Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

कांग्रेसमा हाम्रो छुट्टै समूह छ, महाधिवेशनमा पनि रहन्छ

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा तेस्रो धारको नेतृत्व गरेका कृष्णप्रसाद सिटौला त्यसपछि सभापति शेरबहादुर देउवासँग नजिक देखिए । लगत्तै देउवासँग टाढिएका उनी वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहकार्य गर्न पुगे । दुवै समूहले गठबन्धन गरेर केही भ्रातृ संगठनमा संस्थापन पक्षलाईसमेत हराए ।

जब कांग्रेसलाई १४औं महाधिवेशन लाग्यो, सिटौला फेरि देउवा र पौडेल दुबै समूहसँग दुरी कायम गर्नतिर लागेका छन् । महाराजगञ्जमा सम्पर्क कार्यालय खोलेका छन्, जहाँ उनी दैनिकजसो नेता-कार्यकर्तासँग भेटघाटमा व्यस्त हुन्छन् । सिटौलाको तयारी हेर्दा उनी फेरि सभापतिको उम्मेदवार बन्न लागेको सहजै अनुमान गर्न सकिन्छ । तर, उनी औपचारिक रुपमा १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु भनेर घोषणा पनि गर्दैनन् । यद्यपि तेस्रो धार कायमै रहेको र रहने सिटौलाको दाबी छ । उनी भन्छन्, मेरो आफ्नै विचार छ, नीति र कार्यक्रम छ । शेरबहादुर वा रामचन्द्रले लिएको नीति, पार्टी सञ्चालन गर्ने तौरतरिका मन पराएको भए गग महाधिवेशनमै कुनै एउटा टिममा गइहाल्थेँ नि ।’

कांग्रेस नेता सिटौलाले गोविन्दराज जोशी, पुस्करनाथ ओझालाई पार्टीबाट निस्कासन गर्ने अनुशासन समितिको निर्णयको समेत विरोध गरेका छन् । निर्वाचन भएको धेरै समय भइसकेको र परिस्थिति पनि फरक भएकाले सबैलाई आममाफी दिनुपर्ने बताउँदै उनले भने, ‘सबै साथीहरुलाई आममाफी दिउँ र पार्टीमा अनुशासित भएर काम गर्न आहृवान गरौं । होइन, त्यतिले पुग्दैन भने सचेत गराएर आममाफी दिऊँ । विगतमा किसुनजीले पनि यसो गर्नु भएकै हो ।’

यद्यपि अनुशासन समितिले देउवा र पौडेललाई हेरेर निर्णय गरेको भन्दै सिटौलाले त्यो निर्णय सच्याउनपर्ने बताए । अघिल्लो निर्वाचनमा पनि सुजाता कोइरालालगायतका नेताहरुलाई माफी दिएको उदाहरण दिँदै उनले भने, ‘पुनरावेदन आयो भने केन्द्रीय समितिले सच्याउन सक्छ । नआए पनि राजनीतिक नेतृत्वले सच्याउन सक्छ ।’

प्रस्तुत छ, आसन्न १४ औं महाधिवेशनको सेरोफेरोमा केन्द्रित रहेर कांग्रेस नेता कृष्ण सिटौलासँग राजकुमार श्रेष्ठले गरेको कुराकानी :

तपाईंलाई पनि महाधिवेशन लागेको हो ?

महाधिवेशन कार्यक्रमको प्रारम्भिक बिन्दु भनेको क्रियाशील सदस्यता वितरण तथा नवीकरण हो । पार्टी केन्द्रीय कार्यसमितिले बनाएको कार्यतालिकाबमोजिम जिल्लाहरुले क्रियाशील सदस्यता वितरण र नवीकरण गराउन सुरु गरेका छन् । र, त्यसैले केन्द्रीय नेतृत्वदेखि देशभरका कांग्रेस कार्यकर्तालाई महाधिवेशन लाग्यो । मलाई पनि लाग्यो ।
तर, यतिबेला मेरो आग्रह छ, क्रियाशील सदस्यमा कुनै भेदभाव नहोस् । सबै पुराना क्रियाशील सदस्यको नवीकरण गर्नुपर्छ र नयाँ दिँदा पनि क्रियाशील साथीहरुलाई दिनुपर्छ । किनकि यो हाम्रो पार्टीको आधार हो, यसलाई मजबुत बनाउनुपर्छ र विस्तार पनि गर्नुपर्छ ।

तर, महाधिवेशनको कार्यक्रम सुरु भएसँगै कांग्रेसमा विवाद पनि बढेको देखियो नि ? वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय विभागहरु गठन, क्रियाशील सदस्यता वितरणलगायतलाई लिएर पत्रकार सम्मेलन नै गरेका छन् र सभापतिमाथि महाधिवेशन प्रभावित पार्न खोजेको आरोप लगाएका छन् । यसमा तपाईं के भन्नुहुन्छ ?

जिल्लाहरुमा अहिले हुन लागेको क्रियाशील सदस्यता नवीकरण र वितरणमा खासै विवाद उठेको थाहा पाएका छैनौं । पार्टीको विधानअनुसार वडाको सिफारिसमा स्थानीय तहले गर्छ । पाउनु पर्नेले सदस्यता पाएनन्, नपाउनुपर्नेले पाए भने जिल्लामा उजुरी आउँछ । जिल्लाको निर्णय चित्त बुझेन भने केन्द्रमा क्रियाशील सदस्यता छानबिन समिति हुन्छ, त्यो समितिले निर्णय गरेपछि टुंगिन्छ । विगतलाई हेर्दा सबैभन्दा बढी विवाद यसमै हुन्छ । तर, योपटक प्रारम्भ भइसकेको छैन ।

जहाँसम्म केन्द्रको कुरा छ, केन्द्रीय कार्यालयबाट दिने क्रियाशील सदस्यता सम्बन्धित जिल्लाको सिफारिसमा हुनुपर्छ भनेर मैले उठाउँदै आएको छु । सिधै केन्द्रीय सदस्य मनोनित हुने र उसको सिफारिसमा क्रियाशील दिने पद्दतिले पार्टीलाई बलियो बनाउँदैन, गलत प्रवृत्तिलाई प्रोत्साहन गर्छ र सम्बन्धित जिल्लामा विवाद ल्याउँछ । त्यसैले केन्द्रबाट जति पनि क्रियाशील सदस्य दिने काम भएको छ, त्यो पारदर्शी र केन्द्रीय कार्यसमितिको निर्णयबाट दिनुपर्छ । साथै, सात सदस्यीय क्रियाशील सदस्य छानविन समिति बनाउने निर्णय पहिल्यै भइसकेको छ । सन्तुलन मिलाएर उहाँले यो काम सभापतिले तत्काल गर्नुपर्छ ।

विभागहरु गठनमा चाहिँ तपाईंको सहमति हो ? रामचन्द्र पौडेल समूहले त विधान विपरीत भयो भनेर विरोध गरेको छ नि ?

विभागहरु पार्टीको विधानअनुसार महाधिवेशन भएको बढीमा छ महिनाभित्र गठन गर्नुपर्ने हो । पार्टी कार्य समितिको चारवर्षे कार्यकाल पूरा गरेर हामीले एक वर्ष थप गरेका छौं । त्यसैले विभागहरु गठन गर्दा सभापतिले ढिलोमा पनि त्यो चारवर्षे कार्यकालभित्रै गर्नुपर्ने थियो । तर, उहाँले चार वर्ष नघाएर, त्यो पनि महाधिवेशनको कार्यतालिका बनाइसकेपछि विभागहरुमा मनोनयन गर्नुलाई उचित मान्न सकिन्न । यो गलत भएको छ ।

सभापतिले आफ्नो विशेषाधिकार प्रयोग गरेर विभागहरु बनाउनुभएको हो । उहाँले बनाउनुभएका विभागहरुको बैठक बसेर पार्टी संगठनको महत्वपूर्ण काम गर्न सक्ने समय पनि छैन । सबै साथीहरु आफ्नो जिम्मामा क्रियाशील सदस्यता वितरण र नवीकरणमा लागेका छन् । २/३ महिना त्यहीँ जान्छ । त्यसपछि वडाबाट प्रतिस्पर्धा सुरु हुन्छ । त्यसैले साथीहरुले विभागमा बसेर काम गर्न सक्ने अवस्था छैन र अहिले गठन गर्न आवश्यक छैन ।

केका लागि बनाउनुभयो त सभापतिले ?

