Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णालीमा थपिए ४ कोरोना संक्रमित, निको भए १७

परीक्षण नगरी घर जादैनौ’ कोरोना संक्रमित

सुर्खेत ।
कर्णलीमा पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा नयाँ ४ जना संक्रमित थपिएका छन् । रुकुम पश्चिमका ३ जना र सल्यानका १ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

यसैगरि डिस्चार्ज हुनेमा सुर्खेतका १ जना, दैलेखमा १ महिलासहित ३ जना, चौरजहारी रुकुम पश्चिममा ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ३ महिलासहित १० गरि १७ जना रहेका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या १ हजार ७३७ पुगेको छ भने निको हुनेको संख्या १ हजार ५१० रहेको छ । हालसम्म कर्णालीमा २२१ जना सक्रिय विरामी छन् । कर्णालीमा कोरोनाका कारण अहिलेसम्म ६ जनाको ज्यान गइसकेको छ ।

यसैगरि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको सीटी वसपार्कस्थित आइसोलेसनमा रहेका कोरोना संक्रमित आन्दोलित भएका छन् । पीसीआर परीक्षणविना घर नफर्किने भन्दै उनीहरु आन्दोलित भएका हुन् । आन्दोलनको पहिलो चरणमा उनीहरुले शुक्रबार भोक हडताल गरे ।

पीसीआर परीक्षण रिपोर्टविना घर नफर्किने भन्दै उनीहरुले शुक्रबार दिनभर खाना नखाएर भोक हडताल गरेका हुन् । भोक हडतालको क्रममा उनीहरुले व्यवस्थापन पक्षले उपलब्ध गराइएको खाना नखाएर खुला चौरमै फालिदिएका थिए । सरकारले सार्वजनिक गरेको कोरोना भाइरस (कोभिड–१९) को नयाँ निर्देशिकामा कोरोना संक्रमित आइसोलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएमा पुनः पीसीआर परीक्षण नगरी घर पठाउने व्यवस्था गरेको छ ।

तर उनीहरुले पुनः पीसीआर परीक्षणविना घर नजाने भन्दै विरोध जनाएका छन् । ‘बरु महिनौ दिन आइसोलसेनमै बस्छौ । पुनः परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ आयो भने आइसोलेसनमै ढुक्कसँग बस्न तयार छौ । तर परीक्षण नगरी घर जादैनौ’ एक संक्रमितले भने, ‘१४ दिन आइसोलेसन बसेकै भरमा कोरोनाको लक्षण छैन भन्दै घर पठाउन मिल्दैन । हामीलाई परीक्षण गरेको नेगेटिभ रिपोर्ट चाहिन्छ ।’