Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

शिक्षा सुधारमा गेहेन्द्र दाहालको कमब्याक

कर्णाली प्रदेशको विद्यालय सुधार्ने जिम्मा

सुर्खेत |

सुर्खेतका दुई सामान्य सामुदायिक विद्यालयलाई सुधार गरी मुलुककै उत्कृष्ट विद्यालयहरुको लाइनमा उभ्याउन नेतृत्व गरेका गेहेन्दप्रसाद्र दाहालको शिक्षा सुधारमा पुनः कमब्याक भएको छ ।

प्रअ बनेर सुर्खेतको घुस्रास्थित जनसेवा माध्यमिक विद्यालय सुधार गर्दा धीत नमरेपछि पुनः श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामको प्रअ बनेर मुलुककै उत्कृष्ट मध्येको एक विद्यालय बनाउन सफल दाहाल केही वर्ष अघि पेशाबाट राजीनामा दिएर समाज सुधारमा केन्द्रित भएका थिए ।

अहिले फेरी उनै दाहालको सार्वजनिक विद्यालय सुधारमा कमव्याक भएको हो । यसपाली भने उनलाई सुर्खेतको विद्यालय सुधार गरेर नपुग्ने भएको छ । पुरै कर्णाली प्रदेशकै सामुदायिक विद्यालय सुधारको जिम्मा उनको काँधमा आएको छ ।

दाहालको अध्यक्षतामा सामुदायिक विद्यालय शिक्षा सुधार समाज नेपालको कर्णाली प्रदेश सल्लाहकार समिति गठन भएको छ । सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि गठन भएको समाजको कर्णाली प्रदेशमा जेसिसका केन्द्रिय अध्यक्ष समेत रहिसकेका दाहालकोे अध्यक्षतामा ७ सदस्यीय सल्लाहकार समिति गठन भएको हो ।

नवगठित समितिको सदस्यहरुमा चामुण्डा मावि दैलेखका प्रअ जयप्रसाद तिमिल्सिना,जाजरकोटका पूर्व प्रअ नारायणबहादुर सिंह, महादेव मावि कालिकोटका प्रअ नरदीप शाही, जनकल्याण नमूना मावि सल्यानका प्रअ डा. पूर्ण भण्डारी, ताजाकोट गाउँपालिका हुम्लाका शिक्षा शाखा प्रमुख जयरुद्र ढकाल, कनक सुन्दरी गाउँपालिका जुम्लाका शिक्षा शाखा प्रमुख नारायण प्रसाद न्यौपाने सदस्य रहेका छन् ।