यो सभापतिले गलत गर्नुभयो । गरेर उहाँ बेकारमा विवादमा पर्नुभयो ।

रामचन्द्र पौडेल पक्षका नेताहरुले त महाधिवेशन प्रभावित पार्न विभागहरुमा मनोनयन गरिएको हो भनेका छन् नि ?

अहिले उहाँले विभागमा राखेका साथीहरुले विभागमा राख्नेकै पक्षमा मतदात गर्छन् भन्ने छैन । पार्टी कार्यकर्ताले कुनै नेताविशेषको दासता नै रोज्छन् भन्ने मलाई लाग्दैन । पार्टीका कार्यकर्ताको स्वाभिमान हुन्छ, विवेक हुन्छ । वडा अधिवेशनदेखि क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म आउँदा आफ्नो स्वविवेक प्रयोग गर्दै आउँछन् र पार्टीको हितमा नै मतदान गर्छन् भन्ने मेरो मान्यता छ । तर, यतिबेला गरिएको निर्णय महाधिवेशन प्रभावित बनाउन हो कि भन्ने आशंकालाई नाजायज भन्न पनि सकिँदैन । त्यसैले सभापतिले यतिबेला विभाग बनाउनु उचित भएन ।

सभापतिले गरेको काम गलत पनि भन्नुहुन्छ, त्यसको विरोध गरेको अर्को समूहसँग सहकार्य पनि गर्नुहुन्न । तपाईं बीचमा बस्न खोज्नुभएको हो ?

त्यसो होइन । मेरो आफ्नै विचार छ, आफ्नै नीति र कार्यक्रम छ । मैले शेरबहादुरजीले लिएको वा रामचन्द्रजीले लिएको नीति, पार्टी सञ्चालन गर्ने तौरतरिका मन पराएको भए गत महाधिवेशनमै कुनै एउटा टिममा गइहाल्थेँ नि ।

तर, पछिल्लो समय त तपाईं रामचन्द्र पौडेल समूहसँग धेरै सहकार्य देखिन्थ्यो…

त्यस्तो होइन । म पार्टीभित्र उठ्ने हरेक कुरालाई विषयवस्तुका आधारमा हेर्छु । एकपटक कसैलाई समर्थन गर्दैमा वा विरोध गर्दैमा सधैंभरि गर्नुपर्छ भन्ने लाग्दैन । जस्तो- गएको चुनावमा टिकट वितरण र पार्टीमा न्यायका दृष्टिकोणले शेरबहादुर र रामचन्द्र दुबैको टिमले भयानक गल्ती गरेको छ । त्यसलाई समर्थन गर्न सक्दिनँ । निर्वाचनपछि रामचन्द्रजीले उठाएका कतिपय मुद्दा मलाई ठीक लाग्यो, मैले समर्थन गरेँ । कतिपय विषयमा नचाहिँदो झगडा भयो भन्ने लागेपछि दुबैलाई जोड्ने काम पनि गरेँ । किनकि म समग्रमा पार्टीको हित र पार्टीभित्र एकता चाहन्छु ।

र, आजको दिनमा मेरो चासो आगामी महाधिवेशनको नजितापछि पार्टीमा वृहत एकता कसरी कायम हुन्छ भन्नेमा छ । किनकि पार्टीमा एकता भएन भने महाधिवेशनको केही समयपछि हुने चुनावमा कांग्रेस फेरि स्वाहा हुन्छ ।

हामी स्थानीयसँगै आम निर्वाचनको सम्मुखमा पार्टीको १४औं महाधिवेशन गर्दैछौं । महाधिवेशनको प्रतिस्पर्धा स्वच्छ र निश्पक्ष हुनुपर्छ, परिणामलाई स्पोट्सम्यान स्परिटमा सबैले स्वीकार गर्नुपर्छ । महाधिवेशन स्वच्छ र निश्पक्षरुपमा सम्पन्न गर्नु सभापतिको मुल कर्तव्य हुन्छ । त्यसमा हाम्रो सहयोग रहन्छ । तर उहाँले नै महाधिवेशको प्रतिस्पर्धालाई प्रभावित पार्ने गरी धाँधली गर्न थाल्नु भयो भने मेरो मात्र होइन, कसैको पनि समर्थन रहँदैन ।

रामचन्द्र पौडेल समूहले महाधिवेशन स्वच्छ र निष्पक्ष हुनेमा अहिले नै संशय व्यक्त गर्न थालेको छ नि ? तपाईं त्यस्तो लाग्दैन ?

