचनमा प्राप्त जनादेशबमोजिम जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध रहेको जनाएको छ ।

बैठकले खेतीको मौसममा किसानलाई तत्काल मलबिउ उपलब्ध गराउन र राहत प्याकेजको व्यवस्था गर्न तथा कोभिड—१९ संक्रमणको रोकथाम र तयारीका साथै बन्दाबन्दीबाट आर्थिक–सामाजिक जीवनमा देखापरेको समस्या समाधानमा सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ ।