Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

विद्यालयको हाता भित्र वृक्षारोपण

दैलेख |

दैलेख जिल्लाको चामुण्डाबिन्द्रासैनि नगरपालिका वडा नं.३, देउरालीमा विहिबार आइडिएस–नेपालका सामाजिक परिचालक लक्ष्मी तारामीको सक्रियता र श्री लक्ष्मी प्राथामिक बिद्यालयको अग्रसरतामा ७३ छात्र र ८२ छात्रा गरि जम्मा १५५ जना बिद्यार्थीहरु अध्ययनरत उक्त बिद्यालयमा टेक होम रासन बितरणका क्रममा आउने प्रत्येक अभिभाकहरुलाईं घरबाट मल ल्याउन लगाई बिद्यालय हाता भित्र १३० ओटा कागति र बिभिन्न किसिमका २० ओटा फुलका बिरुवा रोपिएको जनाइएको छ ।


२०४७ सालमा स्थापना भई बिभिन्न समस्यासंग पौंठेजोरी खेल्दै निरन्तर रुपमा प्रगतिका पाईलाहरु अगाडी बढाई रहेको विद्यालयमा हाल कक्षा ५ सम्म सञ्चालित ७ जना शिक्षक शिक्षिका र का.स.कार्यरत उक्त बिद्यालयलाई नमुना बिद्यालयको रुपमा स्थापित गर्नको लागी अहोरात्र खटिरहेको विद्यालयका प्रध्यानाध्यापक बिष्णु प्रसाद कंडेलले जानकारी दिए ।

सकारात्मक सोच र योजनाका साथ काम ग¥यौ भने अरुको मुख ताकिरहनु नै नपर्ने रहेछ जुन कुरा ब्यवहार त प्रमाणित गर्दै गइरहेका छौ उनले भने । हिजोका दिनहरुमा बिद्यालयको भौतिक अबस्था, सरसफाइको अबस्था दयनिय रहेको भए पनि आजको दिन सम्म आईपुग्दा धेरै कुरा परिवर्तन भएका छन । नयाँ नयाँ कामको शुरुवात गर्नुपर्छ भन्ने सोचको बिकास भएको छ ।

जब आइडिएस–नेपालले बिद्यालय सरसफाई कार्यक्रम मार्फत आफ्ना गतिबिधि बिस्तारै अगाडी बढाउन थाल्यो तब बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्यहरु र बाल क्लबका सदस्यहरु पनि क्रियासिल हुन थाले । ब्यक्तिगत, घरायसी तथा बातावरणीय सरसफाईमा ध्यान दिनुका साथै आफुले जानेका कुराहरु अरुलाई पनि सिकाउने र ब्यवहारमा प्रयोग गर्न थाल्नु थालिनुका साथै अहिले यस बिद्यालयमा कुहिने र नकुहिने फोहोरको उचित बिसर्जनको लागी २ ओटा ब्यवस्थित खाल्डो निर्माण भएका छन ।

पहिले यत्र तत्र फोहोर र कागजका टुक्रा देखिने बिद्यालयका कक्षा कोठा, बिद्यालय परिसर,भान्सा कोठा कतै पनि कागतको एक टुक्रा पनि देखिदैनन् । बिद्यालयमा नै करेसावारी निर्माण गरिएको छ । करेसावारीमा फलेका तरकारी दिवा खाजामा मिसाएर खान पाउदा बिद्यार्थीहरु पनि खुशि हुने गरेका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बम बहादुर तारामीले बताएका छन् ।

विद्यालयमा तथा अभिभाबकहरुको सोचाईमा नै परिवर्तन गर्ने सकेको खण्डमा प्रयाप्त बजेट बिना केहि पनि हुदैन र गर्न सकिदैन भन्ने सोचमा परिवर्तन गर्ने सकिने र जसको लागि स्थानिय स्रोत साधनको प्रयोग परिचालन गर्ने सके विद्यालय सुधारमा ठुलो टेवा पुग्ने एकीकृत विकास समाज नेपालका कार्यक्रम अधिकृत रमेश खनालले बताए ।