पार्टी सभापतिले अहिले नै धाँधली गर्न थाल्नुभयो भन्ने त म मान्दिनँ । हामीले ७ सदस्यीय क्रियाशील सदस्य छानविन समिति बनाउने भनेर केन्द्रीय कार्यसमितिमा नीतिगत सहमति गरेका छौं । सभापतिजीले अब छिट्टै सन्तुलित ढंगले समिति बनाउनुपर्छ र त्यो समितिले पनि आफूकहाँ आएको विवादमा सहमतिबाटै निर्णय गर्नुपर्छ । बहुमतका आधारमा निर्णय गरेर एकपक्षीय बनाउने प्रयास कसैले पनि गर्नुहुँदैन ।

नेतृत्वलाई लिएर पार्टीमा संस्थापन कि संस्थापन इत्तर भनेर ध्रुवीकरणको प्रयास पनि भइरहेको देखिन्न्छ, तपाईंचाहिँ कता ?

गतको महाधिवेशनपछि म र मेरो समूहले कहिल्यै पनि हामी कसैसँग मिल्छौं भनेकै छैनौं । कसैको इत्तर वा पक्षमा हुन्छौं भनेकै छैनौं । जुन धार लिएर अगाडि बढेका छौं, त्यहीँ छौं । हामी नै कहीँ गएर मिसियौं भने सैद्धान्तिक वैचारिक धार सेलाएर जान्छ भन्ने मलाई लागेको छ । यो मेरो धेरै टाढा होइन, गत निर्वाचन र त्यसपछिकोे मूल्यांकन हो ।

किनकि गएको आम निर्वाचन चुनावी व्यवस्थापनका दृष्टिले पूर्णरुपमा कमजोर रहृयो । यसको मुल जिम्मेवारी सभापति, महामन्त्री लगायत टिकट वितरण गर्ने साथीहरुले लिनुपर्छ । महाधिवेशनयता कम्युनिस्ट सरकारविरुद्ध प्रमुख प्रतिपक्षका रुपमा जसरी आवाज उठाउनुपथ्यो, त्यसमा नेतृत्व पूर्ण रुपमा असफल रहृयो । मैले यति भन्दा बुझ्नुभयो होला ।

महाधिवेशनसम्मै तेस्रो धार रहन्छ ?

एकदम रहन्छ । किनकि राष्ट्रसामु उपस्थित सबै चुनौतीहरुको सामना गर्न कांग्रेसले कस्तो सैद्धान्तिक, वैचारिक धार निर्माण गरेर जानुपर्छ भन्नेमा यो समूहको भूमिका छ ।
केन्द्रीय कार्यसमितिमा हाम्रो उपस्थित अत्यन्त न्यून छ, तर त्यसको आधारमा मूल्यांकन नगर्नुहोला । म तामाम कांग्रेसका कार्यकर्तामा नयाँ जागरण ल्याउन चाहन्छु, जसले पार्टीभित्र आमुल परिर्वतन ल्याओस् । सैद्धान्तिक र बैचारिक धरातलमा पार्टीलाई उभ्याउन सकियोस् । पार्टीभित्र भागवण्डा होइन, बैचारिक बहसहरु हुन थालोस् । कस्तो नीतिले देश बन्छ, त्यसमा नेतृत्वले ध्यान दिन सकोस् । कांग्रेसलाई त्यस्तो केन्द्र बनाउन चाहन्छु म ।

तर, रामभन्द्र पौडेल समूहले त हामीसँगै हुनुहुन्छ भन्नुपर्छ, संस्थापन पक्षले पनि पहिले पनि सहयोग गर्नु भएकै हो, अब पनि गर्नुहुन्छ भन्छन् नि ?

उहाँहरु दुवैले हाम्रो महत्व देख्नुभएको छ, त्यो भन्नुहुन्छ । तर हामी हाम्रै ठाउँमा महत्व छ भन्ने लाग्छ । म आज जे कुरा गरिरहेको छु, यसको धेरै महत्व छ भन्ने लाग्छ ।

प्रष्ट शब्दमा भन्दा तेस्रो महाधिवेशनको तेस्रो धार, जसको नेतृत्व कृष्ण सिटौलाले गर्नुभएको थियो । १४ औं महाधिवेशनमा पनि त्यो धार कायमै रहन्छ ?

