Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

राहतको पर्खाइमा जाजरकोटका पहिरो पीडित

जाजरकोट |

 जाजरकोटको बारेकोट गाँउपालिकामा पहिरोमा गएको पाँच दिनसम्म पनि क्षति र विस्थापितको विवरण यकिन हुन सकेको छैन। भौगोलिक विकटता र सञ्चार सम्पर्कविच्छेद हुँदा क्षति र विस्थापितको विवरण यकिन हुन नसकेको हो। सरकारी कार्यालयले नै फरक फरक तथ्यांक प्रस्तुत गर्दा विस्थापितलाई राहत वितरणमा समेत समस्या र अन्यौल देखिएको छ।

गत बिहीबार गएको पहिरोमा ११ जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएका एक जना अझै हराइरहेका छन्। बारेकोटकै वडा नम्बर ६ मा धुमा खोलाले दुई जनालाई बेपत्ता बनाएको छ। दुई जना घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। तर पहिरोले कति विस्थापित भए भन्ने बारे स्थानीय प्रशासन, प्रहरी र गाँउपालिकाले फरक फरक तथ्यांक पेश गर्ने गरेका छन्। जिल्ला प्रशासनले दुई सय १३ घर, प्रहरीले तीन सय ७६ घर र गाँउपालिकाले आठ सय ४० घर विस्थापित भएको तथ्यांक पेश गरेका छन्। केही वडाको तथ्यांक अझै आउन बाँकी रहेको गाँउपालिकाले जनाएको छ। विस्थापितको संख्या करिब एक हजार दुई सय बढी हुने अनुमान छ।

राहतको पर्खाइमा जाजरकोटका पहिरो पीडित : तथ्यांक संकलनमै अलमल

तर स्थानीय प्रशासनले सोमबारसम्म शनिबारकै डाटा दुई सय १३ घर विस्थापित भएको गृहमा पठाएको छ। ठुलो संख्यामा स्थानीय विस्थापित भएको तर स्थानीय प्रशासनले गृह मन्त्रालय प्रहरीले दिएको पुरानै तथ्यांक पेश गर्दा विस्थापितको राहतका लागि सरकार गंभीर हुन नसकेको नेपाली कांग्रेस नेता बेदराज सिंहले बताए। तथ्यांक यकिन नभएपछि घटना भएको पाँच दिनपछि बसेको विपद ब्यवस्थापन समितिको बैठकले तत्काल क्षतिको विवरण संकलन गरी विस्थापित परिवारको एकिन गर्ने र उनीहरुका लागि आवश्यक पर्ने राहत सामग्री ब्यवस्थापनका लागि सरकारसँग माग गर्ने निर्णय गरेको छ।

त्यस्तै रेडक्रसबाट तत्काल ७५ परिवारका लागि गैरखाद्य सामग्री पठाउने, खाद्यन्न र त्रिपाल, कम्मल पठाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। सञ्चार सम्पर्क विच्छेद भएको र यातायात सेवाको अभावले तथ्यांक संकलनमा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी पन्तले स्वीकार गरे।

विस्थापितले तत्काल खानेकुरा, त्रिपाल र कम्मलको माग गरिरहेका छन् तर सरकारले पठाउन सकेको छैन। बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत , कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका जिल्लाका साँसदहरुको टोली हेलिकप्टरमा केही राहत सामग्री लिएर आए पनि उक्त सामग्री अप्रयाप्त भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए।

बारेकोटका जिरी, तल्लो जिरी, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्ली लगायतका गाँउका आठ सय बढी परिवार विस्थापित भएको अध्यक्ष शाहले बताए। तत्काल पाँच सय परिवारलाई त्रिपाल र कम्मलको आवश्यकता रहेको र केही दिनमै भोकमरीको अवस्था सिर्जना हुन सक्ने उनले उल्लेख गरे । ‘गाँउपालिकाले एक्लैले विपदको सामना गर्न सक्ने अवस्था छैन। विस्थापितलाई खान बस्नको लागि निकै समस्या छ। तर प्रदेश सरकार र संघीय सरकार गंभीर भएनन्। बारेकोटवासीलाई परेको विपत्तिमा अहिलेसम्म सहयोग पाइएन’, उनले गुनासो गर्दै अन्नपुर्णसँग भने, ‘यातायात र सञ्चार सम्पर्कबाट विच्छेद हुँदा पनि पहिरो प्रभावितलाई सहयोग तथा राहतमा समस्या भएको छ। राहत सामग्रीका लागि हवाई मार्गबाहेकको विकल्प छैन। तर केन्द्र सरकार सुन्दैन।’ बारेकोटका एक गाँउबाट अर्को गाँउ जान र एक वडाबाट अर्को वडा जान कम्तिमा ५-६ घण्टा लाग्ने भएकोले पनि तथ्यांक संकलनमा समस्या भएको उनले बताए ।

बारेकोटमा प्रहरीको सञ्चार सेटले समेत काम नगरेपछि थप समस्या भएको छ। ‘मन्त्री, साँसद हेलिकप्टरमा बाढीपहिरो प्रभावितको हवाई निरीक्षण गरेर फर्कन्छन् तर हामीले अहिले सम्म एउटा त्रिपाल र कम्मलसमेत पाउन सकेका छैनौँ’, बारेकोट ५ कालाखोलीका दलबहादुर थापाले भने, ‘न खाने गाँस छ न ओत लाग्ने ठाँउ छ। विद्यालयको चुहिने छानामुनि रात काट्न विवस छौँ।’

‘विस्थापित परिवारसँग खाने अन्न छैन। घट्ट बाढीले बगाइदिएको छ। किनेर खाने बजार छैन। बाटोघाटो अवरुद्ध छ। उनीहरु निकै समस्यामा छन्। तत्काल सरकारले खाद्यन्न लगायतका राहत सामग्री पठाउनुपर्छ। बारेकोटमा यतिबेला स्थलमार्गबाट खाद्यन्न ढुवानी गर्न सक्ने अवस्था छैन। तसर्थ  हेलिकोप्टरका माध्यामबाट ढुवानी त्रिपाल, कम्मल र खाद्यन्न पठाउनु पर्छ’, जिल्ला समन्वय समितिका उपससंयोजक ज्ञानीप्रसाद शर्माले भने, ‘सरकारले समयमा ध्यान दिएन भने बारेकोटमा भोकमरी र अर्को महामारी निम्तन सक्छ।’

पानी निरन्तर परिरहेकोले जमिन भासिने र पहिरो जाने क्रम नरोकिंदा पहिरो जाने डरले घर छोडेका स्थानीय विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरमा त्रिपाल हालेर बसिरहेका छन्।  धेरैजसो विस्थापित स्थानीय विद्यालयमा बसिरहेका छन्। उनीहरु त्रिपाल पाए चौरमै बस्न चाहन्छन्। तर त्रिपाल नहुँदा कोरोना लगायतको जोखिम मोलेरै सयौं कोचिएर बस्न विवस भएको गाँउपालिका उपाध्यक्ष ओमा शाहीले बताइन्। केही दिनमै खाद्यन्न ल्याउन नसके विस्थापित भोकभोकै मर्ने अवस्था रहेको उनको भनाइ छ। उनले हेलिकप्टरबाट तत्काल खाद्यन्न लगायतका राहत सामग्री पठाउन केन्द्र सरकारसँग माग गरिन्।

अन्नपुर्ण पोष्टबाट साभार