यसपालिको महाधिवेशन संरचनागत र मूल्यांकनका दृष्टिकोणले पनि विगतको जस्तो हुन्न । संरचनाका दृष्टिकोणले किन हुन्न भने पहिले जिल्लाबाट केन्द्र थियो, अहिले जिल्लामाथि प्रदेश आएको छ । यो अत्यन्त महत्वपूर्ण संरचना बन्दैछ । सात प्रदेशको महाधिवेशनपछि मात्र सबै नेता कार्यकर्ताले अनुमान गर्न सक्छन् कि केन्द्रीय महाधिवेशनमा कतिवटा समूह हुन्छ र रिजल्ट कस्तो आउनसक्छ । नेतृत्वको आकांक्षा गरेका साथीहरुलाई पनि आफ्नो स्ट्रेन्थको मूल्यांकन पनि हुन्छ ।

तर, मेरो ध्यान महाधिवेशनपछि पार्टीमा वृहत एकता कसरी हुन्छ भन्नेमा पनि छ । पार्टी वृहत एकता गरेर गइएन भने कांग्रेस पार्टीलाई त्यति सजिलो छैन । वडा तहमा केही साथी रिसाउनु भयो भने त गाह्रो हुन्छ भने शीर्ष तहमै टुटफुट भयो भने कति कठिन हुन्छ ? दोस्रो, सबैतिर कम्युनिस्ट पार्टीको सरकार छ । प्रदेश २ मा पनि केही समय अगाडिसम्म कम्युनिस्ट समर्थित सरकार नै थियो । राष्ट्रियसभा चुनावमा कांग्रेसविरुद्ध सहकार्य गरेकै हुन् ।

आगामी चुनावसम्म यी पार्टीहरु कसरी जाला छुट्टै मूल्यांकनको विषय होला, तर एउटा कुरा पक्का के हो भने आगामी निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुँदैछ । र, त्यो महाधिवेशनबाट जो नेतृत्वमा आएपनि उसको नेतृत्वमा पार्टीभित्र बृहत एकताका हुन्छ कि हुँदैन ? यो मुल कुरा हो । बृहत एकता हुन सकेन भने कांग्रेस अझ असफल हुन्छ । त्यसैले कतिपय साथीहरुको नेतृत्व हत्याउने कुरा मात्र होला, मेरो ध्यान पार्टीमा बृहत एकताको पनि छ । र, यसका लागि हामी र हाम्रो समूहले अझ धेरै काम गर्नुपर्छ भन्ने लागेको छ ।

हिजो जसको नेतृत्वदायी क्षमतामा विश्वास नलागेर १३औं महाधिवेशनमा उम्मेदवारी दिनुभयो, अहिले फेरि उनीहरुको नेतृत्व स्वीकार गर्ने अवस्था छ त ?

त्यो महाधिवेशनमा जिल्ला अधिवेशनसम्म सुशील कोइरालालाई सघाउनुपर्छ भनेर लागेको थिएँ । उहाँको असामयिक निधनपछि त्यसबेला रामचन्द्र र शेरबहादुरको जुन समूह देखेँ, त्यहाँ म रहन सक्ने स्थिति भएन । नेतृत्वको नेतृत्वदायी क्षमता नै विश्वास भएन । त्यही कारण ठूलो समूह नभएपनि उम्मेदवारी दियौं ।

आजको दिनमा हामी फुलफ्लेजेट रुपमा जान सक्छौं । जाने कि नजाने ? जाँदा कसरी जाने ? यो चाहिँ क्रियाशील सदस्य टुंगिएपछि औपचारिक रुपमा भनौंला ।

१४औं महाधिवेशनमा म पनि सभापतिको उम्मेदवार हुँ भन्नचाहिँ किन गाह्रो ?

क्रियाशील सदस्य टुंगिएपछि वडा अधिवेशन सुरु हुनुअघि आउनु होला, त्यतिबेला भनौंला नि । त्यसबेला भन्ने कुरा अहिले किन भनाउन खोजेको ?

अनलाइन खबरबाट साभार